काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकद्वारा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । मंगलबार प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच बधाई तथा शुभकामना आदान प्रदान गरिएको हो ।
सो अवसरमा प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले जिल्लामा भएका अपराध र अपराध न्यूनीकरणमा प्रहरीले खेलेको भूमिका, सूचना सम्प्रेषण लगायतमा प्रहरी र संचारकर्मीहरुको समन्वयात्मक भूमिकाका बारेमा भइरहेका प्रयासका बारेमा जानकारी गराइन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोदकुमार न्यौपानेले संचारकर्मीहरुलाई सदैव तथ्य सूचना उपलब्ध गराउन प्रहरी कार्यालयलाई अनुरोध गरेका थिए । साथै उनले अपराध न्यूनीकरण तथा सामाजिक अभियान संचालनमा सहकार्य गर्न आफूहरु तयार रहेको पनि बताए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी एवं सूचना अधिकारी मिनबहादुर घलेले निर्वाचितहरुलाई स्वागत गर्दै सूचना सम्प्रेषणमा सहकार्य गर्ने बताएका थिए । कार्यक्रममा महासंघका कार्यसमितिका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो ।
