नेपालमा ठूलो लगानी र रोजगारी दिएको अनि सरकारको राजश्वको मुख्य स्रोत मध्ये होटल र पर्यटन क्षेत्रलाई पनि लिन सकिन्छ । तर पछिल्ला केही वर्ष यता यो क्षेत्र पनि सोचेजसरी अघि बढ्न सकेको छैन । लगानी गरेकाहरु जेनतेन चलिरहेको तर निकै समस्या थपिएको बताउँछन् । विशेषगरि १० वर्षदेखि बिनासकारी भूकम्प, भारतीय नाकाबन्दी र त्यसयताका कोरोना महामारी र जेनजी आन्दोलनलगायतका कारण होटल व्यवसायमा ठूलो असर परिरहेको छ । कतिपय व्यवसायी पलायन भएका छन् त कतिपय चले पनि निकै सुस्त गतिमा छन् ।
ज्योत्सना सैंजु, लामो समयदेखि होटल व्यवसायमा संलग्न हुनुहुन्छ । काभ्रेको धुलिखेलमा उहाँको आफ्नो लगानीको माउण्ट प्रिन्सेस नामको होटल छ । उहाँ धेरै संघसंस्थामा आबद्ध हुनुहुन्छ । होटल एशोसिएसन अफ नेपाल काभ्रेको उपाध्यक्ष, महिला उद्यमी संघ काभ्रेको अध्यक्ष, रोटरी क्लब धुलिखेलको अध्यक्ष, युवा उद्यमी मञ्चकी अध्यक्ष हुनुहुन्छ सैंजु । उहाँ भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उज्यालो नेपाल पार्टीका तर्फबाट काभ्रे क्षेत्र नम्बर २ को प्रत्यक्षतर्फ उम्मेदवार पनि हुनुभयो । यसपटक हामीले काभ्रे जिल्लामा होटल र पर्यटनको अवस्था के छ ? कस्ता समस्या छन्, लगायतका विषयमा उहाँसँग कुराकानी गरेका छौं । प्रस्तुत छ, मध्यमार्ग साप्ताहिकका सहसम्पादक ज्ञानमणि नेपाल कालोटोपीले उहाँसँग गरेको कुराकानीको सम्पादित अंशः
तपाईंले होटल व्यवसाय कहिलेदेखि शुरु गर्नुभयो ?
मेरो पृष्ठभूमी भन्नु पर्दा म कम्प्युटर इञ्जिनियर हुँ । मैले पहिले सफ्टवेयर कम्पनीमा काम गरेँ । पछि आफैंले खोलेर पनि काम गरेँ । टेक्निकल फिल्ड रोजेर अघि बढेको मान्छे हुँ म । आफ्नो सफ्टवेयर कम्पनीबाट सोचेजस्तो फाइदा नभएपछि मेरो बुबाले पहिलेदेखि नै थाल्नुभएको यो होटल व्यवसायतिर लाग्ने सोच बनाएँ । ०७० सालतिर बुबाको निधन भयो, त्यसपछि सबैको सहयोग लिएर आफ्नै लगानीको होटल व्यवसाय शुरु गरियो । शुरुमा बनेपा र धुलिखेलमा गरि २ ठाउँमा होटल थियो । बुबाको उपचारको लागि खर्च धेरै भयो, साथै होटल निर्माण गर्दा लागेको खर्चलगायतको ऋण तिर्नका लागि बनेपाको होटल बेच्यौं । अहिले धुलिखेलमा मात्र संचालन गरिरहेका छौं ।
होटल व्यवसायमा लामो समय बिताउनुभयो, के के छन् चुनौतीहरु ?
धेरै समस्या छन् । मैले ०७० सालमा आफूले समय दिएर होटल थालेको थिएँ । लगत्तै ०७२ सालमा बिनासकारी भूकम्पले तहसनहस बनायो । भवनहरु भत्किए, तत्काल पर्यटकहरु आउन सक्ने अवस्था भएन । विस्तारै लय लिँदै गर्दा फेरि भारतीय नाकाबन्दी शुरु भयो । लामो समय नाकाबन्दीको मारमा परियो, त्यो बेलामा ग्याँसलगायत खाद्धान्नहरुको अभाव उस्तै, पाए पनि महंगो धेरै । मैले एक सिलिण्डर ग्याँसका लागि १० हजारसम्म तिरेको थिएँ । तैपनि होटल बन्द गरिनँ । यसको घाउ विस्तारै निको हुँदै गर्दा ०७६ सालमा कोरोना महामारी शुरु भयो । यसले त धेरै नै असर पुर्यायो । कस्तो बेलामा होटल व्यवसाय शुरु गरेछु जस्तो लाग्यो । बन्द गरेर हिँड्नु पर्ने अवस्था आयो । तैपनि सधैं यस्तो त हुँदैन होला नि भनेर धैर्यतापूर्वक अघि बढ्दै गएँ । मेरा साथीहरु अहिले अमेरिका, अष्ट्रेलियालगायतका देशमा गएर राम्रो कमाइरहेका छन् । तँ नेपालमा के गरेर बसेको, यतै आइजो, सँगै काम गरौंला भनेर बोलाइरहेका छन् । तैपनि मैले आफूले लगानी गरेको ठाउँ छोड्नु हुँदैन भन्ने लागेर घुम्ने तरिकाले मात्र बिदेशतिर गएँ । कामकै लागि गइएन । यति समस्या झेल्दै आउँदा गत भदौ २३ र २४ को घटनाले देशको राजनीति नै अर्को बनाइदियो । हामी सधैं समस्यामै रह्यौं ।
अर्को कुरा नेपालको सन्दर्भमा उद्योगी बन्ने कुरा चानचुने होइन रहेछ । राज्यले शत्रु जस्तै व्यवहार गर्दोरहेछ । हरेक समस्याहरु उद्योगीले नै समाधान गर्नुपर्ने भन्ने सोच्दोरहेछ । अब हामीले त राज्यलाई नियमअनुसार कर तिरिरहेका छौं नि । कर तिरेपछि त पूर्वाधार सरकारले बनाइदिनु पर्ने हो नि तर सरकार सडक, विद्युत लगायतका कुराहरुमा पनि उद्योगीले गरिहाल्छन् नि जस्तो गरेर बसिरहेको हुन्छ । खासमा यो काम र दायित्व त सरकारको नै हो नि ।
तपाईंले राजनीतिक कुरा पनि जोड्नुभयो, देशको राजनीतिले चाहिँ यो व्यवसायलाई कस्तो असर पुर्यायो ?
मैले अघि भनेकै कुरा जोड्दै भन्छु, मेरा साथीहरु बिदेशीएको मुख्य कारण नै देशको राजनीतिक प्रभावले हो । देशका लामो समयसम्म स्थिर सरकार बनेन, अस्थिर सरकारहरुले सोचेजसरी काम गर्न सकेनन् । नीति नियमहरु समय अनुसार बदल्न सकिएको छैन । एउटा काम गर्छु भन्ने कसैलाई लाग्यो भने त्यसले कति धेरै हण्डर खानु पर्छ । एउटा व्यवसाय शुरु गर्दा ८/१० ठाउँमा धाउनु पर्छ । तैपनि समयमा काम हुँदैन । कामकै लागि कर्मचारीलाई पैसा खुवाउनु पर्छ । लगानी गरेर काम थाल्यो, त्यसको जोखिम उस्तै । कतिबेला कुन सरकार फेरिन्छ थाहै नहुने । एउटा सरकारले केही काम गर्ने वातावरण नबनाउँदै अर्को सरकार आएपछि अघिल्ला सरकारले थालेका कामहरु सबै हटाइन्छ । नयाँ नियमहरु कार्यान्वय गर्न थप समय लाग्छ । अझ बेलाबेलामा हुने आन्दोलन, नेपाल बन्द, तोडफोडलगायतका राजनीतिक घटनाहरुले त बिदेशी पर्यटकहरु नेपाल आउने वातावरण नै हुँदैन । उनीहरु आइहालेछन् भने पनि धेरै दिन बस्दैनन् । एकपटक आएको पर्यटक फेरि त्यहाँ दोहोरिएर जाँदैनन् । पर्यटकहरुका लागि लामो समय टिकाउने कार्यक्रमहरु छैनन् । यसले धेरै समस्या बनाएको छ ।
अर्को कुरा काभ्रे जिल्लालाई पटके हटाइदिनु पर्यो भनेर हामी मन्त्रालयहरुमा ज्ञापनपत्र बुझाउन जाँदा हाम्रो कुरा नै सुनिएन, जस्तो ठमेलबाट कुनै पर्यटकले ट्याक्सी लिएर धुलिखेल आउँदा त्यो ट्याक्सीले पटके तिर्नुपर्छ । यसबाट भाडा बढ्छ, अनि पर्यटक आउन मान्दैनन् । यो सानो समस्या हो नि तर यस्ता कुराले पनि होटल र पर्यटनमा ठूलो असर पुगिरहेको छ ।
काभ्रेमा पर्यटकहरु आउने आधार के के हुन् ?
खासमा काभ्रेमा पर्यटक ल्याउने धेरै कुराहरु छन् । धुलिखेल पर्यटकीय दृष्टिले निकै मनमोहक ठाउँ छ । यहाँबाट हिमालयको सुन्दर दृष्य हेर्न सकिन्छ । पनौती र बनेपा धार्मिक दृष्टिकोणले महत्वपूर्ण छन् । मौलिक कला र संस्कृतिको धनी छ काभ्रे । नमोबुद्ध र पलाञ्चोक आफैंमा चर्चित ठाउँहरु हुन् । यी सबै कुराहरुका लागि काभ्रे एकदमै उपयुक्त पर्यटकीय गन्तव्य हो । तर दुःखको कुरा यहाँ पर्यटकहरु एक रातभन्दा बढी टिक्नै चाहँदैनन् । किनकी उनीहरुको लागि पूर्वाधारको अभाव छ । हामी उद्योगीहरुले नै विभिन्न प्याकेजका कार्यक्रम बनाएर उनीहरुलाई जिल्लाका विभिन्न ठाउँहरु घुमाउन लैजाने गरेका छौं । पर्यटकहरुलाई काभ्रेमा धेरै दिनसम्म टिकाउने वातावरण बनाउन जरुरी छ ।
तपाईंको क्षेत्र होटल व्यवसाय हो तर तपाईं त एकाएक राजनीतितिर पो लाग्नुभयो नि, किन हो ?
मैले अघि भनेँ नि, मेरा समकक्षी साथीहरु धेरैजसो बिदेशमा छन् । २० वर्षअघि नेपालको अवस्था जे थियो, हाल पनि अवस्था उस्तै छ । उनीहरु मलाई बेलाबेलामा सोध्छन्, के गरिस् त नेपालमा भनेर ? म सँग कुनै जवाफ छैन । सुधार त के, झन दयनीय छ । यसलाई सुधार गर्न पुराना नेताहरुले सक्ने अवस्था थिएन, छैन पनि । किनभने उनीहरु पटकपटक राजनीतिमा आए तर देश परिवर्तन भएन, भ्रष्टाचार र कुशासन मौलाइरहे । हत्या, हिंशाहरुका घटनाहरु थपिँदै गए । नागरिकमा पुराना दल र नेताहरुप्रति निराशा पैदा हुँदै गयो । यस्तो अवस्थामा मैले अब राजनीतिमा पनि पाइला चाल्नु पर्छ र बिग्रिएको अवस्थालाई सुधार गर्न नीतिहरु पनि परिवर्तन गर्नुपर्छ भन्ने सोच आयो । त्यसैले राजनीतितिर पाइला अघि बढाएँ । गएको निर्वाचनमा उज्यालो नेपाल पार्टीका तर्फबाट काभ्रे क्षेत्रनम्बर २ को प्रत्यक्षमा उम्मेदवारी दिएँ । यो पटक जनतामा मैले मेरा एजेण्डा पुर्याउन पुगेन होला, अर्को पटक प्रयास गर्छु ।
काभ्रेमा होटल र पर्यटनको अवस्था के छ ? कति छन् होटलहरुको संख्या ?
काभ्रेमा धेरै लगानी भएको क्षेत्र भनेको कृषिपछि होटल नै होला । यहाँ धुलिखेलमा मात्र पचासको हाराहारी, नगरकोटमा डेढ सय, पनौती र बनेपामा एक सय हाराहारीको संख्यामा होटलहरु छन् । ठूलो लगानी छ । हजारौंले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाइरहेका छन् । यहाँ सरकारले गर्नुपर्ने काम निजी क्षेत्रले गरिरहेका छन् । सरकारले ठूलो लगानी गरेपनि सोचेजस्तो प्रतिफल पाउन सकिएको छैन ।
सरकारले के के गर्यो भने होटल र पर्यटन क्षेत्र माथि उठ्न सक्छ जस्तो लाग्छ ?
पहिलो कुरा हरेक देशबाट नेपालमा आउने हवाई रुट सिधा हुनुपर्छ । अहिले भइरहेको ट्रान्जिटबाट आउँदा धेरै महंगो भाडा पर्छ । केही दिनको समय र सानो खर्चले नेपाल घुम्न आउँछु भन्ने पर्यटकहरुले यहाँ ठूलो लगानी गर्नुपरेपछि कहाँ आउँछन् त ? अन्यत्रै जान्छन् । अनि पर्यटनको क्षेत्रमा निकै राजनीति हाबी छ । भ्रष्टाचार बढ्दो छ । यति मात्रै होइन, युरोपियन युनियनले नेपालको आकाश सुरक्षित छैन भन्ने गरेको छ । अन्तर्राष्ट्रिय निकायले यस्तो भन्दाभन्दै कुन बिदेशी पर्यटक असुरक्षित ठाउँमा आउँछ र ? यहाँ आउनु भन्दा विश्वका सुरक्षित र सुविधायुक्त देशमा जानेहरुको संख्या धेरै छ । तैपनि यहाँ आइरहेका छन् । यस्तै देशका हरेक जिल्लामा सडक पूर्वाधार पनि भरपर्दो छैनन् । धुवाँ, धुलो धेरै छ । यस्तो वातावरणमा पर्यटक आउँदैनन् नि । यसमा सरकारले ध्यान दिनु पर्दैन र ?
देशमा बेरोजगारी बढेको छ, रोजगारीका लागि युवाहरु बिदेशीने क्रम बढेको छ । देशमा बस्ने वातावरण छैन भन्नेहरुको संख्या धेरै छ । यस्तो अवस्थामा होटल व्यवसायको भविष्य के होला ? कसरी चल्लान् अब ?
तपाईं देशमा बेरोजगारी बढेको छ भन्नु हुन्छ, हो पनि । तर यहाँ हामीले दक्ष कामदार पाइरहेका छैनौं । यसलाई कसरी बुझ्ने ? यहाँ आउँछन्, पढ्दै गरेकाहरु सिक्छन् । ६ महिना वा एक वर्ष सिकेर उनीहरु बाहिर गइहाल्छन् । नेपालमा त्यही काम गरेर २० हजार कमाउन गाह्रो छ तर बिदेशमा एक लाखभन्दा बढी कमाउँछन् । अनि उनीहरु नेपालमा बस्नै रुचाउँदैनन् । हामीले राम्रो काम गर्न सक्ने मान्छे बाहिरबाट ल्याउनु पर्ने अवस्था छ । सरकारले उचित नीति नियम बनाएर बेरोजगार युवाहरुलाई स्वदेशमै बस्ने वातावरण बनाउनु पर्छ । अन्यथा होटल मात्र होइन, हरेक क्षेत्रमा अब दक्ष कामदार पाउन गाह्रो छ । कुनै काम आफैं गर्छु भन्ने युवाले धेरै दुःख पाइरहेका छन् । लगानीको कुनै ग्यारेन्टी छैन ।
गत भदौमा जुन राजनीतिक परिवर्तन भयो, यसलाई कसरी हेर्नुभएको छ ?
यसलाई दुई तरिकाले बुझ्नुपर्छ जस्तो लाग्छ । एक त देशमा जुन खालको कामहरु भइरहेका थिए, ती नागरिकले सोचेका जस्ता थिएनन् । पुराना दल र नेताहरुले आफ्नो लागि मात्र सोचे, देश र जनताका लागि सोचेनन् । यसैबाट आजित भएका नागरिकले बिद्रोह गरेका हुन् । अर्को कुरा पछिल्लो पुस्ता प्रविधिसँग धेरै घुलमिल हुने पुस्ता हो । सरकारले त्यही बेलामा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्यो । त्यसलाई बन्द गरेर समाधान हुँदैन भन्ने सोच्नु पर्ने । त्यो भएन, सामाजिक सञ्जाल कम्पनीहरु दर्ता भएर कर तिर्नुपर्छ । तर त्यो भनेको बन्द गर्नु हुँदैनथ्यो । यसले परिस्थिती बदलियो, निर्दोष नागरिक मारिए, अर्बौंको भौतिक संरचना क्षति भए । देशले ठूलो घाटा भोग्नुपर्यो । यो परिस्थिती आउन हुँदैनथ्यो ।
देशमा अहिले बलियो सरकार बनेको छ । यसलाई कसरी हेर्नुहुन्छ ? के छन् सरकारसँग अपेक्षा ?
अब सबै कुरालाई निराशाको दृष्टिले मात्र हेर्नु हुँदैन । जनताले यति ठूलो विश्वास गरेर बहुमत दिएका छन् । अब सरकारले चाहेमा जुनसुकै काम गर्न सक्ने अवस्था छ । यसअघि हाम्रो बहुमत थिएन, काम गर्न पाइएन, अर्को दलले काम गर्नै दिएन भन्ने अवस्था अब छैन । सरकारले पुराना बिग्रिएका बेथितीलाई सुधार गरेर अघि बढ्नुपर्छ । नागरिकका समस्यामा केन्द्रीत भएर काम गर्नुपर्छ । जनताले फोस्रो आश्वासन होइन, छिट्टै नतिजा आउने कामको अपेक्षा गरेका छन् । हामी उद्योगीहरुले पनि अब केही हुन्छ भन्ने आशा गर्ने ठाउँ छ । अबको ५ वर्ष स्थायी सरकार रहिरहने हो भने धेरै क्षेत्रमा परिवर्तन होला भन्ने लाग्छ, किनकी काम गर्ने ठाउँमा अहिले धेरैजसो युवाहरु पुगेका छन् । यो सकारात्मक संकेत पक्कै हो ।
समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद ।
समग्रमा भन्नुपर्दा पछिल्ला वर्षहरुमा नागरिक निराश भएकै हुन् । उनीहरुले खोजेको जस्तो परिवर्तन एकैपटक हुन नसक्ला तर विस्तारै पक्कै हुन्छ । हामीले आफ्नो ठाउँबाट सक्ने सहयोग गरौं, मेरा विचारहरु राख्ने अवसर दिनुभएकोमा तपाईं आबद्ध संचारमाध्यम र तपाईंलाई पनि धेरै धेरै धन्यवाद ।
