काभ्रे । पत्रकार महासंघ जिल्ला शाखा काभ्रेपलाञ्चोकले नयाँ नेतृत्व पाएको छ । मंसिर २८ गते भएको निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको हो । अध्यक्षमा विनोदकुमार न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । उनी पत्रकार महासंघ काभ्रेका निवर्तमान उपाध्यक्ष हुन् । पत्रकार महासंघ काभ्रेको कार्यसमितिमा ५ जना, प्रदेश परिषद् सदस्यमा ६ जना र केन्द्रीय परिषद् सदस्यमा २ जनासहित १३ जना निर्बिरोध निर्वाचित भए ।
अध्यक्षमा न्यौपाने, महिला उपाध्यक्षमा सम्झना गौतम, सचिवमा नगेन्द्र अधिकारी, महिला सदस्यमा सविता न्यौपाने र आदीवासी जनजाती सदस्यमा चमारसिंह लामा निर्विरोध निर्वाचित भए । यस्तै प्रदेश परिषद सदस्यमा भरत अधिकारी, राज्यलक्ष्मी श्रेष्ठ, जानुका खदाल, प्रशान्त श्रेष्ठ, शुकदेव थपलिया र रामहरी श्रेष्ठ पनि निर्विरोध निर्वाचित भए । यस्तै केन्द्रीय परिषद् सदस्यका लागि महिलातर्फ सम्झना हुमागार्इं र समावेशीमा रामचन्द्र दनुवारको मात्रै उम्मेदवारी परेको थियो । खुल्ला एक पदका लागि प्रदीप केसी बञ्जारा र प्रल्हाद शर्मा हुमागार्इंबीच प्रतिस्पर्धा भएकोमा केसी निर्वाचित भए ।
पत्रकार महासंघ काभ्रेको उपाध्यक्षमा प्रेस युनियन र प्रेस चौताारीेका साझा उम्मेदवार कपिल कोइराला र प्रेस सेन्टरबाट रामकृष्ण बञ्जाराको उम्मेदवारी परेकोमा कोइराला विजयी भए । सह–सचिव (समावेशी) मा प्रेस युनियन र प्रेस चौतारीका साझा उम्मेदवार निरञ्जुल कायस्थ र प्रेस सेन्टरबाट सुरज श्रेष्ठको उम्मेदवारी परेको थियो । जसमा कायस्थ विजयी भए । सह–सचिव (खुल्ला) तर्फ एक पदका लागि प्रेस युनियन र प्रेस चौचारीका साझा उम्मेदवार देवराज केसी र प्रेस सेन्टरबाट रोजन तामाङको उम्मेदवारी परेकोमा केसीले जीत हात पारे । कोषाध्यक्षमा केशवराज पौडेल र शिखर चिमौरीयाबीच प्रतिस्पर्धा भएकोमा पौडेल विजयी भए ।
सदस्यमा ७ पदका लागि ९ जनाको उम्मेदवारी परेको थियो । जसमा मोहनकृष्ण तिमल्सिना, पुरुषोत्तम ढकाल, ज्ञानमणि नेपाल कालोटोपी, प्रकाश दाहाल, शिवप्रसाद पन्त, रन्जित बोहरा, विकास तिमल्सिना, शरणप्रसाद हुमागाईं र रोशन तिमल्सिनाले उम्मेदवारी दिएका थिए । जसमा प्रकाश दाहाल र शिवप्रसाद पन्त बाहेकका उम्मेद्वारले जीत हात पारे । पत्रकार महासंघको नयाँ नेतृत्वका लागि प्रेस युनियन र प्रेस चौतारी नेपालबीच भागबण्डा भएको थियो । काभ्रेमा अध्यक्ष, उपाध्यक्ष (महिला) र कोषाध्यक्ष प्रेस चौतारीको भागमा परेको थियो । यस्तै उपाध्यक्ष (पुरुष), सचिव, सह–सचिव समावेशी र खुल्ला प्रेस युनियनको भागमा परेको थियो ।
सहसम्पादक कालोटोपीलाई लोकप्रिय मत
पत्रकार महासंघको निर्वाचनमा मध्यमार्ग साप्ताहिकका सहसम्पादक ज्ञानमणि नेपाल कालोटोपी सबैभन्दा बढी मत ल्याएर विजयी भए । कूल ९२ सदस्य रहेको काभ्रे शाखामा ८२ मत खसेको थियो । जसमा उनले ७१ मत अर्थात ८६ प्रतिशत मत पाए । जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित कालोटोपी विगत २१ वर्षदेखि पत्रकारितामा आवद्ध छन् । उनी ०६४ सालदेखि महासंघमा आबद्ध भएका हुन् । विभिन्न समयमा जिल्लाका अतिरिक्त उनी केन्द्रमा रहेर पनि लामो समय पत्रकारितामा संलग्न छन् । यस्तै मध्यमार्गका सम्पादक प्रदीप केसी बञ्जारा ५४ मत ल्याएर केन्द्रीय परिषद् सदस्यमा निर्वाचित भए ।
पत्रकार महासंघ काभ्रेको नवनिर्वाचित कार्यसमितिको पदस्थापन सम्पन्न
यसैबीच नेपाल पत्रकार महासंघ काभ्रे शाखाको नव निर्वाचित कार्यसमितिको मंगलबार पदस्थापन गरिएको छ ।
मंशिर २८ गते सम्पन्न महासंघको निर्वाचनबाट निर्वाचित बिनोदकुमार न्यौपाने नेतृत्वको कार्यसमिति, केन्द्रीय परिषद् सदस्य र प्रदेश परिषद् सदस्यको पदस्थापन गरिएको हो ।
कार्यक्रममा निर्वाचन समितिले निर्वाचित कार्य समितिका पदाधिकारी, सदस्य, प्रदेश परिषद् र केन्द्रीय परिषद् सदस्यलाई प्रमाण पत्र वितरण गरेको थियो । त्यस लगत्तै निर्वतमान अध्यक्ष बद्रीराज तिमल्सिनाले नवनिर्वाचित अध्यक्ष बिनोदकुमार न्यौपानेलाई पदभार हस्तान्तरण गरे । कार्यक्रममा निर्वतमान सचिव कपिल कोइरालाले निर्णय पुस्तिका नवनिर्वाचित सचिव नगेन्द्र अधिकारीलाई हस्तान्तरण गरे । यस्तै निवर्तमान कोषाध्यक्ष केदार तिमल्सिनाले नवनिर्वाचित कोषाध्यक्ष केशवराज पौडेललाई कोष तथा खातापाता हस्तान्तरण गरेका थिए ।
पदस्थापन समारोहका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ काभ्रेका संस्थापक सदस्य तथा संघीय सांसद गोकुल बाँस्कोटाले प्रेस स्वतन्त्रताको नाममा विकृति बढेको भन्दै जवाफदेही पत्रकारिता गर्न आग्रह गरे । महासंघका कार्यबाहक अध्यक्ष बाला अधिकारीले ठूलो चुनौतीका बीच केन्द्रीय निर्वाचन सम्पन्न भएको बताइन् । विघटनको संघारमा पुगेको महासंघलाई बचाउन राष्ट्रिय भेलाको म्यान्डेट अनुसार नै सबैको पहलमा महासङ्घमा देखिएका समस्या समाधान गर्न सफल भएको अध्यक्ष अधिकारीले बताइन् ।
कार्यक्रममा प्रदेशसभा सदस्य तीर्थ लामा र रत्न ढकाल, प्रजिअ उमेशकुमार ढकाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । पदस्थापन कार्यक्रम पत्रकार महासंघका अध्यक्ष न्यौपानेको अध्यक्षता र निवर्तमान सचिव कपिल कोइरालाको सञ्चालनमा सम्पन्न भएको थियो ।
२०४९ पौष २ गते स्थापना भएको नेपाल पत्रकार महासंघ काभ्रे शाखाको स्थापना दिवसको अवसर पारेर नयाँ निर्वाचित समितिले पदस्थापन गरेको हो । सोही अवसरमा निर्वाचितहरुलाई निर्वाचन समितिले प्रमाणपत्र वितरण गरेको थियो ।
निर्वाचन समितिमा संयोजक पूर्वअध्यक्ष भोजराज तिमल्सिना, सदस्यहरु पूर्वअध्यक्ष महेश पौडेल र कानुन ब्यवसायी महेश कुँवर रहेका थिए ।
पत्रकार महासंघमा पहिलो पटक महिला नेतृत्व
नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छिन् । महासङ्घको केन्द्रीय निर्वाचन समितिले गत आइतबार अबेर सार्वजनिक गरेको मतपरिणाम अनुसार शर्माले चार हजार दुई सय ८२ मत प्राप्त गरी निर्वाचित भएकी हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले तीन हजार दुई सय तीन मत प्राप्त गरे । अध्यक्षका अर्का उम्मेदवार देवीप्रसाद सापकोटाले दुई सय ७० र लालसिंह लामाले ९६ मत प्राप्त गरे ।
वरिष्ठ उपाध्यक्षमा दीपक आचार्यले चार हजार दुई सय ३० मत प्राप्त गरी निर्वाचित हुँदा निकतम प्रतिस्पर्धी रोशन पुरीले दुई हजार आठ सय ८६ मत प्राप्त गरे । उपाध्यक्ष महिलामा नितु पण्डितले चार हजार सात सय पाँच मत प्राप्त गरी विजयी हुँदा गङ्गा पौडेल बरालले दुई हजार छ सय ४४ मत प्राप्त गरिन् ।
उपाध्यक्ष समावेशीमा उमिदप्रसाद बागचन्दले चार हजार दुई सय ९२ मत प्राप्त गरी विजयी भए उनका निकतम प्रतिद्वन्द्वी सुभाषप्रसाद साहले दुई हजार ८० मत प्राप्त गरे ।
महासचिवमा रामप्रसाद दाहालले चार हजार ८४ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी लेखनाथ न्यौपानेले एक हजार नौ सय २९ मत प्राप्त गरे । सचिव खुलामा रमेश खतिवडाले तीन हजार चार सय मत प्राप्त गरी जित निकाले भने सचिव महिलामा सोनी शर्माले चार हजार तीन सय ४७ मत प्राप्त गरी विजयी भइन् । त्यस्तै, सचिव आदिवासी जनजातिमा सविन प्रियासनले तीन हजार पाँच सय ३५, सचिव मधेशीमा अशोककुमार तिवारीले तीन हजार आठ सय ५८ मत प्राप्त गरी विजयी भए । सचिव दलिततर्फ प्रकाश धौलाकोटीले चार हजार एक सय १०, सचिव एशोसिएटतर्फ बैकुण्ठराज पराजुलीले तीन हजार छ सय ४५ मत प्राप्त गरी जित हासिल गरे । कोषाध्यक्षतर्फ रामकृष्ण अधिकारीले तीन हजार आठ सय ४७ मत प्राप्त गरी विजयी भए ।
प्रदेशमा कसले जिते ?
