ज्ञानमणि नेपाल कालोटोपी
काभ्रे । बजारभन्दा अलि पर, शान्त ठाउँ, रमाइलो पनि उस्तै । वरिपरि गाई, भैंसी र बाख्रा पालन । यो दृष्य देख्दा कुनै व्यवसायिक पशुपालक किसानको सुधारिएको पशुफार्म झैं लाग्ने । तर यो पशुफार्म कुनै किसानको भने होइन । यो त काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर–४ मा रहेको सामुदायिक विद्यालय जनक माविको पशुविज्ञान प्रयोगशालाको रुपमा रहेको पशुफार्म हो । यहाँ अहिले सानाठूला गरि १६ वटा गाई र भैंसीहरु तथा २२ वटा बाख्राहरु पालिएका छन् ।
०७६ सालमा यस विद्यालयमा पशुविज्ञानसम्बन्धी पढाइ शुरु भएको हो । पहिलेपहिले निमावि तहदेखि नै पूर्वव्यवसायिक शिक्षा पढाइ हुन्थ्यो । सँगै मावि तहमा कृषि विषय पढाइ हुन्थ्यो तर यी विषयहरु विस्थापित भए । त्यसको ठाउँमा लेखा तथा शिक्षा लगायतका विषय राखियो । त्यसपछि कृषिसँग सम्बन्धित विषयहरु ओझेलमा परे । तर जनक माविले भने यसलाई निरन्तरता दिएको छ । पशुविज्ञान मात्र होइन, यहाँ कृषिसँग सम्बन्धित विषय पनि पढाइ हुन्छ । विद्यालयले ८ रोपनी जग्गा पनि भाडामा लिएको छ । त्यस जग्गामा मौसम अनुसारका बालीहरु लगाइन्छ । ती बालीहरुका विषयमा विद्यार्थीहरुलाई जानकारी दिइन्छ ।
‘विद्यार्थीहरुलाई सैद्धान्तिक शिक्षा मात्र दिएर हुँदैन, व्यवहारिक ज्ञान पनि उतिकै चाहिन्छ । शहर बजारमा दूध कहाँबाट आउँछ भनेर सोध्यो भने केहीले प्याकेटबाट भन्छन् । केहीले गाईभैंसीले दिन्छ त भन्लान् तर उनीहरुले दूध कसरी दूहिन्छ भन्ने प्रश्नको सही जवाफ दिन गाह्रो हुन्छ, किनकी उनीहरुले दूध दोहेको देखेकै छैन । त्यसैले हामीले सैद्धान्तिक, घोकन्ते शिक्षालाई व्यवहारिक बनाउनका लागि यसरी पशुपालन गरेका हौं । यहाँ पढेका विद्यार्थीहरुले विद्यालय छोडेपछि पनि काम पाउनका लागि कतै धाउनु पर्दैन । हामीले केही न केही सीप सिकाएर पठाउँछौं ।’ विद्यालयका संयोजक हरिहर अधिकारी भन्छन् ।
यसवर्ष भाडामा लिएको जग्गाबाट ५० मुरी धान उत्पादन भएको थियो । अहिले त्यो ठाउँमा आलु खेती गरिएको छ । त्यहाँबाट आउने पराललगायतका घाँसहरु पशुहरुलाई खुवाइन्छ । उत्पादित दूधबाट सानासाना नानीबाबुहरुलाई दिवा खाजाको रुपमा दूध, दहीबाट परिकार बनाइन्छ । बढी भएको दूध बेचेर विद्यालयको आम्दानीको रुपमा राखिन्छ र काम गर्ने सहयोगीलाई पनि त्यही कोषबाट उपलब्ध गराउने विद्यालयका प्रधानाध्यापक प्रदीप पोखरेलले बताए । विद्यालयमा पशुपालन र पढ्दै कमाउँदै कार्यक्रम धेरै नै प्रभावकारी देखिएको उनको भनाइ छ ।
वरिपरिका सामुदायिक विद्यालयहरुमा विद्यार्थीको संख्या निकै कम छ तर यी कार्यक्रमले गर्दा जनक माविमा विद्यार्थीहरुको अभाव छैन । अहिले यहाँ कक्षा १ देखि १२ सम्म १ हजार १५६ विद्यार्थी अध्ययनरत छन् । उनीहरु यस विद्यालयको वातावरणप्रति निकै नै खुशी देखिएका छन् । ‘हामीले यहाँबाट पढ्दै सिक्दै गर्न पाएका छौं ।’ कक्षा ८ का विद्यार्थी अंकित काफ्ले भन्छन् ।
यहाँ पालिएका बाख्राहरु विद्यार्थीलाई ६ महिनाका लागि दिने र त्यसले जन्माएका पाठापाठीहरु मध्ये एउटा विद्यालयलाई बुझाएपछि माउ भने विद्यार्थीले नै लिन पाउने व्यवस्था छ । यस्तै गाईवस्तुहरु भने आवश्यकता अनुसार बिक्री पनि गरिन्छ । यी पशुहरुको हेरचाह गर्न हेरालुहरु पनि राखिएको छ भने पशु चिकित्सकहरु पनि राखिएको छ । यी सबै विषयहरुमा विद्यार्थीहरुले व्यवहारिक सीप पनि सिक्न पाएका छन् ।
६५ रोपनी क्षेत्रफलमा फैलिएको विद्यालय परिसरमा पुष्पखेती पनि गरिएको छ । यसले पनि विद्यालयको आम्दानी केही बृद्धि भएको छ । विद्यालयमा आवासीय व्यवस्था पनि छ । जहाँ हाल ६० जना विद्यार्थी बस्छन् । काभ्रे जिल्लाका अतिरिक्त बाहिरी जिल्लाका ३० विद्यार्थीहरु यहाँ अध्ययनरत छन् । आगामी वैशाखबाट माछापालन पनि गरिने तयारी रहेको शिक्षक एवं विद्यालयका संयोजक हरिहर अधिकारी बताउँछन् । उनले दिएको जानकारी अनुसार मौरीपालनको पनि शुरुवात गरिएको भए पनि यो भने त्यति धेरै सफल हुन सकेको छैन ।
