काभ्रे । विश्व हिन्दु महासंघ धुलिखेल नगर समितिद्वारा शनिबार शंखनाद प्रतियोगिताको आयोजना गरियो ।
प्रतियोगितामा २० जनाले सहभागी हुन नाम टिपाएकामा १५ जनाले भाग लिएका थिए । जसमा नैनिसारन्य गुरुकुलका नवीन घिमिरे प्रथम भए भने काभ्रेको बडालगाउँका रामहरि बडाल दोस्रो भएका छन् । राजेशप्रसाद बडाल तेस्रो हुँदा समिर पराजुलीले सान्त्वना पुरस्कार पाए ।
पुरस्कृतहरुलाई विश्व हिन्दु महासंघ, सनातन हिन्दु राष्ट्र अभियान नेपालका संयोजक एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी, विश्व हिन्दु महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष उद्वव नेपाललगायतले प्रमाणपत्र र नगदसहित पुरस्कार वितरण गरे । कार्यक्रममा प्रतिनिधिसभाका सांसदसमेत रहेका नेता भण्डारीले केही सिमित नेताहरुका स्वार्थका कारण देश बिग्रिएको बताए । उनले पार्टीभन्दा देश कहिल्यै पनि सानो नहुने भएकाले पहिले देश बचाउन अनि मात्र पार्टी बचाउनु पर्नेमा अबको पुस्ता र नयाँ नेताहरुले ध्यान दिनुपर्ने बताए ।
नेता भण्डारीले विश्वमा सनातन धर्म नमान्ने देशहरु आर्थिकरुपमा पछि परेको दाबी गर्दै नेपाल पनि त्यही बाटोमा जाने त होइन भन्दै चिन्ता व्यक्त गरे । कार्यक्रममा उपाध्यक्ष उद्वव नेपालले २०३८ सालमा स्थापना भएको विश्व हिन्दु महासंघले अहिले ७७ वटै देशमा आफ्ना कार्यक्रमहरु संचालन गरिरहेको र काभ्रेका १३ मध्ये ९ पालिकामा शाखाहरु रहेको जानकारी दिए । जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतमले दुई ठूला दलहरु मिलेर बनेको अहिलेको सरकारले संविधान संशोधन गर्ने भनिएकोप्रति लक्षित गर्दै संशोधनको मूख्य एजेन्डा हिन्दु राष्ट्र घोषणा हुनुपर्ने बताए । धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगम, विश्व हिन्दु महासंघका प्रशिक्षण विभाग प्रमुख भरतराज पौडेल, गायक रामहरि न्यौपानेगायतले कार्यक्रममा शुभकामना व्यक्त गरेका थिए । गोपी बडाल सभापति रहेको कार्यक्रम संचारकर्मी सुनिता सापकोटाले संचालन गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *