सिन्धुपाल्चोक । बालसुधार माध्यमिक विद्यालयको ६८औं वार्षिकोत्सव तथा २६औं अभिभावक दिवस सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाका कार्यबाहक प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि उमा प्रधानले विद्यालयमा शिक्षाको गुणस्तर सुधारोन्मुख रहेको बताउनुभयो । विद्यालयलाई हराभरा बनाउनका लागि सबै नागरिक जिम्मेवार रहेकाले एकजुट भएर अगाडि बढ्नुपर्ने बताउँदै उहाँले विद्यालयको निर्माणाधीन भवन नगरपालिकाले पूरा गर्ने दाबी गर्नुभयो ।
विद्यालयको खेल मैदान निर्माणका लागि नगरपालिकाले सहयोग गर्ने बताउँदै उहाँले दुवाचौर भलिबलको उर्वर भूमि रहेकाले भलिबलसँगै अन्य खेलकुदका कार्यक्रम पनि अगाडि बढाउन आग्रह गर्नुभयो ।
कार्यक्रमका विशेष अतिथि मेलम्ची नगरपालिका वडानम्बर ७ का वडा अध्यक्ष पासाङ दोङले विद्यालयको वार्षिकोत्सवसँगै अभिभावक सम्मेलन भएपनि विद्यालयमा अभिभावकको चासो चिन्ता र उपस्थिती नहुनु चिन्ताको विषय बनेको बताउनुभयो । उहाँले विद्यालयमा शिक्षा सुधारका लागि वडा शिक्षा समिति, शिक्षक, अभिभावक विद्यार्थी सबै मिलेर महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले आफ्नो बालबालिकाको भविष्य सुन्दर बनाउन अभिभावकले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नवराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद श्रेष्ठले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमलाई स्थानीय कलाकार धर्मराज गिरि, विद्यालयका विद्यार्थीहरुको प्रस्तुतीले मनोरञ्जन प्रदान गरेको थियो । कार्यक्रमको अवसरमा शैक्षिक गुणस्तरमा अभिभावकको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितासमेत गरिएको थियो ।
