काभ्रे । प्राकृतिक उपचार पद्धतीका रुपमा चिनिदै आइएको आयुर्वेदिक उपचारको सेवा लिनेहरु बढ्दै गएका छन् ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेले धुलिखेलमा पत्रकारहरुसँग आयोजित अन्तरक्रियामा उक्त जानकारी दिइएको हो । चिकित्सालयका प्रमुख डा. अर्जुन उपाध्यायका अनुसार, आर्थिक बर्ष २०७९÷८० मा ३१ हजार ७ सय २१ जनाले सेवा लिएका थिए । यस्तै आर्थिक बर्ष २०८०÷८१ मा चिकित्सालयबाट २९ हजार ७ सय ८७ र जिल्लास्थित अन्य आयुर्वेद औषधालयबाट १७ हजार ७ सय २३ जनाले सेवा लिएका छन् ।
चालु आर्थिक बर्षको ५ महिनाको अवधीमा ५ हजार १ सय १ जनाले २२ हजार ९ सय ८९ पटक सेवा लिएको चिकित्सालयले जनाएको छ । ती मध्ये १ हजार ८ सय ९८ जनाले बहिरंग सेवा, ६ हजार ६ सय ६० वटा प्रयोगशाला परिक्षण, ३ हजार ८ सय जनाले योग प्रशिक्षण, ४ हजार ५ सय ९९ जनाले पूर्वकर्म र पञ्चकर्म, १ हजार १ सय ५५ जनाले अकुपन्चर, ३ सय ९ जनाले कपिङ, ९ जनाले व्लड लेफ्टिङ, ३ सय ३७ जनाले अकुप्रेसर र १० जनाले मोक्सीबुसन बिधीबाट सेवा लिएका छन् ।
सेवाका प्रकारसँगै प्रचार र विश्वास पनि बढेकाले बर्षेनी सेवाग्राहीको संख्या थपिने क्रममा रहेको बताइएको छ । सेवा र विश्वास दुवै बढेको कारण सेवाग्राहीको संख्या पनि बढ्दै गएको चिकित्सालयको दाबी छ । ‘सञ्चार क्षेत्रमार्फत धेरैले सेवाबारे जानकारी पाएकाले, यसको प्रभावस्वरुप सेवाग्राहीको संख्या बढी देखिएको छ ।’ प्रमुख डा. उपाध्यायले भने । आयुर्वेदमा काया चिकित्सा (सामान्य चिकित्सा) विशेषज्ञसमेत रहेका डा. उपाध्यायले मापदण्ड पूरा हुने खालको संरचना तयार गर्न सकिए चिकित्सालयमा शल्यक्रियासमेत गर्न जनशक्ति तयार रहेको बताए ।
हाल जिल्लाका धुलिखेल, दाप्चा, मंगलटार र बालुवामा रहेको आयुर्वेदिक औषधालय र बेथानचोक, भुम्लु, पनौती र मण्डनदेउपुरमा रहेका नागरिक आरोग्य केन्द्रमार्फत पनि सेवा प्रदान गरिएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेबाट बहिरंग सेवाका साथै पञ्चकर्म, पूर्वकर्म, अक्यूपञ्चर, फिजियोथेरापीका साथै २३ किसिमका औषधी निःशुल्क वितरण हुन्छ । पथ्यापथ्यनिर्देश, थेराप्युटिक योगका साथै प्रयोगशाला परीक्षण पनि हुने गरेको छ । औषधी वितरणका साथै योगासन, प्राणायाम, ध्यानका साथै पञ्चकर्म अन्तर्गत स्नेहन, स्वेदन, एकाङ्ग, सर्वाङ्ग सेवा उपलव्ध हुने चिकित्सालयले जनाएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले आयुर्वेदिक उपचार प्रति मानिसहरुको चासो र विश्वास रहेको भन्दै स्थानीय तहसँग समन्वय गर्दै जिल्लाका सबै भेगमा सेवा विस्तार र सुधार गर्न अनुरोध गरे । नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपानेले वैकल्पिक चिकित्सा प्रणाली मानिने आयुर्वेदलाई ‘निर्विकल्प’ को रुपमा विकास गर्नुपर्ने भन्दै त्यसको लागि सञ्चार क्षेत्रले सघाउने प्रतिवद्धता जनाए । चिकित्सालयका कविराज निरिक्षक प्रताप लामा, वरिष्ठ वैद्य जानुका भट्टराई ढुंगाना लगायतले आयुर्वेद सेवा प्रति विश्वास बढ्दै गएको भन्दै यसलाई थप विस्तार गर्नको लागि सञ्चार क्षेत्रले भूमिका खेल्ने अपेक्षा गरे । कार्यक्रममा संचारकर्मीका गुनासोहरुको अस्पतालका प्रमुख उपाध्यायले सम्बोधन गरेका थिए ।
यसरी हेर्दा गत आर्थिक वर्षमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेपलाञ्चोकबाट ४६ हजार ३४९ जनाले सेवा लिएको देखिन्छ । चिकित्सालयका प्रमुख डा अर्जुन उपाध्यायको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल रहेका थिए ।
यो चिकित्सकालय बागमती प्रदेशमा चितवनपछि धेरै सेवा प्रदान गर्नेमा परेको छ । यद्यपी जिल्लाका सबै स्थानीय तहमा आयुर्वेद सेवा पुग्न भने सकेको छैन । महाभारत गाउँपालिका, चौरीदेउराली गाउँपालिका, खानीखोला गाउँपालिका र तेमालमा अझै सेवा विस्तार हुन सकेको छैन । जिल्लाभर सेवा विस्तार गर्न पत्रकारले दिएको सुझाव अनुसार अब विकट गाउँमा पनि सेवा पुर्याउने लक्ष्य लिएको चिकित्सालयले जनाएको छ ।
आयुर्वेद स्वास्थ्य प्रणालीको महत्व
जुन मानिस शारीरिक मानसिक र सामाजिक दृष्टिकोणबाट स्वस्थ हुन्छ, त्यही मानिस वा व्यक्तिलाई स्वस्थ मानिन्छ । शरीरमा रोग नलाग्दैमा मानिसलाई स्वस्थ मान्न सकिँदैन । धनवन्तरी आयुर्वेदका भगवान् हुन् । समुद्र मन्थनको समयमा धनवन्तरी अमृत, शङ्ख, चक्र र जडीबुटीका साथ प्रकट भएका मानिन्छ । कात्तिक कृष्ण त्रयोदशीका दिन धनवन्तरी जयन्ती मनाउने गरिएको छ । विसं १९७४ मा आयुर्वेद चिकित्सा क्याम्पस, नरदेवी स्थापना भएदेखि नेपालमा धनवन्तरी जयन्ती’ मनाउन थालिएको हो । विसं २०५० देखि धनवन्तरी जयन्तीलाई राष्ट्रिय आरोग्य दिवसका रूपमा पनि मनाउने गरिएको छ । नेपाल भारत, श्रीलङ्का लगायतका दक्षिण एसियाली मुलुकहरूमा आयुर्वेदको प्रयोग निकै नै बढी छ । हाल विश्वभरि नै आयुर्वेद वैकल्पिक उपचार पद्धतिको रूपमा प्रख्यात हुँदै आइरहेको छ ।
हितायु, अहितायु, सुखायु एवं दुखायु यी चार प्रकारका आयुलाई हित र अहित गर्ने पश्य र अपश्यका साथै आयुको प्रमाण एवं स्वरूपलाई वर्णन गर्ने शस्त्र नै आयुर्वेद हो । दोष, धातु, मल र अग्निको क्रिया समावस्थामा रहनु तथा आत्मा, इन्द्रीय र मन प्रसन्न रहनु नै स्वस्थको परिभाषा हो ।
