ज्ञानमणि नेपाल कालोटोपी
धुलिखेल । आवश्यक हुने मुख्य सिजनमै मल अभावले छटपटिएका किसानका लागि सरकारले एउटा आश्वासनको गुलियो पोको पठाएको छ । कृषि सामाग्री कम्पनी धुलिखेलमा भर्खरै मलको कोटा आएको छ तर मल कहिले आउने टुंगो छैन ।

कार्यालयका प्रमुख आलोककुमार शर्माले दिएको जानकारी काभ्रे जिल्लाका लागि १३ हजार ८० बोरा युरिया मलको कोटा आएको छ । यस्तै सिन्धुपाल्चोकका लागि ६ हजार ४२० बोरा मलको कोटा आएको छ । तर मल कहिले आउने हो यसको कुनै मिति आएको छैन । ढुवानीको समस्याका कारण यस आर्थिक वर्षको अन्त्यसम्म मल आउन सक्ने उनले बताए ।

शर्माका अनुसार यतिबेला कार्यालयको धुलिखेलस्थित गोदाममा २६.८५ मेट्रिक टन युरिया मलको स्टक छ । यस्तै डिएपीको स्टक शुन्य छ भने ११४.८० मेट्रिक टन पोटास मलको स्टक छ । तर यही भएको मल पनि अभावमा रहेका किसानले पाउँदैनन् । किनकी जसका लागि यी कोटा छुट्याइएको छ ती सहकारी मल लिन आएका छैनन् । उनीहरुको भागमा परेको मल अरुले लैजान नपाउने सरकारको नीति छ ।

कृषि सामाग्री धुलिखेलबाट १० महिनामा १० हजार २५३ मेट्रिक टन मल बिक्री
पछिल्ला केही वर्षयता देशका धेरैजसो किसानको एउटै गुनासो छ, खेती गर्ने समयमा रासायनिक मल नै पाइँदैन । तैपनि सरकारले भने मल आयात र वितरण सहज भएको दाबी गर्दै आइरहेको छ । कृषि सामाग्री कम्पनी लिमिटेड धुलिखेलले काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछापका लागि रासायनिक मल बिक्री वितरण गर्दै आइरहेको छ । यी चार जिल्लामा कम्पनीले यस आर्थिक वर्षमा ठूलो परिमाणमा मल बिक्री वितरण गरेको तथ्यांक सार्वजनिक गरेको छ ।

गत साउनदेखि जेठ २७ गतेसम्म यस कम्पनीले चार जिल्लामा १० हजार २५३ मेट्रिक टन अनुदानको मल बिक्री गरिसकेको छ । जसमध्ये ७ हजार ९३.५ मेट्रिक टन युरिया मल बिक्री गरेको छ । यही अवधीमा २ हजार ८३६ मेट्रिक टन डिएपी र ३२३.५ मेट्रिक टन पोटास मल बिक्री गरिसकेको कार्यालयका प्रमुख आलोककुमार शर्माले जानकारी दिएका छन् ।

उनका अनुसार चार जिल्लामध्ये सबैभन्दा बढी काभ्रे जिल्लामा बिक्री गरिएको छ । काभ्रेमा ४ हजार ८७० मेट्रिक टन युरिया, २ हजार ३९ मेट्रिक टन डिएपी र २६१ मेट्रिक टन पोटास मल बिक्री भएको छ । यस्तै सिन्धुपाल्चोकमा २ हजार ३२.७ मेट्रिक टन युरिया, ७७४ मेट्रिक टन डिएपी र ६१ मेट्रिक टन पोटास मल बिक्री गरिएको छ ।

उता दोलखामा ३२.४ मेट्रिक टन युरिया, ११ मेट्रिक टन डिएपी र ०.३० मेट्रिक टन पोटास बिक्री भएको तथ्यांक छ भने यही समय अवधिमा रामेछापमा भने १५८ मेट्रिक टन युरिया, ११.४ मेट्रिक टन डिएपी र ०.६ मेट्रिक टन पोटास मलको बिक्री गरिएको कार्यालयले जनाएको छ ।

कुन पालिकामा कति मल बिक्री ?
पालिकागतरुपमा काभ्रेको पाँचखाल नगरपालिकामा धेरै मल बिक्री भएको तथ्यांक छ । यहाँ ८२९ मेट्रिक टन युरिया, ५१४ मेट्रिक टन डिएपी र ९० मेट्रिक टन पोटास मल बिक्री भएको छ । मण्डनदेउपुर नगरपालिकामा क्रमशः ६१५ मेट्रिक टन, ४१५ र ३५ मेट्रिक टन, बनेपामा ६०७ युरिया, २७९ डिएपी र ५० मेट्रिक टन पोटास, धुलिखेलमा ५८० मेट्रिक टन युरिया, २१९ मेट्रिक टन डिएपी र २२ मेट्रिक टन पोटास मल बिक्री भएको छ । यस्तै पनौतीमा ५९२ मेट्रिक टन युरिया, २६३ मेट्रिक टन डिएपी र ३४ मेट्रिक टन पोटास, नमोबुद्धमा ४३४ मेट्रिक टन युरिया, १३६ मेट्रिक टन डिएपी र ५ मेट्रिक टन पोटास, रोशीमा ३७० मेट्रिक टन युरिया, ५२.६ मेट्रिक टन डिएपी र ६.६ मेट्रिक टन पोटास, चौंरीदेउरालीमा १५३ मेट्रिक टन युरिया, २८ मेट्रिक टन डिएपी र १.८ मेट्रिक टन पोटास मलको बिक्री भएको छ ।

