धुलिखेल । जिल्ला प्रशासन कार्यालय काभ्रेले चालु आर्थिक वर्षको दुई महिनामा भएका कामहरूको कार्यप्रगति विवरण सार्वजनिक गरेको छ । जस अनुसार काभ्रेपलाञ्चोकमा नयाँ नागरिकता लिनेभन्दा नागरिकताको प्रतिलिपि बनाउने सेवाग्राहीको संख्या यस वर्ष पनि उल्लेख्य रूपमा बढी देखिएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेको चालु आर्थिक वर्षको साउन र भदौ महिनाको तथ्यांकले नयाँ नागरिकताको तुलनामा प्रतिलिपि लिनेको संख्या ६ सयभन्दा बढी रहेको देखाएको हो ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा १ हजार ४ सय ८१ जनाले नयाँ नागरिकता लिएका छन् । साउनमा ८ सय ७३ र भदौमा ६ सय ८ वटा नयाँ नागरिकता जारी भएको हो । यही अवधिमा भने २ हजार १ सय १७ वटा नागरिकताको प्रतिलिपि जारी भएको छ । साउनमा १ हजार १ सय ७१ र भदौमा ९ सय ४६ वटा प्रतिलिपि जारी गरिएको कार्यालयले जनाएको छ । यस अवधिमा आमाको नामबाट दुई जनालाई नागरिकता प्रदान गरिएको छ ।
पुराना हस्तलिखित नागरिकता खुइलिने, च्यातिने वा बिग्रिने तथा राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने भएपछि नागरिकताको विवरण अद्यावधिक गर्न आउने सेवाग्राही बढेको प्रशासन कार्यालयको भनाइ छ । विशेषगरी विगतमा गाउँगाउँमा टोली परिचालन गरेर वितरण गरिएका नागरिकतामा नाम, थर तथा उमेरलगायतका विवरणमा त्रुटि भेटिने गरेको छ । यस्ता त्रुटि सच्याउनुपर्ने अवस्थामा समेत प्रतिलिपि लिनुपर्ने भएकाले पछिल्लो समय प्रतिलिपि बनाउनेको संख्या बढेको कार्यालयले जनाएको छ।
राष्ट्रिय परिचयपत्रका लागि ७ हजारभन्दा बढी आवेदन
साउन र भदौमा राष्ट्रिय परिचयपत्रका लागि ७ हजार ३ सय ५३ जनाले आवेदन दिएका छन् । साउनमा ३ हजार ९ सय ७९ र भदौमा ३ हजार ३ सय ७४ जनाले आवेदन दिएको तथ्यांकमा उल्लेख छ । सोही अवधिमा १ हजार ७ सय २९ वटा राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । यस्तै, दलित तथा जनजाति परिचयपत्र १ सय ७ वटा जारी भएका छन् । दुई महिनामा २ हजार ६ सय ३२ जनाले राहदानीका लागि आवेदन दिएका छन् भने १ हजार ३ सय ६८ वटा राहदानी वितरण भएको प्रशासन कार्यालयले जनाएको छ । नाबालक परिचयपत्र ९८ वटा जारी भएका छन्।
४५ मुद्दा दर्ता, ११ फस्र्याैट
कार्यालयमा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ४५ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये ११ वटा फस्र्याैट भएका छन् । ठाडो उजुरीतर्फ भने ४३ वटा उजुरी दर्ता भएकामा सबै ४३ वटै फस्र्याैट भएको कार्यालयको तथ्यांक छ । यस अवधिमा चारवटा नयाँ संघसंस्था दर्ता भएका छन् भने २२ वटा संघसंस्थाले नवीकरण गरेका छन् । १३ वटा हातहतियारको नवीकरण गरिएको छ । प्रशासन कार्यालयले कारागारको एकपटक निरीक्षण, सरकारी कार्यालयको दुईपटक अनुगमन तथा प्रहरीलगायत सुरक्षा निकायको एकपटक अनुगमन गरेको छ । विकास आयोजनाको चारपटक र संघसंस्थाको तीनपटक अनुगमन गरिएको तथ्यांकमा उल्लेख छ । जिल्ला सुरक्षा समितिको बैठक ६ पटक तथा जिल्ला विपद् व्यवस्थापनसम्बन्धी बैठक दुई पटक बसेको छ ।
पीडित परिवारलाई ४१ लाखभन्दा बढी राहत
कार्यालयले शहीद परिवार, द्वन्द्वपीडित परिवार र वैदेशिक रोजगार पीडित परिवारका लागि ४१ लाख ६८ हजार ६ सय ७३ रुपैयाँ राहत वितरण गरेको छ । तर, चालु आर्थिक वर्षको यस अवधिमा विपद्मा परेकालाई भने राहत वितरण नगरिएको कार्यालयले जनाएको छ।कार्यालयले यस अवधिमा कुल १ करोड ४० लाख ९७ हजार ३ सय रुपैयाँ राजस्व संकलन गरेको छ । चालुतर्फ २५ लाख ५ हजार १ सय १९ रुपैयाँ खर्च भएको छ भने पूँजीगत खर्च शून्य रहेको छ । विविधतर्फ ६६ लाख ६८ हजार ६ सय ७३ रुपैयाँ खर्च भएको कार्यालयको तथ्यांक छ । धरौटीतर्फबाट १ करोड २८ लाख ४ हजार १ सय ९५ रुपैयाँ आम्दानी भएको छ । यस अवधिमा विशिष्ट व्यक्तिको भ्रमण २९ पटक भएको कार्यालयले जनाएको छ ।

दुई महिनामा १ सय ३५ आपराधिक घटना
काभ्रे जिल्लाभर चालु आर्थिक वर्षको साउन र भदौमा १ सय ३५ वटा आपराधिक घटना भएका छन् । ती घटनामा संलग्न १ सय ३३ जना पक्राउ परेका छन् । तथ्यांकअनुसार यस अवधिमा ६ वटा हत्या तथा १० वटा आत्महत्याका घटना भएका छन् । प्राकृतिक प्रकोपका तीनवटा घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सवारी दुर्घटनामा पाँच जनाको मृत्यु र १५ जना घाइते भएका छन् । यसैगरी, प्रशासन कार्यालयले जिल्लाका ५४ वटा पसल तथा फर्मको अनुगमन गरेको छ । अनुगमनका क्रममा दुईवटालाई जरिवाना तथा कारबाही गरिएको छ। जरिवानाबाट ३० हजार रुपैयाँ संकलन भएको छ । आठवटा फर्म तथा पसलबाट सामान जफत गरिएको र जफत गरिएका सामानको मूल्य १९ हजार ९ सय ८० रुपैयाँ रहेको कार्यालयले जनाएको छ । समीक्षा अवधिमा ड्रोन उडानका लागि कुनै अनुमति नदिइएको पनि कार्यालयको तथ्यांकमा उल्लेख छ ।
डिजिटल टोकनबाट सेवा प्रवाह
सेवा लिन आउने सेवाग्राहीलाई थप व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालय काभ्रेले गत वर्ष जेठ २७ गतेदेखि डिजिटल टोकन प्रणाली सञ्चालनमा ल्याएको छ । यसबाट सेवा प्रवाहलाई व्यवस्थित र सहज बनाउने प्रयास गरिएको कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले प्रशासन कार्यालयबाट प्रदान गरिने सेवाहरूलाई छिटो, सहज र प्रभावकारी बनाउनेतर्फ आफूहरूको प्रयास केन्द्रित रहेको बताउनुभएको छ । उहाँले शान्ति सुरक्षा र नागरिकलाई प्रदान गरिने सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *