धुलिखेल । शारीरिक अवस्थाका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुगेर सेवा लिन असमर्थ काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–१ निवासी ५५ वर्षीया माईली विकलाई घरमै पुगेर नेपाली नागरिकता प्रदान गरिएको छ । पक्षघातका कारण लामो समयदेखि हिंडडुल गर्न नसक्ने अवस्थामा रहनुभएकी विकलाई भदौ १३ गते शनिबार जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाको नेतृत्वमा पुगेको टोलीले उहाँकै निवासमा नेपाली नागरिकता प्रदान गरेको हो ।

नागरिकता लिन कार्यालयसम्म आउन कठिनाइ हुने नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले घरदैलोमै पुगेर सेवा प्रदान गरेको जनाएको छ । उक्त सेवाका लागि जिल्ला प्रशासन कार्यालयबाट प्रशासकीय अधिकृत सापकोटासँगै नायब सुब्बा राजकुमार तामाङ, सहलेखापाल विवस खत्री तथा कार्यालय सहयोगी विदुर पराजुली खटिनुभएको थियो ।

घरमै नागरिकता वितरण गर्ने क्रममा चौरीदेउराली गाउँपालिकाकी अध्यक्ष रेणुका चौलागाईं तथा वडा नं. १ का वडाध्यक्ष सुशील लामासमेत सहभागी हुनुभएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ ।

सरकारी सेवा लिन कार्यालयसम्म पुग्न नसक्ने अशक्त, ज्येष्ठ नागरिक तथा विशेष परिस्थितिमा रहेका नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय काभ्रेले समय–समयमा घरदैलोमै पुगेर नागरिकता तथा अन्य सेवा प्रदान गर्दै आएको जनाएको छ ।

कार्यालयका अनुसार नागरिकको अवस्था र आवश्यकताका आधारमा आगामी दिनमा पनि यस्ता सेवा निरन्तर उपलब्ध गराइनेछ । राज्यबाट प्राप्त गर्नुपर्ने आधारभूत सेवाका लागि शारीरिक अवस्थाका कारण कुनै नागरिक वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले घरमै पुगेर नागरिकता वितरण गरिएको प्रशासनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *