मण्डनदेउपुर । काभ्रेको मण्डनदेउपुर नगरपालिका १२ ज्याम्दीमा रहेको इन्द्रावती माविको ५० औं वार्षिकोत्सव तथा स्वर्ण महोत्सव बुधबार सम्पन्न भएको छ । विद्यालयको स्वर्ण महोत्सवको उपलक्ष्यमा शैक्षिक सामाग्री प्रदर्शन, विद्यालय परिसरमा सरस्वती मन्दिरको शिलान्यास तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
नगरपालिकाका प्रमुख टोकबहादुर वाइवाको प्रमुख आतिथ्यता, वडा नम्बर १२ का वडाध्यक्ष कुमार पराजुलीको विशेष आतिथ्यता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद पराजुलीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयको आर्थिक प्रतिवेदन शिक्षक श्रीकृष्ण पराजुलीले प्रस्तुत गर्नुभएको थियो ।
यस्तै प्रधानाध्यापक वेदप्रकाश खतिवडाले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि वाइवाले विद्यालय परिसरमा निर्माण हुन लागेको सरस्वतीको मन्दिरको शिलान्यास पनि गर्नुभएको थियो ।
प्रधानाध्यापक खतिवडाले दिनुभएको जानकारी अनुसार २०३२ साल माघ २८ गते स्थापित विद्यालयमा २०६५ सालदेखि यता एसइइमा ६३० जना विद्यार्थी उत्तीर्ण भइसकेका छन् । यस्तै ९१ जनाले कक्षा १२ पास गरिसकेका छन् । हाल विद्यालयमा १२१ जना विद्यार्थी अध्ययन गरिरहेका छन् ।
कार्यक्रममा बोल्दै पूर्व वडाध्यक्ष गोविन्द पराजुलीले विद्यालयका पूराना दिनहरुको स्मरण गर्दै अहिले विद्यालय भवन राम्रा बनेका तर विद्यार्थी संख्या घटिरहेको प्रति चिन्ता व्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथी नगरप्रमुख वाइवाले इन्द्रावती माविले नगर र जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको प्रति गर्व गर्दै आगामी दिनमा थप प्रगतीको कामना गर्नुभयो । उहाँले विद्यालयका लागि नगरले गर्ने सहयोग सधैं रहने बताउनुभयो ।
कार्यक्रममा विभिन्न चरणमा विद्यालयलाई सहयोग गर्ने व्यक्तित्वहरु, शिक्षक, विद्यार्थी तथा अभिभावकहरुलाई सम्मान पनि गरिएको थियो ।
