सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडानम्बर ९ मा रहेको क्यौलेठाना आधारभूत विद्यालयमा विद्यार्थीहरुलाई न्यानो कपडा, खेलकुद सामग्री र शिक्षकहरुलाई झोला वितरण गरिएको छ । आइतबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच विद्यार्थीहरुलाई न्यानो कपडा, खेलकुद सामग्री र शिक्षकहरुलाई झोला वितरण गरिएको हो ।
स्थायी बसोबास पर्सा जिल्ला तर हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका शान्त घलेको सहयोगमा न्यानो कपडा वितरण गरिएको थियो । कार्यक्रममा मेलम्चीका नगरप्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यता तथा वडा सदस्य पूर्णबहादुर तामाङको विशेष आतिथ्यतामा सामाग्री वितरण गरिएको हो ।
कक्षा बालविकासदेखि कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरणका लागि यस विद्यालयका पूर्वविद्यार्थी, पूर्वविद्यालय व्यवस्थापन समिति सदस्य एवं समाजसेवी सचिन तामाङ (पाख्रिन) र पूर्वशिक्षक आस्मा तामाङ (पाख्रिन) ले समन्वय गर्नुभएको थियो । यस्तै बौद्ध स्पोटर्सका सञ्चालक राधिका तामाङ र सुनिल तामाङले विभिन्न किसिमका खेलकुद सामग्रीहरू वितरण गर्नुभयो । साथै विद्यालय व्यवस्थापन समितिका सदस्य सोमाली तामाङको तर्फबाट शिक्षकहरूका लागि झोला वितरण गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगरप्रमुख तामाङले सहयोगी र समन्वय गर्ने सबैमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले विद्यालयका लागि नगरपालिकाले सधैं सहयोग गर्ने बताउनुभयो ।
यस्तै साथ, सहयोग र मायाको लागि सम्पूर्ण सहयोगी हातहरुमा विद्यालयले हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्तै मायाको आपेक्षा गरेको विद्यालयका प्रधानाध्यापक भरतकुमार मल्लले बताउनुभयो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको हो ।
