चैत वैशाखको यो मौसम आगलागी र डढेलोको मौसम हो । यो समयमा हरेक वर्ष आगलागीका घटना बढ्दै आएका छन् । गत वैशाखदेखि यता फागुनसम्म देशभर तीन हजार ३३९ आगलागीका घटना हुँदा ९८ जनाको ज्यान गएको छ ।
यता काभ्रेमा पनि पछिल्ला केही वर्ष यता वनजंगल डढेलोका घटना बढ्न थालेका छन् । गत वर्ष यसबारे जनचेतना जगाउन र वन डढेलो व्यवस्थापनसम्बन्धी तालिम जिल्ला सदरमुकाम धुलिखेलमा भएको थियो । यो वर्ष पनि यस्तो तालिमको जरुरी देखिन्छ । केन्द्रीयस्तरदेखि वडा तहसम्म विपद् व्यवस्थापन संयन्त्र रहेका भए पनि ती त्यति सक्रिय भएका पाइँदैनन् । स्थानीय सरकारले विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाउनुपर्नेमा सरोकारवालाहरुको जोड छ ।
काभ्रे जिल्लामा पछिल्ला केही वर्ष यता वन डढेलाबाट हुने क्षति बढ्दै गएको छ । गत आर्थिक वर्षमा आगलागीका ८६ घटना भएका थिए । जसमा आगलागीका परेर एक जनाको ज्यान गएको थियो भने ५ जना घाइते भएका थिए । यस्तै १५ वटा चौपाया मरेका थिए । पक्कीसहित २८ घर र २२ गोठमा क्षति पुगेको थियो ।
यस्तै आर्थिक वर्ष ०८०/०८१ मा २२२ वटा आगलागीका घटना भएका थिए । जसमा दुई जनाको मृत्यु भएको थियो । ८ जना घाइते भएका थिए । ८५ चौपाया मरेका थिए भने १७ जना घाइते भए । ९२ घर र ४५ गोठमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । सो वर्ष कूल ५२५ रोपनी क्षेत्रफलमा आगलागी भएको थियो । सो वर्ष वनमा डढेलो लगाउने कार्यमा संलग्न ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जसमा ५ जनामाथि मुद्दा चलाइएको र एक जना थुनामा छन् ।
जिल्लामा हाल भइरहेका डढेलोका घटनामा ९० प्रतिशत मानवीय संलग्नता रहेको र त्यसमा पनि ६५ प्रतिशत जानीजानी आगो लगाइएको पाइएको छ । यस्ता घटनामा संलग्नको सूचना दिने व्यक्तिलाई पुरस्कार र दोषीलाई कारबाही पनि हुने गरेको छ । तर पनि डढेलोका घटनामा कमी आउन नसकेको तथ्यांक छ ।
सबै क्षेत्रका नागरिकबाट निगरानी राख्नुपर्ने र सचेतना कार्यक्रम पनि संचालनको जरुरत परेका कारण पछिल्लो पटक धेरै डढेलोका घटना हुने क्षेत्रका व्यवस्थापनमा सक्रिय जनशक्तिलाई गत वर्ष डढेलो व्यवस्थापनसम्बन्धी तालिम दिइएको डिभिजन वन कार्यालयले जनाएको छ । यस्ता तालिमबाट वन डढेलोलाई केही हदसम्म भए पनि कम गराउन सकिने कार्यालयले अपेक्षा लिएको छ । यस वर्ष पनि यसतर्फ विशेष ध्यान दिनु आवश्यक देखिन्छ ।
