पनौती । किसानको उत्पादनलाई व्यवस्थित बजारसँग जोड्ने उद्देश्यले राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेड र हिमाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबीच पनौती नगरपालिका–२, कुशादेवीमा कृषि उपज संकलन तथा बिक्री केन्द्र सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौतासँगै कुशादेवी तथा आसपासका क्षेत्रका किसानले उत्पादन गरेका कृषि उपजको संकलन, बजारीकरण तथा बिक्रीका लागि व्यवस्थित आधार तयार हुने अपेक्षा गरिएको छ । सहकार्यले किसानलाई उत्पादनसँगै बजारको सुनिश्चितता दिलाउने र कृषि उपजको उचित मूल्य प्राप्त गर्न सहयोग पुग्ने बताइएको छ ।
केन्द्रमार्फत किसानका कृषि उपज गुणस्तरका आधारमा संकलन तथा बजारीकरण गरिनेछ । बिक्री भएको कृषि उपजको रकम किसानलाई समयमै भुक्तानी गर्ने व्यवस्था मिलाइने जनाइएको छ । साथै किसानलाई राष्ट्रिय कृषि कम्पनीको किसान सञ्जालमा जोड्दै उत्पादन योजना, आधुनिक कृषि प्रविधि तथा बजारसम्बन्धी जानकारीमा पहुँच विस्तार गर्ने लक्ष्य राखिएको छ ।
सहकार्य अन्तर्गत Food Bank मार्फत प्रशोधित तथा गुणस्तरीय कृषि उपजलाई उपभोक्तासम्म पुर्याउने योजना पनि अघि सारिएको छ । यो पहललाई केवल कृषि उपज संकलन केन्द्र स्थापनाका रूपमा मात्र नभई किसान, सहकारी, कृषि कम्पनी र उपभोक्ताबीच प्रत्यक्ष कृषि मूल्य शृङ्खला निर्माण गर्ने प्रयासका रूपमा लिइएको छ ।
किसानको उत्पादनले सहज बजार पाउने, उत्पादनको उचित मूल्य सुनिश्चित हुने र उपभोक्ताले गुणस्तरीय कृषि उपज प्राप्त गर्ने वातावरण निर्माण गर्न केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
