काभ्रे । विगतमा जस्तै यसवर्ष पनि काभ्रेको मण्डनदेउपुर–११ राम्चेबेंसीका करिब १३० परिवार किसानले आफ्नो भएभरको जग्गामा काउली रोपेका थिए । तर भाउ नपाउँदा उनीहरुको लगानी जोखिममा परेको छ ।
‘बारीभरि काउली फलेका छन्, भाउ छैन ।’ किसानहरु भन्छन्, ‘लगानी पनि नउठ्ने भयो, यसमै चिन्ता छ ।’ मण्डनदेउपुर नगरपालिका–११ राम्चेबेंसीकी किसान गायत्री सापकोटालाई बारीमा फलेको काउली काट्न अहिले भ्याइनभ्याइ छ । तर बजारमा काउली १५ रुपैंयाँ केजीमा पनि बिक्री हुँदैन । एक महिनाअघि प्रतिकेजी एक सय रुपैंयाँसम्ममा बिक्री भएको काउली अहिले एकाएक सस्तिएपछि किसान चिन्तामा छन् । ‘बारीमै छोडौं भने झन भएन, टिपेर बजार पठाउँ, ज्याला पनि नउठ्ने भयो ।’ सापकोटा भन्छिन्, ‘यहाँ काउली, बन्दा, गोलभेंडालगायतका तरकारीको राम्रो उत्पादन हुन्छ तर बजार भाउ नआउँदा किसान मर्कामा छन् ।’ यहाँ यस सिजनमा दैनिक एक हजार केजीसम्म काउली उत्पादन हुने गरेको उनले बताइन् ।


यहाँका किसानले बनेपामा हरेक हप्ता स्थानीय हाट बजार लाग्ने गरेको र त्यहाँ तरकारी र फलफूलको किसान आफैंले व्यापार गर्ने गरेको सुनेका छन् । आफ्नो नगरपालिकामा यस्तै हाट बजार हुने हो भने तरकारी बेच्नका लागि काठमाडौं लैजानु पर्ने अवस्था नहुने र उचित मूल्य पाइने किसानहरुको आशा छ । मण्डनदेउपुर नगरपालिकाले पनि हाटबजारको व्यवस्था गरेको छ तर त्यो नगरकोटमा मात्र सिमित छ, जसले नगरका भित्री गाउँहरुका तरकारी बेच्न सहज छैन । स्थानीय व्यापारीहरुलाई तरकारी पठाउने गरेका यहाँका किसानहरु आफूहरुलाई पायक पर्ने ठाउँमा यस्तो हाट बजार राख्न नगरपालिकासँग अनुरोध गर्छन् ।
गतवर्ष एउटै किसानले एक सिजनमा काउली, बन्दा र गोलभेंडा बेचेर ५ लाखभन्दा बढी आम्दानी गरेका थिए तर यो वर्ष एक लाख उठाउन पनि कठिन छ । किसानहरु भन्छन् ‘तरकारीको मूल्यको कुनै ठेगान हुँदैन, चिठ्ठा परे जस्तै हो । कहिले मूल्य पाइन्छ, कहिले दुःख मात्र हुन्छ ।’ उपभोक्ताले बजारमा काउलीको मूल्य प्रतिकिलो ५० रुपैयाँसम्म तिर्दा पनि यहाँका किसानले भने १० देखि १५ रुपैंयाँ मात्रै पाइरहेका छन्  ।
‘एउटा काउली फलाउन किसानले धेरै मिहिनेत गर्नुपर्छ,’ किसान संगिता सापकोटा भन्छिन्, ‘काउली रोप्नका लागि बारी तयारी गर्ने, काउलीको बेर्ना तयारी गर्ने, रोप्ने, गोडमेल गर्ने, मलजल गर्ने, समय–समयमा किटनाशक विषादी हाल्ने लगायतका काम गर्नुपर्छ । तर त्यसको मूल्य पाइँदैन ।’ काउलीबाट किसानले प्रतिकिलो ३५ देखि ४० रुपैयाँसम्म पाउन सके लगानी उठाउन र केही बचत गर्न सकिने उनको अनुभव छ ।
सरकार कृषिमै आत्मनिर्भर हुन र रोजगारीका लागि विदेश नजान युवाहरुलाई आग्रह गर्छ तर यही सोचले व्यवसायिक तरकारी खेतीमा लागेका किसानहरुका लागि खेती गर्ने वातावरण बनाउँदैन । त्यसैले तरकारीबाट उचित मूल्य नपाएपछि किसानहरुमा निराशा छाएको अर्का किसान कृष्णप्रसाद सापकोटा बताउँछन् । भारतबाट तरकारी आयात हुँदा नेपालका किसानले तरकारीको उचित मूल्य नपाएको उनको भनाइ छ । मौसमी काउली अहिलेको समयमा बढी उत्पादन भएकाले पनि उचित मूल्य नपाएको सापकोटाले बताए ।
राम्चेबेंसीमा हरेक वर्ष तरकारी खेती हुन्छ । यहाँका सयौं रोपनी जग्गामा किसानले मौसमी तथा बेमौसमी तरकारी रोप्छन् । तर पछिल्ला केही वर्ष यता भने खेतीपातीमा लाग्ने किसानहरु विस्तारै घट्न थालेका छन् । तरकारी खेतीमा भविष्य नदेखेर उनीहरु रोजगारीका लागि कोही विदेश त कोही शहरतिर छिरेका छन् । गाउँमा भएकाहरुले खेती गर्न मजदूर पाउँदैनन् । निकै दुःख गरेर उत्पादन गरे पनि बजार भाउ नहुँदा किसानले खेतीमा गरेको लाखौं रुपैयाँ जोखिममा पर्ने गरेको छ ।
यसतर्फ स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले ध्यान दिनुपर्ने यहाँका किसानको माग छ । आफूहरुले गरेको तरकारी खेतीको बजारका लागि वडा र नगरले कुनै सहयोग नगरेको उनीहरुको गुनासो छ । मल, बीउ समयमा पाईंदैन, पाइए पनि महंगो तिर्नुपर्छ । लाखौं लगानी गर्यो, रुपैयाँमा बेच्न गाह्रो छ । यहाँका सबैजसो किसानको एउटै माग छ, ‘सरकारले खेती गर्ने वातावरण बनाइदिने हो भने रोजगारीका लागि कतै जानु पर्दैनथ्यो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *