मुख्य सिजनमा रासायनिक मलको अभावले यतिबेला देशभरका किसान समस्यामा छन् । यो मकैका लागि मल चाहिने मुख्य सिजन हो भने धान रोप्नका लागि पनि मल नभइ हुँदैन । तर किसानले मल नपाएको ३ महिना भयो । सरकारले मल ल्याउने प्रक्रिया अघि बढाइएको जनाएको छ तर प्रक्रिया पूरा गरेर मल ल्याउँदा धान र मकै थन्क्याउने बेला भइसक्ने हो कि भन्ने चिन्तामा किसान छन् ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ । मन्त्रालयले किसानलाई राहत हुने गरी धानका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढाएको जनाएको छ ।

मन्त्रालयका अनुसार सरकार–सरकार -जीटूजी) सम्झौताअन्तर्गत भारतबाट ३० हजार मेट्रिक टन युरिया मल ल्याइँदैछ । यो मल असार अन्तिम सातादेखि साउनको दोस्रो साताभित्र नेपाल आइपुग्ने छ । भारतसँग जीटूजीमार्फत ८० हजार मेट्रिक टन भएको सम्झौता अनुसार पहिलो चरणमा ५० हजार मेट्रिक टन मल साउन दोस्रो साता नेपालमा भित्रिने छ ।

त्यसैगरी, अन्तर्राष्ट्रिय -ग्लोबल) टेन्डरमार्फत १ लाख ८० हजार मेट्रिक टन रासायनिक मल आयात गरिने मन्त्रालयले जनाएको छ । यसमध्ये ६० हजार मेट्रिक टन डीएपी र १ लाख २० हजार मेट्रिक टन युरिया रहेको छ । यी मल साउनको पहिलो सातासम्म नेपाल भित्रिने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ । ओमनमा लोडिङको प्रक्रियामा रहेकोे ३० हजार मेट्रिक टन यूरिया मल असार अन्तिमसम्म कलकत्ता आइपुग्ने र साउनको दोस्रो सातामा नेपाल भित्रिने छ । त्यसैगरी, ३० हजार मेट्रिक टन डीएपी होर्मुज पार भई भिसाखापटनम पोर्टमा पुगीसकेको र असार १९ देखि २० गतेसम्म नेपाल आइपुग्ने साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले जनाएको छ ।

साथै, ३० हजार मेट्रिक टन यूरिया मल जहाजमा लोड भइसकेको र साउन पहिलो साता कलकत्ता बन्दगाह हुँदै साउन अन्तिमसम्ममा नेपाल आइपुग्नेछ । कतारबाट पनि ३० हजार मेट्रिक टन यूरिया मल …सिपमेन्टÚ भइसकेको र असार अन्तिम सातामा कलकत्ता आइपुग्ने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । साउदी अरेवियाबाट ३० हजार मेट्रिक टन यूरिया लोड भइसकेको र असार अन्तिम सातासम्म कलकत्ता आइपुग्ने कृषि कम्पनीले जनाएको छ । यसैगरी, भियतनामबाट ३० हजार मेट्रिक टन डीएपी मल लोड भई असार अन्तिम सातासम्ममा कलकत्ता आइपुग्ने र साउन दोस्रो साता नेपाल भित्रिने छ ।

मन्त्रालयले मध्यपूर्वको द्वन्द्वका कारण अन्तराष्ट्रिय बजारमा मलको उपलब्धता घटेपनि किसानलाई राहत हुने गरी मल आपूर्ति गर्न सरकार लागि परेको जनाएको छ । तर मुख्य सिजनमा नै नपाएपछि अब आउने भनिएको मल लगनपछिको पोते भने जस्तै हुने देखिन्छ । मुख्य सिजनमा मल कति चाहिन्छ भनेर समयमै यी प्रक्रिया अघि नबढाउनु सरकारको गम्भीर कमजोरी देखिन्छ । यसबाट पाठ सिकेर आगामी दिनमा मलको सहज आपूर्तिका लागि सरकारले बेलैमा ध्यान दिनु पर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *