सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका–२ किउलमा प्रतियोगितात्मक कृषि जैविक विविधता प्रदर्शनी मेला–२०८३ सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा आयोजित कार्यक्रममा स्थानीय रैथाने बालीको संरक्षण, कृषि जैविक विविधताको पहिचान, संवद्र्धन तथा प्रवद्र्धन, अर्गानिक खेती विस्तार, किसानको सक्रिय सहभागिता वृद्धि तथा सामुदायिक बीउ बैंक स्थापना गर्ने उद्देश्यसहित मेला आयोजना गरिएको हो ।

हेलम्बु क्षेत्र परम्परागत खेती प्रणाली, स्थानीय बीउबिजन तथा विविध कृषि उत्पादनका दृष्टिले समृद्ध मानिन्छ । तर पछिल्ला वर्षहरूमा आधुनिक बीउको बढ्दो प्रयोगसँगै स्थानीय जातका धान, मकै, कोदो, फापर, सिमी, तरकारी तथा अन्य रैथाने बालीहरू लोप हुने जोखिम बढ्दै गएकाले मेला संरक्षणमुखी अवधारणासहित आयोजना गरिएको आयोजकले जनाएको छ ।

मेलाको अवलोकन गर्दै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले स्थानीय बीउबिजन, रैथाने बाली र अर्गानिक उत्पादनहरू हेलम्बुको पहिचान र सम्पत्ति भएको उल्लेख गर्दै यस्ता स्रोतहरूको संरक्षण आवश्यक रहेको बताउनुभयो । उहाँले कृषि जैविक विविधता जोगाउनु भनेको केवल उत्पादन बचाउनु मात्र नभई स्थानीय संस्कृति, ज्ञान र परम्परागत कृषि प्रणालीको संरक्षण गर्नु पनि भएको बताउनुभयो । अध्यक्ष शेर्पाले आगामी दिनमा सामुदायिक बीउ बैंक स्थापना, स्थानीय बीउको संकलन तथा संरक्षण र अर्गानिक खेती विस्तारलाई गाउँपालिकाले प्राथमिकतामा राख्ने जानकारी दिनुभयो ।

कार्यक्रममा कृषि विज्ञ दिपक रिजालले स्थानीय बीउ हराउँदै जाँदा त्यससँग जोडिएको कृषि ज्ञान र पुस्तान्तरणको अभ्याससमेत हराउने जोखिम रहेको बताउनुभयो । उहाँले जलवायु परिवर्तनका असर न्यूनीकरण, खाद्य सुरक्षा सुदृढीकरण र किसानको आत्मनिर्भरताका लागि कृषि जैविक विविधता संरक्षण आवश्यक रहेको उल्लेख गर्दै सामुदायिक बीउ बैंक स्थापना अहिलेको आवश्यकता भएको बताउनुभयो ।

त्यस्तै हेलम्बु गाउँपालिका–२ का वडा अध्यक्ष पेम्बा लामाले किसानले उत्पादन गरेका स्थानीय तथा अर्गानिक वस्तुलाई बजारसँग जोड्नुपर्ने आवश्यकता औँल्याउँदै आगामी दिनमा स्थानीय हाटबजारलाई व्यवस्थितरूपमा सञ्चालन गरी उत्पादनको बजारीकरणमा जोड दिइने बताउनुभयो । कृषि जैविक विविधता संरक्षणमा समुदायको सहभागिता सबैभन्दा महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले स्थानीय तह, किसान र समुदायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रम अन्तर्गत आयोजित जैविक विविधतासम्बन्धी गीत प्रतियोगिता र कृषि प्रदर्शनी प्रतियोगितामा सहभागी समूहहरूले स्थानीय बीउबिजन, रैथाने उत्पादन, अर्गानिक खेती र संरक्षणका विषयलाई प्रस्तुत गरेका थिए । दुवै विधाका विजेताहरूलाई समान पुरस्कार व्यवस्था गरिएको थियो । प्रथम हुनेले १० हजार रुपैयाँ, द्वितीयले ८ हजार रुपैयाँ, तृतीयले ६ हजार रुपैयाँ तथा सान्त्वना स्थान हासिल गर्ने समूहले ४ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । गीत प्रतियोगितामा इच्छेश्वरी महिला बचत तथा कृषि समूह प्रथम, ह्योल्मो आमायाङ्री कृषक समूह हेलम्बु–१ तिम्बु द्वितीय, फूलबारी महिला कृषक समूह हेलम्बु–६ तृतीय तथा सेराबेसी महिला समूह हेलम्बु–३ ले सान्त्वना पुरस्कार पाएका छन् ।

त्यसैगरी कृषि प्रदर्शनीतर्फ इच्छेश्वरी महिला समूह हेलम्बु–६ थापाटार र गंगा महिला कृषक समूह पहिलो भएको छ । सेराबेसी महिला कृषक समूह द्वितीय, जमुना महिला कृषक समूह तृतीय तथा मनकामना महिला कृषक समूह हेलम्बु–७ सान्त्वना भएका छन् । गाउँपालिकाभित्रका २८ वटा समूह सहभागी रहेको मेलामा स्थानीय तरकारी, रैथाने बीउबिजन, लोपोन्मुख कृषि सामग्री, अर्गानिक उत्पादन तथा परम्परागत कृषि प्रणालीसँग सम्बन्धित सामग्रीहरू प्रदर्शनमा राखिएका थिए । मेलाले स्थानीय उत्पादन संरक्षणसँगै यसको अभिलेखीकरण, बजारीकरण र प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा कलाकार राजेन्द्र भण्डारी, स्मृति गौतम र बिनिता भण्डारी लगायतले सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै कार्यक्रमलाई थप आकर्षक बनाएका थिए । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको प्रमुख आतिथ्यता तथा जष्ट नेपाल फाउन्डेसनका कार्यकारी निर्देशक गोपाल लामाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कृषि जैविक विविधताको संरक्षण, स्थानीय बीउबिजनको अभिलेखीकरण, रैथाने बालीको प्रवद्र्धन, अर्गानिक उत्पादन विस्तार तथा भविष्यमा सामुदायिक बीउ बैंक स्थापना गर्ने दीर्घकालीन लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको संस्थाका कर्मचारी श्याम शर्मा लामिछानेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *