सिन्धुपाल्चोक । इन्द्रावती क्याम्पस मेलम्चीको १८औँ वार्षिक उत्सव तथा क्याम्पस सभा सम्पन्न भएको छ । मेलम्चीका नगरप्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यता तथा उपप्रमुख उमा प्रधानको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख तामाङले इन्द्रावती क्याम्पसले स्थानीय युवालाई उच्च शिक्षामा सहज पहुँच दिलाउँदै आएको भूमिकाको उच्च प्रशंसा गर्नुभयो । उहाँले क्याम्पसलाई नगरको शैक्षिक पहिचानसँग जोडिएको महत्वपूर्ण संस्थाको रूपमा प्रस्तुत गर्दै आगामी दिनमा शिक्षाको गुणस्तर वृद्धिका लागि सबै क्षेत्रले हातेमालो गर्नुपर्नेमा विशेष जोड दिनुभयो।

इन्द्रावती क्याम्पसले मेलम्चीका विद्यार्थीलाई घरैमा बसेर गुणस्तरीय शिक्षा हासिल गर्न मार्ग प्रशस्त गरेको बताउनु हुँदै प्रमुख तामाङले शिक्षा नै विकासको आधारशिला भएकाले नगरपालिकाबाट विद्यार्थीका सीप विकास, प्राविधिक शिक्षा, डिजिटल पहुँच तथा शैक्षिक पूर्वाधार वृद्धि जस्ता क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको बताउनु भयो। विद्यार्थीहरूले यस अवसरलाई मूल्याङ्कन गर्दै अध्ययन र आचरण दुवै क्षेत्रमा उत्कृष्टता प्रदर्शन गर्न पुनः आग्रह गर्नु भयो ।

त्यसैगरी उपप्रमुख उमा प्रधानले क्याम्पसले समुदाय केन्द्रित शिक्षा विस्तारमा खेलेको भूमिकाको उल्लेखनीय प्रशंसा गर्दै विद्यार्थीलाई उत्तरदायी, अनुशासित तथा समाजप्रति संवेदनशील बन्न आग्रह गर्नु भयो ।

क्याम्पस प्रमुख राधाकृष्णा श्रेष्ठले विगत वर्षको शैक्षिक तथा वित्तीय प्रतिवेदन प्रस्तुत गर्दै नयाँ शैक्षिक सत्रमा अनुसन्धानमुखी अध्ययन, पाठ्यक्रम सुदृढीकरण तथा विद्यार्थी केन्द्रित कार्यक्रमहरू थप प्रभावकारीरूपमा अघि बढाइने बताउनुभयो । इन्द्रावती क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष महेश दुलाल (सिपी)को अध्यक्षतामा सम्पन्न भएको १८ औँ वार्षिक उत्सव शिक्षाको उन्नयन र संस्थागत विकासमा सामूहिक प्रतिबद्धता व्यक्त गर्दै सफलतापूर्वक सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *