बनेपा । यतिबेला देशभर चुनावी रौनकले छाएको छ । कसले जित्ला, कति भोट ल्याउला भन्ने आँकलन बढ्दो छ । काभ्रे क्षेत्र नम्बर २ मा २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यसैबीचमा हामीले यो पटक उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवार बन्नु भएकी ज्योत्सना सैँजुसँग चुनाव केन्द्रीत कुराकानी गरेका छौँ । प्रस्तुत छ मध्यमार्गका सहसम्पादक ज्ञानमणि नेपाल कालोटोपीले उहाँसँग गरेको कुराकानीको सम्पादित अंशः
प्रश्नः तपाईंलाई नागरिकले किन भोट दिने ?
मलाई लाग्छ यतिबेला नागरिकले काम गर्ने, सुन्ने र परिणाम दिने नेतृत्व खोजिरहेका छन् । अहिले मेरो मुख्य एजेण्डा नै देशको आर्थिक रुपान्तरण हो, देशलाई कसरी धनि बनाउने, कसरी आर्थिकरुपमा सबल बनाउने भन्ने काम गर्न मेरो उम्मेदवारी हो । मेरो व्यवसायिक अनुभव, पढाई, सामाजिक काममा सक्रियता र स्थानीय समस्याको बुझाइका आधारमा म विकासलाई व्यवहारमा उतार्न सक्ने उम्मेदवारका रूपमा आफूलाई प्रस्तुत गरिरहेकी छु । ‘गफ होइन काम, भाषण होइन परिणाम’ भन्ने हाम्रो पार्टी उज्यालो नेपालको मुल ध्येय हो । यसमा टेकेर हामी अगाडि बढ्नेछौँ ।
प्रश्नः चुनाव आउन लागेको छ, नागरिकको अपेक्षा कस्तो छ ? के पाउनु भयो ?
घरदैलो र भेटघाटमा मैले नागरिकको मुख्य अपेक्षा रोजगारी, कृषिमा सुधार, शिक्षा, पर्यटन, स्वास्थ्य सेवा र सडक सञ्जाल, सिँचाइजस्ता आधारभूत पूर्वाधारमा केन्द्रीत रहेको पाएँ । मैले नागरिकमा परिवर्तनको चाहना र आशा दुवै देखेको छु । नयाँ नेतृत्वको चाहना र परिवर्तन नै नागरिकको अपेक्षा अहिलेको हो ।
प्रश्नः नागरिकले पुरानै पारा देखाए भने तपाईंले देखेका सपनाहरू सम्भव होला त ?
परिवर्तनको सुरुवात विश्वासबाट हुन्छ । नागरिकले नयाँ सोच र कामलाई समर्थन गर्नुभयो भने मात्रै नयाँ सम्भावना खुल्छ । म आशावादी छु कि यसपटक नागरिकले परिणाममुखी नेतृत्व रोज्नुहुनेछ ।
प्रश्नः काभ्रे–२ मा २४ जना उम्मेदवार छन्, आफ्नो स्थान कति सुरक्षित मान्नुहुन्छ ?
लोकतन्त्रमा अन्तिम निर्णय जनताको हुन्छ । म प्रतिस्पर्धालाई सकारात्मकरूपमा लिन्छु । नागरिकको साथ र विश्वासले मेरो स्थान बलियो बनेको महसुस भइरहेको छ । हामीले हाम्रो मुख्य एजेण्डा नै देशको आर्थिक रुपान्तरण राखेका छौं र हाम्रो नेतृत्व कुलमान घिसिङ जी पनि काम गरेर प्रमाणित हुनुभएर राजनीतिमा आउनु भएको हुनुहुन्छ । त्यसैले मेरो स्थान राम्रो नै बनेको महसुस भइरहेको छ ।
प्रश्नः जनताका अपेक्षा, समस्या र गुनासा धेरै छन्, कसरी पूरा गर्ने सोच छ ?
समस्या समाधानका लागि प्राथमिकता निर्धारण, पारदर्शिता र स्थानीय स्रोतको सही प्रयोग आवश्यक छ । कृषि, पर्यटन, साना उद्योग र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर चरणबद्धरूपमा काम गर्ने मेरो योजना छ ।
प्रश्नः जित–हार जे भए पनि नागरिक यहीँ रहन्छन्, आगामी दिनमा कसरी अघि बढ्ने सोच छ ?
राजनीति केवल चुनाव जित्नका लागि होइन, समाज सेवा गर्ने माध्यम पनि हो । परिणाम जस्तो भए पनि नागरिकसँगको सम्बन्ध र काम निरन्तर रहनेछ ।
प्रश्नः तपाईं राजनीतिमा नयाँ हुनुहुन्छ, प्रतिस्पर्धी पुराना छन्, कस्तो लाग्दैछ ?
नयाँ हुनु चुनौती पनि हो र अवसर पनि । पुराना अनुभवबाट सिक्दै नयाँ ऊर्जा र दृष्टिकोणसहित काम गर्ने आत्मविश्वास छ । नागरिकले नयाँ पुस्ताको नेतृत्वलाई अवसर दिने विश्वास लिएको छु ।
यहाँको व्यस्त समयमा पनि कुराकानीका लागि समय दिनुभयो, धन्यवाद ।
मेरा केही कुराहरु नागरिकसामु पुर्याउन सहयोग गर्नुहुने तपाईं र तपाईं आबद्ध सञ्चार माध्यमलाई पनि धेरै धेरै धन्यवाद छ ।
