काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर–४ मा रहेको सामुदायिक विद्यालय जनक माविमा पशुविज्ञान र पढ्दै कमाउँदै कार्यक्रम निकै प्रभावकारी बनेको छ । यहाँ अहिले सानाठूला गरि १६ वटा गाई र भैंसीहरु तथा २२ वटा बाख्राहरु पालिएका छन् ।
०७६ सालमा यस विद्यालयमा पशुविज्ञानसम्बन्धी पढाइ शुरु भएको हो । पहिलेपहिले निमावि तहदेखि नै पूर्वव्यवसायिक शिक्षा पढाइ हुन्थ्यो । सँगै मावि तहमा कृषि विषय पढाइ हुन्थ्यो तर यी विषयहरु विस्थापित भए । त्यसको ठाउँमा लेखा तथा शिक्षा लगायतका विषय राखियो । त्यसपछि कृषिसँग सम्बन्धित विषयहरु ओझेलमा परे । तर जनक माविले भने यसलाई निरन्तरता दिएको छ । पशुविज्ञान मात्र होइन, यहाँ कृषिसँग सम्बन्धित विषय पनि पढाइ हुन्छ । विद्यालयले ८ रोपनी जग्गा पनि भाडामा लिएको छ । त्यस जग्गामा मौसम अनुसारका बालीहरु लगाइन्छ । ती बालीहरुका विषयमा विद्यार्थीहरुलाई जानकारी दिइन्छ ।
यसवर्ष भाडामा लिएको जग्गाबाट ५० मुरी धान उत्पादन भएको थियो । अहिले त्यो ठाउँमा आलु खेती गरिएको छ । त्यहाँबाट आउने पराललगायतका घाँसहरु पशुहरुलाई खुवाइन्छ । उत्पादित दूधबाट सानासाना नानीबाबुहरुलाई दिवा खाजाको रुपमा दूध, दहीका परिकार बनाइन्छ । बढी भएको दूध बेचेर विद्यालयको आम्दानीको रुपमा राखिन्छ र काम गर्ने सहयोगीलाई पनि त्यही कोषबाट उपलब्ध गराउने विद्यालयका प्रधानाध्यापक प्रदीप पोखरेलले बताए । विद्यालयमा पशुपालन र पढ्दै कमाउँदै कार्यक्रम धेरै नै प्रभावकारी देखिएको उनको भनाइ छ ।
वरिपरिका सामुदायिक विद्यालयहरुमा विद्यार्थीको संख्या निकै कम छ तर यी कार्यक्रमले गर्दा जनक माविमा विद्यार्थीहरुको अभाव छैन । अहिले यहाँ कक्षा १ देखि १२ सम्म १ हजार १५६ विद्यार्थी अध्ययनरत छन् । उनीहरु यस विद्यालयको वातावरणप्रति निकै नै खुशी देखिएका छन् ।
यहाँ पालिएका बाख्राहरु विद्यार्थीलाई ६ महिनाका लागि दिने र त्यसले जन्माएका पाठापाठीहरु मध्ये एउटा विद्यालयलाई बुझाएपछि माउ भने विद्यार्थीले नै लिन पाउने व्यवस्था छ । यस्तै गाईवस्तुहरु भने आवश्यकता अनुसार बिक्री पनि गरिन्छ । यी पशुहरुको हेरचाह गर्न हेरालुहरु पनि राखिएको छ भने पशु चिकित्सकहरु पनि राखिएको छ । यी सबै विषयहरुमा विद्यार्थीहरुले व्यवहारिक सीप पनि सिक्न पाएका छन् ।
६५ रोपनी क्षेत्रफलमा फैलिएको विद्यालय परिसरमा पुष्पखेती पनि गरिएको छ । यसले पनि विद्यालयको आम्दानी केही बृद्धि भएको छ । विद्यालयमा आवासीय व्यवस्था पनि छ । जहाँ हाल ६० जना विद्यार्थी बस्छन् । काभ्रे जिल्लाका अतिरिक्त बाहिरी जिल्लाका ३० विद्यार्थीहरु यहाँ अध्ययनरत छन् । आगामी वैशाखबाट माछापालन पनि गरिने तयारी रहेको शिक्षक एवं विद्यालयका संयोजक हरिहर अधिकारी बताउँछन् ।
यसरी गरे जे पनि सम्भव छ भन्ने कुरा जनक माविबाट सिक्न सकिन्छ । अब समय अनुसार सबैखाले शिक्षा विद्यार्थीका लागि आवश्यक छ । यसबाट पाठ सिकेर समयअनुकूल अध्यापन गराउन सके नेपालमा उत्पादित शैक्षिक जनशक्ति कामका लागि विदेशीनु पर्दैन । यसतर्फ ध्यान दिनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *