मण्डनदेउपुर । किसानलाई सधैँ दुःख नै छ । हिजो पनि, आज पनि र भोलि पनि । जुनसुकै क्षेत्रका विज्ञहरु भए पनि उनीहरु बाँच्न खानेकुरा चाहिन्छ, त्यो खानेकुरा किसानकै मिहेनतले उत्पादन हुन्छ । तर पनि कोही हेपिएका छन् भने ती किसान मात्रै छन् । चाहे राज्यबाट वा व्यापारी र प्राकृतिक विपत्तीबाट नै ।
काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर १० जोगिटारमा छ प्रकाश नेपालको घर । गाउँमै सानै भए पनि व्यापार पनि छ । विभिन्न संघसंस्थाहरुमा पनि संलग्न नेपालले खेती गर्ने तरिकामा केही परिवर्तन गर्नुभयो र विगत ६ महिनायता अर्गानिकरुपमा तरकारी लगाउन थाल्नुभयो । उहाँले हाल तीन वटा टनेलमा रासायनिक मल र विषादी नहाली झोल मल र घरमै बनाइएको झारपातको विषादी तथा निमको तेलको प्रयोगले किरा नियन्त्रण गर्ने विधिबाट तरकारी खेती गरिरहनुभएको छ । उहाँको टनेलबाट यतिबेला उत्पादन शुरु भइसकेको छ ।
तर उचित मूल्य नपाउँदा पहिलो गाँसमै ढुंगा जस्तै भएको छ । भाउ नै नपाइएको होइन, तर अर्गानिक तरकारी र रासायनिक मल तथा विषादी प्रयोगबाट उत्पादित तरकारीको भाउ एउटै हुँदा कतै लगानी नै जोखिममा पर्ने त होइन भन्ने चिन्ताले उहाँलाई सताएको छ । उहाँले उत्पादन गर्नुभएको तरकारी रासायनिक मल र विषादी हालेको भन्दा केही फरक छन् । देख्दा त्यति राम्रो नभए पनि स्वास्थ्यका दृष्टिले भने निकै फाइदाजनक छन् । तर बजारमा व्यापारिहरुले उपभोक्ताले त्यति नरुचाउने भन्दै एउटै मूल्य लगाउँछन् । तर अर्गानिक तरकारीको उत्पादन तरिका तथा लगानी अरुभन्दा बढी हुन्छ । त्यसैले यस्ता उत्पादनको केही प्रतिशत मात्रै भए पनि बढी मूल्य पाए किसानलाई हौसला हुने उहाँ बताउनुहुन्छ ।
जैविकरुपमा तरकारी उत्पादन गर्न सजिलो छैन । के छन् त समस्या ? हामीले यो पटक उहाँसँग यसै विषयमा केन्द्रीत रहेर कुराकानी गरेका छौँ । प्रस्तुत छ मध्यमार्गका सहसम्पादक ज्ञानमणि नेपाल कालोटोपीले उहाँसँग गरेको कुराकानीको सम्पादित अंशः
तपाईँले कहिलेदेखि कति क्षेत्रफलमा अर्गानिक तरकारी खेती थाल्नुभयो ?
कृषि त पहिलेदेखि नै गरिएकै हो तर नयाँ तरिकाले जैविक विधि अपनाएर तरकारी खेती गरेको भने यो पहिलो पटक हो । ६ महिनादेखि कस्तो हुने रहेछ भनेर शुरु गरेको हुँ । अहिले तीन वटा टनेलमा करिव १० आना जग्गामा गरेको छु । तर अरु तरिकाले त तीन रोपनी जग्गामा खेती गरिएको छ । कस्तो प्रतिफल आउँछ त्यही अनुसार बढाउँदै लैजाने सोच पनि छ ।
तपाईंले तरकारी खेतीको सोच कसरी बनाउनुभयो ?
म पहिलेदेखि नै कसैको दबाब नभएको काम गर्ने सोच राख्थेँ । न कसैको हस्तक्षेप छ, न कसैको प्रभाव वा दबाब नै । आफैं मालिक आफैं कामदार भने जस्तै स्वतन्त्र भएर काम गर्न सकिने भएकाले कृषि र त्यसमा पनि तरकारी खेती रोजेको हुँ । कृषि पेशा गर्वको पेशा हो । आत्मसन्तुष्टिको पेशा भएकाले यसमा सोच बनाएँ ।
अर्को कुरा मेरो परिवारमा ६ जना छौँ जसमा ४ जनाले अहिले पनि विभिन्न रोगका नियमित औषधि खाइरहेका छौँ । यो सबैको कारण विषादी प्रयोगको तरकारी सेवन हो जस्तो लागेर मलाई विषादी नहाली पनि तरकारी खेती गर्न सकिन्छ भन्ने सोच आयो र यो खेती शुरु गरेको हुँ ।
भनेपछि विशुद्धरुपमा अर्गानिक खेती शुरु गर्नुभयो ?
मैले मात्र होइन, यस भेगमा हामी ५ जनाले अहिले रासायनिक मल र रासायनिक विषादीको प्रयोग नगरि झोल मल र जैविक विषादीको प्रयोगले तरकारी खेतीको अभियान थालेका छौँ । तर यो पूरै अर्गानिक भइसकेको छैन, सबै विधि पुर्याएर अर्गानिक बनाउन केही वर्ष लाग्छ । तर जैविक तरिकाको खेती शुरुवात चाहिँ भएको हो । शुरुमा कस्तो उत्पादन र बजार हुन्छ त्यही अनुसार विस्तार गर्ने सोच छ । केही साथीहरुले यही विधिबाट काँक्रा रोप्नुभएको छ भने मैले र छिमेकी शंकर नेपालले गोलभेँडा खेती गरेका छौँ ।
जैविक प्रविधिबाट खेती गर्न कस्ता कस्ता समस्या रहेछन् ?
समस्या त कति कति नि, तैपनि हामीले काम गरिरहेकाले त्यति धेरै गाह्रो भन्ने त लाग्दैन । रासायनिक मल र विषादी प्रयोग नगरे पनि राम्रो उत्पादन हुने रहेछ भन्ने जानियो । तर उत्पादित तरकारीको भाउ र बजारिकरणमा भने समस्या नै छ । रासायनिक मल र विषादी प्रयोग गरेका तरकारी देख्दा राम्रा हुन्छन् तर अर्गानिक उत्पादन देख्दा त्यति धेरै राम्रो नभए पनि स्वास्थ्यका दृष्टिले फाइदाजनक छन् । यी कुरा उपभोक्तालाई बुझाउन नसकेर हो वा व्यापारीलाई । एउटै मूल्यमा किन्छन् । यस्तो हुँदा हाम्रो प्रविधिले काम गरेन । केही प्रतिशत मात्रै भए पनि अर्गानिक उत्पादनको मूल्य बढी भयो भने बहुसंख्यक किसानलाई यस अभियानमा समेट्न सकिन्थ्यो जस्तो लाग्छ ।
यसमा कति लगानी छ, कसैले सहयोग गरेको छ की व्यक्तिगत लगानी ?
यति खेतीका लागि करिब ३ लाख लगानी छ तर व्यक्तिगतरुपमा डेढ लाख जति छ । ग्रामिण विकासका लागि किसान कार्यक्रममार्फत अनुदान पनि पाइएको छ । जसले काम गर्न सजिलो भएको छ ।
यस्तो खेतीका लागि केही तालिमहरु लिनुभएको छ की ?
छ , मैले प्राङ्गगारिक खेतीको तालिम लिएको छु । ग्रामिण विकासका लागि किसान कार्यक्रम भन्ने संस्थाले हामीलाई चितवनमा लगेर तालिम दिलाएको थियो । पहिले सीप सिकेँ अनि काम थालेँ ।
यसका लागि थप सहयोग वा बजारिकरणका लागि स्थानीय तहहरुमा अनुरोध गर्नुभएको छ की ?
हामी सहयोगकै लागि भनेर त गएका छैनौँ तर साथीहरुले नगरपालिकाका कर्मचारीहरुसँग चाहिँ हाम्रो उत्पादन लिइदिनु पर्यो भनेर भन्नुभएको थियो रे । तर त्यसतर्फ खासै कसैले ध्यान दिएनन् । सरकारका अन्य निकायहरुले पनि खासै सहयोग नै त गरेका छैनन् । हामीले ठूलो सहयोगको अपेक्षा गरेका पनि छैनौँ । सकेको हामी नै गर्छौं तर बजारिकरणका लागि चाहिँ स्थानीय सरकारले पहल गरिदिए हुन्थ्यो भन्ने लाग्छ ।
काम पाइएन भन्दै रोजगारीका लागि विदेश जानेहरुको लर्को छ । उनीहरुलाई के भन्न चाहनुहुन्छ ?
काम गर्नकै लागि र पैसा कमाउनकै लागि विदेश नै जानु पर्छ भन्ने लाग्दैन । त्यता गर्ने दुःख स्वदेशमै पनि गर्न सकिन्छ । सम्भावना धेरै छन् । कुन बाटो रोज्ने आफूमा भर पर्छ । मैले केही साथीहरुलाई विदेश जानबाट रोकेको पनि छु । हामीले काम गर्ने नै हो भने र जाँगर चलाउने हो भने गर्न नसकिने केही छैन जस्तो लाग्छ ।
व्यस्त समय दिनु भयो, कुराकानीका लागि धन्यवाद ।
हामी किसानसम्म आएर हाम्रा कुराहरु भन्ने र सुन्ने, सुनाउने मौका दिनुभयो । यसका लागि तपाईं र तपाईंको संचारमाध्यमलाई पनि धेरै धेरै धन्यवाद छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *