काभ्रे । गत असोज १० देखि १२ को अविरल बर्षापछिको बाढी तथा पहिरो प्रभावित महिला तथा किशोरीका लागि नेपाल रेडक्रस सोसाइटी काभ्रेले ‘डिग्निटी किट’ वितरण गरेको छ ।
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युनएफपिए) र रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसिआरसी) को सहयोगमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय समितिमार्फत प्राप्त ७ हजार ५ सय ४२ थान ‘डिग्निटी किट’ काभ्रे शाखाले वितरण गरेको हो । ती सामाग्री बेथानचोक, रोशी गाउँपालिका र पनौती नगरपालिकामा वितरण गरिएको हो ।
सोही क्रममा पनौती नगरपालिका वडा नं. ८ मा नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका सभापति देवेन्द्रप्रसाद भैल, पूर्व सभापति श्यामसुन्दर श्रेष्ठ, उपमन्त्री प्रदीप केसी बञ्जारा, उपकोषाध्यक्ष विनोदप्रसाद कोइराला लगायतले १ सय ६० थान डिग्निटी किट वितरण गरिएको थियो । वितरण कार्याक्रममा वडा अध्यक्ष वेदप्रसाद बञ्जाराले शुभारम्भ गर्नुभएको थियो भने स्वागत खरिबोट उपशाखाका सभापति कृष्णबहादुर श्रेष्ठले गर्नुभएको थियो ।
बाढी तथा पहिरो प्रतिकार्य कार्यक्रम अन्तर्गत पनौतीमा २ हजार ५ सय थान र रोशीमा २ हजार ५ सय ४२ थान ‘डिग्निटी किट’ वितरण गरिने कार्यक्रम रहेको संयोजक रघुनाथ हुमागार्इंले जानकारी दिए । ‘डिग्निटी किट’ मा महिला तथा किशोरीले प्रयोग गर्ने कपडाका साथै सरसफाईका सामाग्री छन् । कार्यक्रम अन्तर्गत नै युनएफपिएको सहयोगमा रोशी गाउँपालिकाका १ सय ७१ जना गर्भवती तथा सुत्केरीलाई १५ हजारका दरले नगद सहयोगसमेत गरिएको छ । त्यसैगरी पनौती नगरपालिका अन्तर्गत पनौती उपशाखा र सुब्बा गाउँ उपशाखामार्फत वडा कार्यालय र चौकोटमा ‘डिग्निटी किट’ वितरण गरिएको थियो ।
