पनौती । सिद्धार्थ वनस्थली इन्स्टिच्यूट पनौतीले विद्यालयका संस्थापक प्रिन्सिपल लक्ष्मण राजवंशीको स्मृति दिवसमा शिक्षा क्षेत्रमा उल्लेख्य योगदान गर्ने १३ जनालाई सम्मान गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथी पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी र शिक्षा विकास तथा समन्वय इकाई काभ्रेका प्रमुख सविता दंगालले शिक्षा क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने १३ जनालाई सम्मान गर्नु भएको हो ।
सम्मानित हुनेहरुमा जनमत मासिकका सम्पादक मोहन दुवाल, पूर्व शिक्षा सचिव चन्द्रबहादुर खड्का, मल्पी इन्टरनेशनल स्कुलका संस्थापक अध्यक्ष दीपकमान शेरचन, शिक्षासेवी जगन्नाथ अवा, पनौती ८ का वडाध्यक्ष बेदप्रसाद बञ्जारा, बालोद्वार माविका प्रधानाध्यापक मायादेवी श्रेष्ठ, फूलचोकी आ.वि का प्र.अ विमला नेपाल हुनुहुन्छ । यस्तै विद्यालयका पूर्व विद्यार्थी एवं भूमि व्यवस्थापन कार्यालयका निर्देशक रामकुमार सापकोटा, डा. अनन्त सुवेदी, डा. मणिन्द्र मानन्धर, डा. राजेन्द्र ताम्राकार, डा. श्रीकृष्ण श्रेष्ठ र डा. समिर कर्माचार्यलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी पनौती नगरप्रमुख भण्डारीले पनौतीमा वैशाख ३ गतेदेखि नै भर्ना अभियान शुरु गरिएको जानकारी दिनुभयो । उहाँले लक्ष्मण राजवंशीले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै सम्मानित सबैलाई वधाइ दिनुभयो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई काभ्रेका प्रमुख सविता दंगाल, साहित्यकार मोहन दुवाललगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै विद्यालयकी प्राचार्य रेश्मा थापाले उपस्थितलाई स्वागत गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव थापाको अध्यक्षतामा भएको कार्यक्रम विद्यालयका सहायक प्रअ प्रविण दाहालले संचालन गर्नुभएको थियो । यस विद्यालयले ३८ वर्षदेखि समय सापेक्ष गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव थापाले जानकारी दिनुभयो ।
इन्स्टिच्यूटको गुठीयार समितिले शैक्षिक विकासमा उल्लेख्य योगदान गर्ने शिक्षासेवी एवं सामाजिक अभियान्तालाई हरेक वर्ष नगदसहित लक्ष्मण राजवंशी स्मृति शिक्षा पुरस्कारबाट सम्मान गर्ने गरेको छ । संस्थापक राजवंशीको २०७८ साल वैशाख ११ गते निधन भएको थियो ।