विसं २०२९ सालमा स्थापना भएको यस विद्यालयमा ०४० सालदेखि मावि तहको पढाइ शुरु भयो भने ०४१ सालदेखि एसएलसी शुरु भएको थियो । हाल यहाँ नेपाली र अंग्रेजी दुवै माध्यमबाट अध्यापन भइरहेको छ । नृत्य र खेलकुदका छुट्टै कक्षा संचालनमा छन् भने सूचना प्रविधि प्रयोगशाला पनि संचालन भएको छ । सबै कक्षाकोठामा इन्टरनेट सुविधा छ भने सुविधासम्पन्न कक्षाकोठा रहेका छन् । यहाँ ०६६ सालदेखि स्नातक तहसम्मको पनि पढाइ संचालन भइरहेको छ ।
हाल संचालन भइरहेको पढ्दै कमाउँदै कार्यक्रमका लागि विद्यालयले जनक उद्यम कोष खडा गरेको छ । यहाँ २२ लाख ५० हजारको अक्षयकोषबाट २ प्रतिशत ब्याजमा एक जना विद्यार्थी बराबर ५० हजारसम्मको ऋण दिइने गरिएको प्रधानाध्यापक पोखरेल बताउँछन् । उनका अनुसार यसरी ऋण लिने विद्यार्थीको संख्या यहाँ ९ जना रहेको छ । यसबाट केहीले कालिज पालन गरिरहेका छन् । यसरी लिएको ऋण भने एक वर्षमा फिर्ता गर्नुपर्ने पनि उनले जानकारी दिए ।
विद्यालयमा हाल इजरायल सरकारको आर्थिक सहयोग र काठमाडौं विश्वविद्यालयको समन्वयमा पाइलट प्रोजेक्ट संचालनको तयारीमा छ । जसबाट विद्यालयमा उत्पादन भएको फोहोरलाई प्रशोधन गरिने र यहाँबाट आएको मललाई खेतबारीमा प्रयोग गरिने गरि काम अघि बढेको छ । नेपाल टेलिकमको सहयोगमा एक वर्षदेखि १२ वटा कम्प्युटरसहितको ई–लाइब्रेरी पनि संचालनमा छ । यसले विद्यालयलाई प्रविधिमैत्री बनाउन थप सहयोग गरेको छ । ‘सामुदायिक विद्यालय भन्ने बितिकै धेरैले नाक खुम्च्याउँछन् तर जनक माविको नाम सुन्ने बितिकै त्यो भ्रम टुट्छ । जिल्लामै नमुना बनेको छ र बनाउँदैछ विद्यालयले ।’ –अभिभावकहरु पनि यसै भन्छन् ।
दुई विद्यालयबीच भगिनी सम्बन्ध कायम
काभ्रेका दुई सामुदायिक विद्यालयले भगिनी सम्बन्ध कायम गरेका छन् । मण्डनदेउपुर नगरपालिका वडा नम्बर ९ को डेडीथुम्का मावि र नमोबुद्ध नगरपालिका वडा नम्बर ४ मा रहेको जनक माविबीच भगिनी (मितेरी) सम्बन्ध कायम भएको हो । फागुन पहिलो हप्ता भकुण्डेवेँसीस्थित जनक मावि परिसरमा आयोजित एक कार्यक्रमबीच दुई विद्यालयले सम्बन्ध स्थापित गरेका हुन् । डेडीथुम्का माविका प्रधानाध्यापक शिवकुमार पौडेल र जनक माविका प्रधानाध्यापक प्रदीप पोखरेलले दुवै विद्यालयका विविध क्रियाकलाप, शैक्षिक गतिविधि तथा सीप आदान प्रदानका लागि सहमतिसहित मितेरी सम्बन्ध कायम भएको जानकारी दिए ।
भगिनी सम्बन्ध कायम राख्नका लागि डेडीथुम्का माविका शिक्षक शिक्षिका, विद्यार्थी तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु जनक मावि पुगेका थिए । सो अवसरमा दुई विद्यालयका झण्डाहरु पनि आदानप्रदान गरिएको थियो । साथै विशेष कार्यक्रमसहित साँस्कृतिक, झाँकी तथा नाटकहरु पनि प्रदर्शन गरिएको थियो । यो सम्बन्धले दुवै विद्यालयका शैक्षिक व्यवस्थापन, नेतृत्व विकास तथा अन्य विषयहरुमा पनि सुधार हुने अपेक्षा गरिएको छ ।
दुई विद्यालयमा भएका र हुनसक्ने विभिन्न अनुभव, सीप, अतिरिक्त क्रियाकलाप र अन्य सिकाईहरु आदान प्रदान गर्ने गरि गरिएको मितेरी सम्बन्ध स्थापना जिल्लामै नयाँ भएको कार्यक्रममा जानकारी दिइएको छ । जनक मावि विसं. २०२९ सालमा स्थापित भएको सामुदायिक विद्यालय हो भने डेडीथुक्का मावि विसं. २०१६ सालमा स्थापना भएको हो । हाल जनक माविमा १ हजार १५६ र डेडीथुम्कामा करिब ४ सय विद्यार्थी अध्ययनरत छन् । दुवै माविले हजारौं शैक्षिक जनशक्ति उत्पादन गरिसकेका छन् ।

