पाँचखाल । काभ्रेको पाँचखाल नगरपालिकाले पनि आजदेखि कृषि हाटबजार सञ्चालनमा ल्याएको छ । हरेक शुक्रबार र शनिबार लाग्ने गरि हाटबजार सञ्चालनमा ल्याइएको हो ।

पाँचखाल नगरपालिकाको आयोजना, कृषि बजार सञ्चालक तथा व्यवस्थापन समिति पाँचखालको सहआयोजना र पाँचखाल नगरपालिका वडानम्बर ४ को समन्वयमा हाटबजार सञ्चालनमा आएको हो ।

वडानम्बर ४ का वडाध्यक्ष सुन्दर लामाले दिनुभएको जानकारी अनुसार कृषि उपज संकलन तथा बजार केन्द्र रहेको बोहोरेदोभान जाने बाटोमा बजार सञ्चालनमा ल्याइएको छ ।

कृषि हाटबजारमा किसानले आफ्ना उत्पादनहरु सोझै उपभोक्तालाई बेच्न सक्नेछन् । यसबाट विचौलियाको समस्या नहुने र उपभोक्ताले पनि सस्तोमा तरकारी लगायत कृषि उत्पादन खरिद गर्न पाउने उहाँको भनाइ छ ।

यसअघि काभ्रेकै बनेपामा विगत २ वर्षदेखि हरेक शुक्रबार हाटबजार सञ्चालनमा छ भने मण्डनदेउपुरको नगरकोटमा पनि यस्तो बजार सञ्चालनमा आएको छ । धुलिखेल नगरपालिकाले पनि धुलिखेल अस्पताल परिसरमा यस्तो बजार सञ्चालन गरिरहेको भए पनि पाँचखालमा भने पहिलो पटक हाटबजार सञ्चालनमा आएको हो । यसबाट स्थानीय किसानहरु उत्साहित भएका छन् ।

शुक्रबार पहिलो दिनमै किसान र उपभोक्ताहरूको उत्साहजनक सहभागिता रहेको पाँचखाल नगरपालिका वडानम्बर ४ का वडाध्यक्ष सुन्दर लामाले जानकारी दिनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *