धुलिखेल । काभ्रे प्रहरीले काठमाडौँबाट सिरहातर्फ जाँदै गरेको गाडीबाट साढे तीन लाख नगद र १२ लाख २६ हजार रुपैयाँ बराबरका गरगहना बरामद गरेको छ ।
सेना र प्रहरीको संयुक्त चेकिङ टोलीले बीपी राजमार्गमा चेकजाँच गर्ने क्रममा काभ्रेको भकुण्डेबेँसीमा बा.प्र.०१–००६ ख ९१७३ नं. को विद्युतीय गाडीबाट उक्त परिमाणमा नगद र गरगहना बरामद गरेको हो ।
गाडीमा सिरहा भगवानपुर गाउँपालिका–२ बस्ने वर्ष १८ का नरेशकुमार यादव सवार थिए । गाडी खानतलासी गर्दा निजले बोकेको झोलाबाट स्रोत नखुलेको नगद तीन लाख ५० हजार ३०० र १२ लाख २६ हजार ९४ रुपैयाँ बराबरका गरगहना फेला परेको प्रहरीले जनाएको छ ।
यादवले बोकेको झोलामा नगदसहित एक थान छड्के तिलहरी, मंगलशुत्र एक थान, बेरुवा औँठी एक थान र सिक्री तीन थान भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । बरामद नगद र गरगहनाको स्रोत खुल्न नसकेको पनि प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *