मकवानपुर । नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशको छैठौं वार्षिक साधारण सभा वैशाख १३ गते मकवानपुर जिल्ला शाखाको सभाहल, हेटौडामा सम्पन्न भएको छ।
उक्त साधारण सभाको अध्यक्षता प्रदेश अध्यक्ष भोलानाथ रुपाखेतीले गर्नु भएको थियो भने कार्यक्रमको प्रमुख आतिथि बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा मगर रहनु भएको थियो।
स्वास्थ्यमन्त्री थापाले रेडक्रस र प्रदेश सरकारबीच स्वास्थ्य क्षेत्रमा सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले आफूले २० वर्षदेखि विभिन्न तहमा रेडक्रसमा काम गर्दै आएको अनुभव उल्लेख गर्दै, आपत्-विपत्तिको समयमा अग्रपंक्तिमा रहेर काम गर्ने संस्था भनेर जनस्तरमा रेडक्रस स्थापित भएको बताउनुभयो। सभामा महासचिव रामजीप्रसाद पौडेलले गत वर्षको प्रगति विवरण र आगामी वर्षको प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नुभयो भने, कोषाध्यक्ष भरतकुमार बस्नेतले आय-व्यय विवरण र आगामी वर्षको बजेट प्रस्तुत गर्नु भएको थियो।
साधारण सभामा गत वर्ष असोज महिनामा बाढीपहिरोबाट प्रभावित जिल्लाहरूमा खोज, उद्धार, राहत तथा पुनर्निर्माण कार्यमा सक्रिय योगदान पुर्याएका काभ्रेपलाञ्चोक जिल्ला शाखा, ललितपुर जिल्ला शाखा, साथै नेरेसो बागमती प्रदेश कार्यालयका लागि जग्गा उपलब्ध गराउने कार्यमा योगदान गरेकोमा मकवानपुर जिल्ला शाखालाई सम्मान गरियाे ।
संगठन विकास तथा सदस्यता वृद्धिमा योगदान पुर्याएकोमा चितवन जिल्ला शाखालाई, रगत नपाए भक्तपुर जानु अभियानको प्रभावकरी कार्यान्वयको लागि भक्तपुर जिल्ला शाखा ,रक्त सञ्चार सेवा व्यवस्थापन तथा अक्षय कोष निर्माण अभियानमा उल्लेखनीय कार्य गरेकोमा सिन्धुली र नुवाकोट जिल्ला शाखाहरूलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रममा मकवानपुर जिल्ला शाखाका सभापति लालबहादुर थापाले स्वागत मन्तव्य दिनु भएको थियो भने, सात सिद्धान्तको वाचन प्रदेश सदस्य खेमराज सापकोटाले गर्नुभएको थियो। साथै, चितवन जिल्ला सभापति हरिप्रसाद पौडेल, सिन्धुली जिल्ला सभापति अशोक श्रेष्ठ, र धादिङ जिल्ला सभापति दुर्लभकुमार तामाङले शुभकामना मन्तव्य राख्नु भएको थियो।
कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि, अतिथिहरू तथा सहभागी सम्पूर्णलाई धन्यवाद ज्ञापन उपाध्यक्ष निर्मला थापाले गर्नुभएको थियो। साधारण सभाको बन्द सत्रमा महासचिव र कोषाध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनहरू छलफल गरी पारित गरिएका थिए।
