मण्डनदेउपुर । काभ्रेको मण्डनदेउपुर नगरपालिकामा शुक्रबारदेखि शुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतबार सम्पन्न भएको छ । जसमा मण्डनभ्याली एकेडेमीले प्रथम स्थान हासिल गरेको छ ।

६ स्वर्ण, ५ रजत र १ कास्य पदकसहित मण्डनभ्यालीले प्रथम स्थान हासिल गरेको हो। यस्तै दोस्रो स्थान हासिल गर्न सफल न्यू लिटिल स्टार इङ्गलिस स्कूलले ५ स्वर्ण, २ रजत र ३ कास्य पदक पाएको छ । डेडीथुम्का माविले ३ स्वर्ण, २ रजत र ४ कास्य पदक प्राप्त गर्दै तृतीय स्थान हासिल गरेको छ ।

उमाशह शिक्षालय माविले ३ स्वर्ण र १ रजत पदक पाउँदै चौथो भएको छ । महाकाली माविले २ स्वर्ण, ५ रजत र ४ कास्य पदक प्राप्त गर्दै पाँचौं भयो । यसैगरि वीज्डम एकेडेमीले २ स्वर्ण, २ रजत र ३ कास्य पदक, द्वारपालेश्वर माविले २ स्वर्ण, २ रजत पदक तथा विन्धवासिनी माविले २ स्वर्ण, १ रजत र १ कास्य पदक पाएको छ ।

प्रथम हुने विद्यालयले नगद २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार तथा ट्रफी र प्रमाणपत्र पाएका छन् । विजयी टिमलाई नगरप्रमुख टोकबहादुर वाइवा, उपप्रमुख विष्णुमणि नेपाल र प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल लगायतले पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभयो ।

प्रतियोगितामा नगरपालिकाका १३ सामुदायिक र ४ संस्थागत गरि १७ विद्यालयको सहभागिता रहेको थियो । एथ्लेटिक्स, भलिबल, कबड्डीलगायत खेलका विभिन्न ३० विधामा २२२ पदकका लागि खेल भएको हो । खेलमा ४३० छात्रा र ४२९ छात्रहरुले सहभागिता जनाएका थिए । जम्मा ७४ स्वर्ण, ७४ रजत र ७४ कास्य पदकका लागि खेल भएको थियो ।

मण्डनदेउपुर नगरपालिकाको आयोजनामा भएको प्रतियोगिताको कात्तिक २८ गते शुक्रबार बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेले उद्घाटन गर्नुभएको थियो । नगरपालिकाको वडानम्बर ८ र ११ को डाँडागाउँमा खेल सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *