यसपालि मनसुनको समयमा दुई लाख २६ हजारभन्दा बढी नागरिकहरू प्रभावित हुने अनुमान गरिएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले हालै पारित गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा देशभर करिब ५१ हजार ८६८ घरपरिवारका दुई लाख २६ हजार ६६१ जनसङ्ख्या प्रभावित हुने आँकलन गरिएको उल्लेख छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका त्यसमध्ये एक हजारदेखि चार हजार घरपरिवार प्रत्यक्षरूपमा प्रभावित हुनसक्ने अनुमान गरिएको छ । जुन सबैभन्दा खराब अवस्थाको परिदृश्यको करिब १० प्रतिशत बराबर हो । प्रदेश तथा स्थानीय तहमा विपद् पूर्वतयारी गर्न सहज होस् भन्ने अभिप्रायले प्रदेशगत विश्लेषण गरी विपद् जोखिम आँकलन गरिएको प्राधिकरणले जनाएको छ ।
कार्ययोजनामा यस वर्ष मनसुनको अवधिमा देशैभर सरदरभन्दा कम वर्षा रहने सम्भावना विगतको तुलनामा कम रहेको भए तापनि सरदर तापक्रम वृद्धि हुनसक्ने आँकलनले केही उच्च हिमाली स्थानहरूमा हिमताल विस्फोटन भई तल्लो तटीय क्षेत्रमा बाढी, पहिरो, डुबान, जमिन कटान तथा आकस्मिक बाढीजस्ता मनसुनजन्य विपद्को जोखिम अधिक हुने सम्भावना रहेको उल्लेख छ ।
त्यसैगरी, उक्त अवधिमा दैनिक तापक्रममा वृद्धि हुने सम्भावना अधिक रहने आँकलनले देशको दक्षिणी तराई भागमा सर्वसाधारण अत्यधिक गर्मी वा तातो हावाको लहरबाट समेत प्रभावित बन्ने सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागले मनसुन समयमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको यसअघि नै आँकलन सार्वजनिक गरिसकेको छ । यस मनसुनको अवधिमा कर्णाली प्रदेशका दक्षिणी भाग, लुम्बिनी प्रदेशका अधिकांश भाग, मधेस प्रदेशका पूर्वी भाग र कोशी प्रदेशका दक्षिणी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशत रहेको छ ।
यस्तै सुदुरपश्चिम प्रदेशका अधिकांश भाग, मधेस प्रदेशका पश्चिमी भाग र कोशी प्रदेशका मध्य भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत रहेको छ ।
यसरी हरेक वर्ष मनसुन शुरु हुनु अघि प्राधिकरणले यसरी नै सम्भावित अवस्थाको जानकारी दिने गरेको भए पनि यसतर्फ खासै चासो दिइएको पाइँदैन । जसले यो समयमा धेरै जनधनकोे क्षति हुने गरेको छ । अब भने यसतर्फ विशेष ध्यान दिएर हुनसक्ने क्षति रोक्नका लागि आजै तयारीमा लाग्नु जरुरी देखिन्छ ।
