बनेपा । सिटिजन लाइफ इन्स्योरेन्सको आठौं वार्षिकोत्सवका अवसरमा भुमेस्थान प्रा.वि. रोशी–९ (सल्लेनी) का विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामाग्री वितरण गरिएको छ ।
प्रमुख अतिथि एवं सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बनेपा शाखाका एजेन्सी मेनेजर अशोकबुद्ध लामाले सिटिजन लाइफले यस्तो कार्यक्रम यो समेत तेस्रो पटक गरिसकेको बताउनुभयो । साथै उहाँले शैक्षिक सामाग्रीले विद्यार्थीको अध्ययनमा सहजता मिल्ने विश्वास व्यक्त गर्नुभयो । यसअघि यस्तो कार्यक्रम गत बर्ष मंगलजन विजय मावि र शान्तिबुद्ध आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि तथा बनेपा शाखाका उपप्रमुख सविता मानन्धरले बनेपा शाखासँग बार्षिकोत्सवको कार्यक्रम गर्नका लागि धेरै वटा वैकल्पिक योजनाहरु भएका तर रोशी जस्तो दुर्गम ठाउँ र त्यसमाथि रोशीको पनि विकट ठाउँमा अरुको ध्यानाकर्षण नहुने भएकाले अरु नपुगे पनि हामी पुग्नु पर्छ भनेर यो विद्यालयमा आफूहरु आएको बताउनुभयो । रोशीका धेरै नागरिकहरु कम्पनीमा बीमित भएको बताउँदै उहाँले रोशीका विद्यार्थीलाई सहयोग गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रमका सभापति एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र लामाले आफ्नो प्रस्तावलाई स्विकार गरेर विद्यालयलाई सहयोग गरेकोमा कम्पनीलाई धन्यवाद दिँदै कम्पनीको उन्नति र प्रगतिको कामना गर्नुभयो । कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिका सदस्य लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा फूटबल २ वटा, स्किपिङ रोप २ वटा, चेस २ सेट, डटपेन १० प्याकेट, इरेजर २५ वटा, सार्पनर २५ वटा, पेनसिल १४ प्याकेट, क्लियर ब्याग २५ वटा, कापी २५ दर्जन, लुडो २ सेट वितरण गरेको थियो ।