कोशी प्रदेशतर्फबाट केन्द्रीय सदस्यमा कमल रिमालले पाँच सय २७ मत र शङ्कर खरेलले चार सय ४२ मत, मधेस प्रदेश सदस्यमा राजु विश्वकर्मा दुई सय ९७ मत र राजेशकुमार कर्णले तीन सय ७६ मत प्राप्त गरी विजयी भए । बागमती (उपत्यका बाहेकका) केन्द्रीय सदस्यमा नवराज पथिकले तीन सय ६८ र नारायणप्रसाद अधिकारीले चार सय ५० मत प्राप्त गरी विजयी हुनुभएको छ ।
गण्डकी प्रदेश सदस्यमा कृष्ण केसी तीन सय ३० मत, केवी रानाले तीन सय ८१ मत प्राप्त गरे भने लुम्बिनी प्रदेश सदस्यमा रामराज पोखरेलले पाँच सय ६० मत र विकास बन्जाडेले चार सय ७३ मत प्राप्त गरी विजयी भए । कर्णाली प्रदेश सदस्यमा तुलाराम पाण्डेले दुई सय ८८ र नगेन्द्रप्रसाद उपाध्यायले तीन सय २१ मत प्राप्त गरी जित निकाले । सुदूरपश्चिम प्रदेश सदस्यमा योगेन्द्रबहादुर बलायरले तीन सय ९७ र सुरेश पन्तले तीन सय मत प्राप्त गरी विजयी भए ।
उपत्यका प्रदेश सदस्यमा अर्जुन पन्तले चार सय ५९ र सूर्य सुवेदीले छ सय ६८ मत प्राप्त गरी विजयी भए ।
प्रतिष्ठान प्रदेशतर्फ वीरेन्द्र ओलीले चार सय र सविता शर्माले चार सय ८७ मत प्राप्त गरी विजयी हुनुभयो । संस्थागत प्रदेश (एशोसिएट) तर्फ पवित्रा मुडभरीले दुई सय नौ र मनुका कुँवरले तीन सय एक मत प्राप्त गरी जित निकाले । खुला सदस्यमा छविलाल तिवारीले तीन हजार चार सय ७०, भूपेन्द्र आचार्यले तीन हजार पाँच सय ८२, मुकुन्दप्रसाद भण्डारीले तीन हजार सात सय २१, रामेश्वर कार्कीले तीन हजार छ सय ३० र लवदेव ढुङ्गानाले तीन हजार आठ सय ३० मत प्राप्त गरी निर्वाचित भए ।
मधेसी महिलातर्फ रुवीकुमारी रौनियारले चार हजार एक सय ८५, आदिवासी जनजाति महिलातर्फ माला पालुङ्वाले तीन हजार सात सय ३७ मत, खस आर्य महिलामा लिला शाह योगीले तीन हजार आठ सय १० मत प्राप्त गर्दा दलित महिलातर्फ भने यसअघि नै रीता बुढाथोकी निर्विरोध निर्वाचित भइन् ।
दलित सदस्यमा सिकेन्द्र पासवानले तीन हजार तीन सय १६ मत प्राप्त गरी विजयी हुँदा दलित सदस्यमा सावित्री रसाइली निर्विरोध निर्वाचित भइन् । आदिवासी जनजाति सदस्यमा भरत जर्घामगरले चार हजार ५० मत प्राप्त गरी विजयी भए भने आदिवासी महिला सदस्यमा देविका घर्तीमगर निर्विरोध निर्वाचित भइन् ।
मधेसी सदस्यमा राजकरण महतोले तीन हजार आठ सय ९३, मधेसी सदस्य महिलामा ललिताकुमारी साहले चार हजार चार सय नौ मत प्राप्त गरी निर्वाचित भए । अपाङ्गता भएका सदस्यमा भूपराज बस्यालले तीन हजार पाँच सय ५७, अल्पसङ्ख्यक सदस्यमा लक्ष्मण थामीले चार हजार तीन सय ७३ मत प्राप्त गरी विजयी भए ।
लेखा समिति संयोजकमा केसी लामिछानेले चार हजार एक सय ९४ मत प्राप्त गरी निर्वाचित हुँदा सोही समितिको सदस्य खुलामा केशवप्रसाद बोहराले चार हजार एक सय २५ र लेखा समिति सदस्य महिलामा रुक्मिणि पोखरेलले चार हजार ८९ मत प्राप्त गरी जित निकालेका थिए ।