नेपालमा २०१३ सालदेखि नै प्रत्येक पञ्चवर्षीय योजनाको सोह्रै योजनासम्म र २०४८ सालदेखि सरकारका राष्ट्रिय स्वरूप नीति र आयुर्वेद सम्बन्धि नीतिहरू सबैमा नेपालमा प्रयोगमा लागू गरिएका स्वास्थ्य पद्धतिहरू एलोपेथिक आयुर्वेद, होमोप्याथिक, युनानी र योग तथा प्राकृतिक चिकित्सा पद्धतिलाई पनि मान्यता र महत्व दिइएको छ । कुनै पनि रोग लागेर मानिसले स्वास्थ्य सेवा नपाएर मृत्यु हुन नपरोस् भन्ने नै स्वास्थ्य सेवाको उद्देश्य हो । यो उद्देश्य पूरा गर्नेका लागि नेपालमा पाँच प्रकारका उपचार पद्धतिको लागू गरिएको छ । वैज्ञानिकको प्रमाणितको आधारमा आधुनिक चिकित्सा पद्धति लागू गरिएको हो ।
यी पद्धतिमध्ये नेपालमा आयुर्वेद पद्धतिलाई पनि अग्रस्थान राखी यसको उपचारबाट मानिसहरूको स्वास्थ्य ठूलो पहुँच पु¥याउने उद्देश्यले सङ्घ, प्रदेश र स्थानीय तहसम्म आवश्यक व्यवस्था गरी आयुर्वेद स्वास्थ्य सेवालाई पनि गाउँसम्म पु¥याइएको छ ।
वैदिक कालदेखि नै हरेक व्यक्तिको स्वास्थ्य रक्षा र रोगीको रोग निवारण गर्ने सनातन पद्धतिको रूपमा प्रचालित भए तापनि नेपालमा आयुर्वेद औषधी निर्माणको संस्थागत विकास ३५० वर्ष अघि तत्कालिन राजा प्रताप मल्लका पालादेखि भएको र चिकित्सालय सेवाको संस्थागत विकास विसं १९७४ देखि भएको पाइन्छ । तकालीन प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरले आयुर्वेद पठनपाठन सुरु गरी त्यसपछि विसं २०७३ देखि त्रिचन्द्र आयुर्वेद औषधालयको स्थापना गरि यी विधिहरूलाई रोग प्रकृति र शरीरको आवश्यकता अनुसार प्रयोग गर्न थालिएको हो ।
नेपालमा सञ्चालित पाँच वटा स्वास्थ्य प्रणाली मध्ये सबैभन्दा पुरानो र विश्वसनीय आयुर्वेद प्रणाली मानिएको छ । नेपालको स्वास्थ्य क्षेत्रमा आयुर्वेद पद्धतिको उल्लेखनीय सहयोग र योगदान छ । यति हुँदाहुँदै पनि यस प्रणालीको प्रभावकारिता र विश्वसनीयताको बारेमा राष्ट्रियस्तरको अनुसन्धान गर्नुपर्ने आवश्यकता देखापरेको छ ।
आयुर्वेद जीवनशैली अन्तर्गतका ऋतुचर्या, दिनचर्या, रात्रिचर्या, आचार रसायन, सद्वृत्त, ऋतुशोधन, योग तथा ध्यान कार्यक्रमसम्बन्धमा जनचेतना फैलाइ नसर्ने रोगको रोकथाममा टेवा पु¥याउनु पर्छ । वातावरण संरक्षण तथा वातानुकूलनमा सहयोग पु¥याउने वर, पिपल, समी जस्ता वृक्षको सङ्ख्या बढाउन चौतारी संस्कृति र परम्परालाई बढावा दिने तथा आयुर्वेदप्रदत्त अन्य स्वास्थ्य विधिहरूको संरक्षण र प्रवर्धन गर्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ । आयुर्वेद चिकित्सा सेवाको प्रभावकारिता बढाउन आयुर्वेद स्वास्थ्य संस्थामा कार्यरत विभिन्न तहका स्वास्थ्यकर्मीलाई क्षमता विकाससम्बन्धी तालिम, गोष्ठी तथा सेमिनार एवं संस्थामा भौतिक पूर्वाधार सम्पन्न बनाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउन पहल हुनुपर्छ । अझै पनि आयुर्वेद स्वास्थ्य प्रणालीलाई देशभरि नै यसको आवश्यकता र महत्वको लागि नीति निर्माता, योजनाकार, विज्ञहरूलगायतले स्वास्थ्य क्षेत्रमा अग्रणीरूपमा नै समावेश गरी व्यापक रूपमा जनचेतना जगाउने आवश्यकता रहिआएको छ ।
