कुन्तावेंसी । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाले आइतबार एक कार्यक्रमका बीच वार्षिक समीक्षा कार्यक्रमको आयोजना गरेको थियो ।
जसअनुसार वित्तीय समानीकरण अनुदान संघतर्फ ४९ दशमलब ८५ प्रतिशत र प्रदेशतर्फ २४ दशमलब ८६ प्रतिशत प्रगति रहेको छ । सशर्त अनुदान संघीयमा, चालुतर्फ ९१ दशमलब ५२ प्रतिशत र पुँजीगततर्फ शतप्रतिशत रहेको छ । सशर्त अनुदान प्रदेशमा चालु र पुँजीगततर्फ शतप्रतिशत प्रगति रहेको छ भने समपुरक अनुदान संघीय र प्रदेशतर्फ शतप्रतिशत, राजस्व बाँडफाँटबाट प्राप्त संघतर्फ ७६ प्रतिशत र प्रदेशतर्फ ५ दशमलव ३१ प्रतिशत प्रगति रहेको छ । आन्तरिक स्रोततर्फ ८५ प्रतिशत र अन्य बैंक मौज्दाततर्फ ८५ प्रतिशत प्रगति रहेको नगरपालिकाले जनाएको छ ।
आर्थिक विकासतर्फ ६६ दशमलव ५३ प्रतिशत, सामाजिक विकासतर्फ ६२ दशमलव ५५ प्रतिशत, पूर्वाधार विकासतर्फ ३२ दशमलव ०८ प्रतिशत, सुशासन तथा संस्थागत क्षमता विकासतर्फ ३९ दशमलव ३८ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८०÷८१ मा ०.०९ प्रतिशत बेरुजु रकम कायम गर्दै यस नगरपालिका जिल्लाको ६ वटा नगरपालिकामा प्रथम र १३ वटा स्थानीय तहहरुमा दोस्रो हुन सफल भएको छ ।
आर्थिक वर्ष २०८१÷०८२ को स्वीकृत योजना संख्याहरु, ५० लाखभन्दा बढीका आयोजनाहरु ९ वटा, २५ देखि ५० लाखसम्मका ७ वटा आयोजना, ५ देखि २५ लाखसम्मका योजनाहरु ३५ वटा र ५ लाखभन्दा कमका आयोजनाहरु ५४ वटा रहेका छन् । बहुवर्षीय आयोजना अन्तर्गत यस नगरपालिकाभित्र १५ शैयाको अस्पताल निर्माणधिन रहेको छ भने कुन्तावेँसी–नयाँगाउँ–खस्रे सडकमा स्थानीयको अवरोध तथा अदालतमा मुद्दा दर्ता भएका कारण काम रोकिएको छ । अहिले सर्वोच्चले यस विषयमा परेको रिट खारेज गरिदिएपछि अब विस्तारै काम अघि बढाइने नगरप्रमुख टोकबहादुर वाइवाले जानकारी दिनुभयो ।
नगर परिचय
काभ्रेको मण्डनदेउपुर नगरपालिका २०७३ साल फागुन २७ गते स्थापना भएको हो । यो नगरपालिकाभित्र साविक गाविसहरु बालुवापाटी देउपुर, गैह्रीबिसौना देउपुर, नयाँगाउँ देउपुर, महादेवस्थान मण्डन, चण्डेनी मण्डन, जंैसीथोक मण्डन र ज्याम्दी मण्डनका वडा नम्बर १, ४ र ६ समावेश छ ।
२०७८ सालको जनगणनाअनुसार यस नगरपालिकाभित्र ७ हजार ९२४ परिवार संख्या र ३० हजार ३८१ जनसंख्या रहेको छ । जसमा १४ हजार ८५३ पुरुष र १५ हजार ५२८ महिला रहेका छन् । नगरपालिकाको वार्षिक जनसंख्या बृद्धिदर ऋणात्मक ०.६९ प्रतिशत, लैङ्गिक अनुपात ९५.६५ प्रतिशत र जनघनत्व ४३१ प्रति वर्ग किलोमिटर रहेको छ ।
नगरपालिकामा सामुदायिक शिक्षातर्फ १३ मा.वि र ३१ वटा आधारभूत विद्यालय छन् भने संस्थागततर्फ ३ वटा मा.वि र २ वटा आधारभूत विद्यालय छन् । एसईई परीक्षा २०८१ मा नगरपालिका ९५ दशमलव ५१ प्रतिशत अंकसहित जिल्लामै दोस्रोस्थान ओगट्न सफल भएको छ । नगरपालिकाभित्र १८ वटा जातजातिको बसोबास रहेको छ भने उनीहरु विभिन्न ५ वटा धर्ममा आबद्ध भएको देखिन्छ । अधिकांश नगरबासीको मुख्य आयआर्जनको स्रोत कृषि हो भने पर्यटन व्यवसाय, घरेलु उद्योग, नोकरी, वैदेशिक रोजगारीबाट समेत आर्थिक उपार्जन हुने गरेको छ ।
विश्वमै परिचित पर्यटकीय क्षेत्र नगरकोट, कृषि उत्पादनका लागि चनौटे, आँसीखोला, चाखोला फाँट, ज्वानेटार, जोगिटार यसै नगरपालिकामा पर्दछन् । पर्यटन प्रबद्र्धनका लागि मण्डनदेउपुर, बनेपा, चाँगुनारायण र शंखरापुर नगरपालिकाको संयुक्त आयोजनामा नगरकोट पर्यटन भ्रमण वर्ष २०८२ पनि शुरु गरिएको छ ।