कार्यालयले जनाएअनुसार भुम्लु गाउँपालिकामा १४० मेट्रिक टन युरिया, ३८.८५ मेट्रिक टन डिएपी र ०.७५ मेट्रिक टन पोटास, बेथानचोकमा १४१.७ मेट्रिक टन युरिया, ३८.५ मेट्रिक टन डिएपी, १३.५ मेट्रिक टन पोटास, तेमालमा १८३.७५ मेट्रिक टन युरिया, ३१.९ मेट्रिक टन डिएपी र ०.३५ मेट्रिक टन पोटास बिक्री हुँदा खानीखोलामा ९९ मेट्रिक टन युरिया र ८ मेट्रिक टन डिएपी तथा महाभारतमा १२४ मेट्रिक टन युरिया र १४ मेट्रिक टन डिएपी मल बिक्री भएको तथ्यांक छ ।

यस्तै सिन्धुपाल्चोकका १२ पालिकाहरुमा सबैभन्दा बढी मेलम्ची नगरपालिकामा बिक्री भएको छ । यहाँ ५५२ मेट्रिक टन युरिया, २४७ मेट्रिक टन डिएपी र २२.५ मेट्रिक टन पोटासको बिक्री भएको छ । हेलम्बु गाउँपालिकामा ९६ मेट्रिक टन युरिया, ५४ मेट्रिक टन डिएपी र १.८५ मेट्रिक टन पोटास, बाह्रबिसेमा १६१ मेट्रिक टन, युरिया, २१ मेट्रिक टन डिएपी र १ मेट्रिक टन पोटास, पाँचपोखरी थाङपालमा ९३ मेट्रिक टन युरिया, १५.८ मेट्रिक टन डिएपी र ०.२५ मेट्रिक टन पोटास मलको बिक्री गरिएको कार्यालयले जनाएको छ ।

सुनकोशीमा ८४ मेट्रिक टन युरिया, २८.७ मेट्रिक टन डिएपी र ०.७५ मेट्रिक टन पोटास, चौतारा साँगाचोकगढी नगरपालिकामा २९९ मेट्रिक टन युरिया, १४१.५ मेट्रिक टन डिएपी र १३ मेट्रिक टन पोटास, बलेफीमा १३०.६ मेट्रिक टन युरिया, २३.६ मेट्रिक टन डिएपी र १.७५ मेट्रिक टन पोटास तथा जुगलमा ५९.५ मेट्रिक टन युरिया र १० मेट्रिक टन डिएपी मल बिक्री भएको छ । यस्तै इन्द्रावती गाउँपालिकामा ३८० मेट्रिक टन युरिया, २०० मेट्रिक टन डिएपी र १६.६ मेट्रिक टन पोटास, त्रिपुरासुन्दरीमा ८४ मेट्रिक टन युरिया, ७ मेट्रिक टन डिएपी र ०.३५ मेट्रिक टन पोटास, लिशंखुपाखरमा ७९ मेट्रिक टन युरिया, २३.५ मेट्रिक टन डिएपी र २.८ मेट्रिक टन पोटासको बिक्री भएको छ । भोटेकोशीमा भने युरिया १२.५ टन र डिएपी ०.५ टन बिक्री भएको छ ।

यसैगरी दोलखाको शैलुङ्ग गाउँपालिकामा मात्र ३२.४ मेट्रिक टन युरिया, ११ मेट्रिक टन डिएपी र ०.३ मेट्रिक टन पोटास मल बिक्री हुँदा रामेछापका सुनापती गाउँपालिकामा ९२.९ मेट्रिक टन युरिया, ५ मेट्रिक टन डिएपी र ०.२५ मेट्रिक टन पोटास तथा दोरम्बा शैलुङ्गमा ६५ मेट्रिक टन युरिया, ६ मेट्रिक टन, डिएपी र ०.२५ मेट्रिक टन पोटास मलको बिक्री भएको छ । यी दुई जिल्लाका अन्य पालिकामा भने कृषि सामाग्री कम्पनी सिन्धुली शाखाबाट बिक्री वितरण हुने पनि कार्यालयले जनाएको छ । उल्लेखित मलको परिणाममा साल्ट ट्रेडिङ कर्पोरेशनले ल्याएर बिक्री गर्ने मल उल्लेख छैन । साल्ट ट्रेडिङले ३० प्रतिशत र कृषि सामाग्रीले ७० प्रतिशतको अनुपातले मल बिक्री वितरण गर्दै आइरहेका छन् ।

कसरी हुन्छ मलको वितरण ?
सरकारले मल वितरणमा कोटा प्रणाली लागू गरेको छ । जसले गर्दा मल किसानले सहकारी संस्थामार्फत मात्रै पाउने गरेका छन् । कृषि मन्त्रालयले सबै प्रदेशका लागि मलको कोटा तोक्छ । प्रदेशमार्फत जिल्ला र पालिकाका लागि छुट्टै कोटा तोकिन्छ । प्रदेशबाट आएको सूचीअनुसार मात्रै कृषि सामाग्री कम्पनीले मल वितरण गर्नुपर्ने बाध्यता रहेको धुलिखेलस्थित कार्यालयका प्रमुख आलोककुमार शर्मा बताउँछन् ।

विगतमा देशभर किसानको माग १३ लाख मेट्रिक टन तर आयात मुस्किलले पाँच लाख मेट्रिक टन मात्र हुने गरेका कारण माग र आपूर्तिबीच असन्तुलन हुँदा मल अभाव भएको थियो । सरकारले चालु आर्थिक वर्षमा कृषि क्षेत्रका लागि ५७ अर्ब बजेट विनियोजन गरेको थियो, जसमा २८ अर्ब त मल खरिदकै लागि छुट्याएको छ । तैपनि किसान भने मलकै समस्या बेहोर्न बाध्य छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *