धुलिखेल। काठमाडौँ विश्वविद्यालयले शनिबार विभिन्न सङ्कायका एक हजार दुई सय ५६ जना विद्यार्थी दीक्षित गरेकाे छ। विश्वविद्यालयले आफ्नो ३० औं दीक्षान्त समारोह मनाउँदै साे संख्यामा विद्यार्थीहरु दीक्षित गरेकाे हाे।
देशको तेस्रो विश्वविद्यालयका रूपमा रहेकाे काठमाडौँ विश्वविद्यालय सन् १९९१ मा स्थापना भएको हो । शनिबार दीक्षित भएका १ हजार २५६ विद्यार्थी दीक्षितसहित साे विश्वविद्यालयका स्नातकहरूको सङ्ख्या ४६ हजार ६९३ पुगेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालय शिक्षाको मन्दिर र ज्ञानको आधार भएकाे बताउनुभएकाे छ। आज काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको ३०औँ दीक्षान्त समारोह (पहिलो चरण)लाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
रोजगारी खोज्ने शिक्षा नभई रोजगारी सिर्जना गर्ने आत्मनिर्भरतामा आधारित शिक्षा दिने ढङ्गले सरकार अघि बढ्ने बताउनुभयाे । उहाँले व्यवहारत असाधारण सीमामुक्त शिक्षालाई जीवनभर ग्रहण गरिरहनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले शिक्षाका माध्यमबाट मुलुक आत्मनिर्भरतातर्फ अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयाे । उहाँले भन्नुभयो, “सर्टिफकेट रोजगारीको एउटा आधार हो, दक्ष नागरिक हुन आचरण, व्यवहार, म्यानर र बोलीचालीले निर्धारण गर्छ ।” प्रमाणपत्रले मात्रै दक्ष पनि नहुने भएकाले कस्तो नागरिक हो भन्ने विषय चरित्र र नैतिकताले प्रष्ट्याउने उहाँले बताउनुभयो ।
कार्यक्रममा भारतको पटनास्थित इन्डियन इन्स्टिच्यूट अफ टेक्नोलोजीका निर्देशक प्रोफेसर त्रिलोकनाथ सिंहले नेपाल–भारतको इतिहास र भूगोलमा असाधारण सम्बन्ध रहेकाले व्यापार, शिक्षा र अनुसन्धानका क्षेत्रमा भएको पारस्परिक सम्बन्ध र नवप्रवर्तनका क्षेत्रमा दुई देशको साझेदारीले साझा प्रगति र दीगो विकासका मार्ग प्रशस्त गरेको बताउनुभयो । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं केयूको सहकुलपति विद्या भट्टराईको उपस्थिती रहेको थियो ।
