काठमाडौँ । आगामी २०८३ वैशाख १५ गतेदेखि नयाँ शैक्षिक सत्र शुरु हुने भएको छ । यसका लागि जनक शिक्षा सामग्री केन्द्रले विद्यालय तहका पाठ्यपुस्तक देशका विभिन्न भागमा धमाधम वितरण गरिरहेको जनाएको छ ।
केन्द्रले चैत १६ गतेदेखि पाठ्यपुस्तक वितरण शुरु गरेको छ । पाँच दिनभित्रै करिब २५ लाख थान बिक्री भइसकेको केन्द्रले जानकारी दिएको छ ।
शैक्षिक सत्र शुरु हुनु अघि नै विद्यार्थीको हातमा पुस्तक पुर्याउने लक्ष्यअनुसार छपाइ कार्य सम्पन्न गरी वितरण तीव्र बनाइएको केन्द्रले जनाएको छ ।
यसैबीच, शिक्षामन्त्री सस्मित पोखरेलले गत शुक्रबार भक्तपुरस्थित केन्द्रको कार्यालय तथा प्रेसको अवलोकन गरेका छन् । सो क्रममा उनले केन्द्रको उत्पादन अवस्था र प्रगतिबारे जानकारी लिँदै नयाँ शैक्षिक सत्रमा पाठ्यपुस्तकको अभाव नहुने प्रतिबद्धता व्यक्त गरेका थिए ।
