पनौती । काभ्रेको पनौती नगरपालिका–१ अन्तर्गतका क्षेत्रमा बँदेलको प्रवेशका कारण किसानले लगाएको मकैबालीमा क्षति पुगेपछि वडा कार्यालयले क्षतिविवरण संकलन प्रक्रिया अघि बढाएको छ ।

वडा कार्यालयले सूचना जारी गर्दै बँदेलबाट मकैबालीमा भएको क्षतिको विवरण संकलन तथा आवश्यक प्रक्रिया अगाडि बढाउन सम्बन्धित किसानलाई सात दिनभित्र आवश्यक कागजातसहित वडा कार्यालयमा उपस्थित भई निवेदन पेश गर्न आग्रह गरेको छ ।

वडा कार्यालयका अनुसार क्षति दाबी गर्ने किसानले बँदेलबाट मकैबालीमा भएको क्षतिको विवरणसहितको निवेदन, क्षति भएको मकैबारी र सम्बन्धित व्यक्तिसमेत देखिने स्पष्ट फोटो, नेपाली नागरिकताको प्रमाणपत्रको फोटोकपी, जग्गाधनी प्रमाण पुर्जाको फोटोकपी, व्यक्तिगत स्थायी लेखा नम्बर को प्रमाणपत्रको फोटोकपी, बैंक खाताको चेकको एक प्रति तथा सम्बन्धित स्थानीय वन समितिको सिफारिस पेश गर्नुपर्नेछ ।

वडा कार्यालयले तोकिएको समयभित्र आवश्यक कागजातसहित निवेदन पेश नगरेमा क्षतिको विवरण संकलन तथा सम्बन्धित प्रक्रियामा समावेश गर्न कठिनाइ हुन सक्ने जनाएको छ ।

बँदेललगायत वन्यजन्तुका कारण कृषि बालीमा क्षति पुग्ने समस्या बढ्दै गएकाले किसानले लगाएको बालीको संरक्षण तथा क्षतिपूर्तिका लागि स्थानीय तहले पहल गर्नुपर्ने मागसमेत उठ्दै आएको छ । पनौती नगरपालिका वडा नं.१ कार्यालयले जारी गरेको सूचनामा वडा अध्यक्ष जयकुमार तामाङले हस्ताक्षर गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *