बनेपा । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ८ मा रहेको ज्योति एकेडेमी इङ्गलिस स्कुलले एसईई–२०८१ उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा बिदाई गरेको छ ।
शुक्रबार सिन्धुपाल्चोकको सुकुटेबीच रिसोर्टमा आयोजित एक कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । गतवर्ष एसईई उत्तीर्ण २७ जना विद्यार्थीलाई सम्मान र बिदाई गरिएको विद्यालयका संचालक महेन्द्र विष्टले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी प्याब्सन काभ्रेका अध्यक्ष श्यामकुमार भुजेललगायतले उनीहरुलाई सम्मान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी भुजेलले विद्यार्थीहरुको उज्ववल भविष्यको कामना गर्नुभयो । उहाँले ज्योति एकेडेमीका विद्यार्थी बनेपामा मात्र नभएर जिल्लामै अब्बल रहेकाले आगामी दिनमा पनि यो साखलाई जोगाएर अघि बढ्न विद्यालय प्रशासनलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा संचालक विष्टले विद्यालयले गर्नुपर्ने थप कामहरुका बारेमा सल्लाह सुझाव दिन र ती सल्लाह अनुसार अघि बढ्न आफूहरु सधैं तयार रहेको बताउनुभयो । कार्यक्रममा अतिथि काभ्रे प्याब्सनका सल्लाहकार छविरमण पराजुली, सुविन मानन्धर, रामसुन्दर भट्टराईलगायतको उपस्थिती रहेको थियो । कार्यक्रम विद्यालयका संचालक एवं अध्यक्ष त्रिरत्न मानन्धरको सभापतित्वमा सम्पन्न भएको थियो ।
यसैबीच विद्यालयले विद्यार्थीहरूको दैनिक क्रियाकलापको जानकारी लिन तथा विद्यालयबाट सुधार गर्नुपर्ने पक्षहरूको पहिचान गरी समाधान खोज्ने उद्देश्यले घरदैलो कार्यक्रम पनि गरिरहेको छ । यस कार्यक्रममार्फत अभिभावकहरूसँग प्रत्यक्ष संवाद गर्दै विद्यार्थीहरूको अध्ययन अवस्था, व्यवहार, अनुशासन, रुची र चुनौतीहरूबारे विस्तृत छलफल गरिएको थियो । साथै, विद्यालयको शैक्षिक वातावरण अझ प्रभावकारी र गुणस्तरीय बनाउन आवश्यक सुझावहरू समेत संकलन गरिएको थियो । विद्यालयले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रममार्फत विद्यालय र अभिभावकबीचको सम्बन्ध अझ सुदृढ बनाउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।