यस नगरपालिकाले न्यायिक समितिमार्फत २४ वटा दर्ता भएका गुनासोहरु मध्ये ११ वटा गुनासोको फर्छ्र्योट गरिसकेको छ भने बाँकी फर्छ्र्योटको प्रक्रियामा रहेको छ । अपांगता पहुँचयुक्त प्रशासनिक भवनसहित यस नगरपालिकाभित्र ४५ दशमलब ४ किलोमिटरसडक कालोपत्रे भएको छ । त्यस्तै १० किलोमिटरभन्दा बढी सडक स्तरोन्नती भएको छ । नगरपालिकाभित्र ९० प्रतिशत बढी नागरिकको घरमा खानेपानीसहित धारा जडान गरिएको छ ।
मण्डनदेउपुर पूर्ण खोप नगरपालिका घोषणा भएको छ । वडा वडामा स्क्रिनिङ शिविर सञ्चालन गरी मोतियाविन्दु भएका १ हजार १ सय ९० जनाको आँखा जाँच गरी ९४ जना मोतियाबिन्दु भएका नगरबासीको साझेदारीमा निःशुल्क अप्रेशन गरिएको छ । विद्यालयस्तरमा ९ सय ४५ जना बालबालिकाको आँखा, नाक, कान र घाँटीको निःशुल्क जाँच तथा उपचार गरिएको छ । टोल बस्तीमा ११ हजार ६४५ जनाको नसर्ने रोग पहिचानका लागि सुगर, प्रेसर, पिसाब, उचाईअनुसार तौल जाँच गरिएको छ । सुगर र उच्च रक्तचाप भएका बिरामीको वडास्थित स्वास्थ्य संस्था र नगर अस्पतालबाट उपचार गर्ने व्यवस्था मिलाइएको छ । शहरी स्वास्थ्य क्लिनिकको ब्यवस्था गरिएको छ । अब नगर अस्पतालबाटै स्वास्थ्य बीमाको प्रथम विन्दुको सेवा शुरु गर्ने गरि सहमति भइसकेको छ ।
आयआर्जनका लागि गृहिणी महिलाहरुलाई अटोरिक्सा, साबुन बनाउने, ढाकाको खादा, मखमलको चुत्ता चप्पल, पोते बनाउने तालिम प्रदान गरिएको छ । बालमैत्री वडा घोषणाको प्रक्रिया थालिएको छ भने वडा कार्यालयहरुमा विद्युत आपूर्ति बन्दको अवस्थामा समेत नागरिकको सेवा नरोकियोस् भन्नका लागि ब्याट्री ब्याकपसहित सेवा उपलब्ध गराइएको छ ।
नगरपालिकाको वडानम्बर ७, ८ र ९ मा किसान सूचीकरण सम्पन्न भएको छ । माटो परीक्षण शिविर, विषादीबाट जोगिन किसानलाई पीपीई सेट वितरण गर्नुका साथै २२ औं राष्ट्रिय धान दिवस कार्यक्रम मनाइएको छ । कोइकाको भोलेन्टियरको सहयोगमा मल्चिङ पद्धतिबाट आलुको उत्पादन गर्न शुरु गरिएको छ । एक वडा, एक पशु स्वास्थ्य प्राविधिक ब्यवस्था गरिएको छ । पशुमा लाग्ने लम्पीस्किनको नगरपालिकाले निःशुल्क खोप प्रदान गर्दै आएको छ ।
पर्यटन प्रबद्र्धनका लागि स्थानीयको सहभागितामा होमस्ट्रे कार्यक्रम शुरुवात भएको छ । स्थानीय लोकसंस्कृतिको विकास गरी पर्यटन आकर्षण गर्न भेषभूषा, नृत्य, बाद्यवादनको तालिम प्रदान गरिएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत यस नगरपालिकाभित्र २ हजार २ सय ५२ मिटर सिँढी निर्माण सम्पन्न भएको छ । यस नगरपालिकाले जापानको फुजिनोमिया नगरपालिकासँग भगिनी सम्बन्ध कायम गरेको छ ।
नगरपालिकाका असल अभ्यास
नगरपालिकाले आफ्नै नेटवर्क विस्तार गरी सञ्चालनमा ल्याएको छ । यस नेटवर्कभित्र नगरपालिका अन्तर्गतका ७३ वटा सरकारी कार्यालयहरु आबद्ध गराई इन्ट्रानेट र इन्टरनेटको उचित व्यवस्थापन गरिएको छ । उक्त नेटवर्क प्रयोग गरी नगरपालिकाबाट सञ्चालित इ– सिफारिस, एचआर म्यानेजम्यान्ट, अनलाइन विल्डिङ परमिट सिस्टम, संघसंस्था दर्ता र नगर प्रोफाइल जस्ता सफ्टवेरहरु इन्टरनेट बिना नै प्रयोग गर्न सहज भएको छ ।
यो आर्थिक वर्षदेखि इच्छुक इन्टरनेट सर्भिस प्रोभाइटरलाई इन्ट्रानेट प्रयोग गरे बापत शुल्क लिई आईएसपी कम्पनीलाई भाडामा दिने अवस्थासम्म नगरपालिका आइपुगेको छ । यसले नगरपालिकालाई इन्टरनेटमा मजबुद मात्रै बनाएको छैन, आयस्रोतसमेत बढ्ने नगरपालिकाको अपेक्षा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *