मेलम्ची, सिन्धुपाल्चोक । श्री इन्द्रेश्वरी माध्यमिक विद्यालय, मेलम्चीले आफ्नो ५२औँ वार्षिकोत्सव तथा २६औँ अभिभावक दिवस भव्यरूपमा सम्पन्न गरेको छ । कार्यक्रमका अवसरमा शिक्षा, सामाजिक सेवा र विद्यालयको समग्र विकासमा उल्लेखनीय योगदान पुर्याउने शिक्षक, एवम् सहयोगी व्यक्तित्वहरूलाई सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि, विद्यालय व्यवस्थापन समिति र अभिभावकहरूको उपस्थितीमा सम्पन्न सो समारोहमा उत्कृष्ट शैक्षिक उपलब्धी हासिल गराउने शिक्षकहरूलाई विशेष सम्मान प्रदान गरिएको विद्यालयले जानकारी दिएको छ ।
उत्कृष्ट नतिजा दिलाउने शिक्षकहरू सम्मानित
राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित वि.स. २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) मा उत्कृष्ट नतिजा दिलाउन सफल शिक्षकहरूलाई सम्मान गरिएको थियो ।
श्री ठाकुरप्रसाद पौडेल, प्राविधिक धारतर्फ नेपाली विषयमा औसत न्एब् ३.५० सहित उत्कृष्ट नतिजा दिलाएबापत सम्मानित, श्री लेखनाथ भट्टराई, साधारण धारतर्फ सामाजिक अध्ययन विषयमा औसत न्एब् ३.१० सहित उत्कृष्ट नतिजा दिलाएबापत सम्मानित, त्यस्तै, मेलम्ची नगरपालिकाद्वारा सञ्चालित कक्षा ८ को आधारभूत तह उत्तीर्ण परीक्षामा रमेशबहादुर घलेले सामाजिक अध्ययन तथा मानवमूल्य शिक्षा विषयमा औसत न्एब् ३.२१ सहित उत्कृष्टता प्रदर्शन गराएबापत सम्मान प्राप्त गरे ।
सहयोगी व्यक्तित्वहरूलाई सम्मान
विद्यालयका विद्यार्थीहरूका लागि सहयोग पुर्याउने समुदायका व्यक्तित्वहरूलाई समेत विशेष सम्मान गरिएको थियो ।
श्री जनकलाल श्रेष्ठ, प्रोप्राइटर, श्रीदेवी ट्रेड एण्ड सप्लायर्स, मेलम्चीलाई आधारभूत तहका विद्यार्थीहरूका लागि ट्रयाकसुट सहयोग गरी योगदान पु¥याए बापत सम्मान गरियो ।
डा. गङ्गादत्त नेपाल, अध्यक्ष, बिनोद नेपाल फाउन्डेसनलाई विद्यालयको प्राविधिक धारमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरी आर्थिकरूपले सबल नहुने विद्यार्थीहरूलाई अवसर सृजना गरेबापत सम्मान प्रदान गरिएको थियो ।
पूर्वशिक्षक तथा पूर्वविद्यालय नर्सलाई बिदाइ–सम्मान
दीर्घकालीन शिक्षण सेवाबाट योगदान पु¥याई अनिवार्य अवकाश प्राप्त गर्नुभएकी श्रीमती कमलाकुमारी नेपाल (चालिसे) लाई शिक्षण सेवामा करिब चार दशक लामो समर्पित योगदानका लागि सम्मान–पत्र प्रदान गरिएको थियो ।
त्यस्तै, विद्यालय नर्सका रूपमा सेवा पुर्याई हाल प्रदेश लोक सेवा आयोगबाट नेपाल नर्सिङ सेवा चौथो तह (अनमी) पदमा सिफारिस भई पेशागत उन्नति हासिल गर्नुभएकी मनिषा भण्डारीलाई समेत बिदाइ–सम्मान गरिएको थियो ।
विद्यालयका तर्फबाट शुभकामना
विद्यालयका प्रमुख तथा संयोजकहरूले सम्मानित शिक्षक, सहयोगी तथा कर्मचारीहरूलाई हार्दिक शुभकामना दिँदै विद्यालयको चौतर्फी विकासका लागि निरन्तर सहयोग र साथको अपेक्षा व्यक्त गरे ।
कार्यक्रमको अन्त्यमा सम्मान प्राप्त सबै व्यक्तित्वहरूलाई विद्यालय परिवारको तर्फबाट सुस्वास्थ्य, दीर्घायु र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको थियो । यी सम्मानहरूले विद्यालय र समुदायबीचको सम्बन्ध अझ सुदृढ बनाउने विश्वास गरिएको छ ।
