बनेपा । काभ्रे बहुमुखी क्याम्पसले सामुदायिक क्याम्पसहरूले लामो समयदेखि भोगचलन गर्दै आएका सरकारी तथा ऐलानी जग्गासम्बन्धी सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाएको छ । क्याम्पसले उक्त फैसला सामुदायिक क्याम्पसहरूको हित प्रतिकूल रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

काभ्रे बहुमुखी क्याम्पसले सामुदायिक क्याम्पसहरूको जग्गाको भोगाधिकार अन्त्य गरी उक्त जग्गा भाडामा लिनुपर्ने विषयमा नेपाल सरकार मन्त्रिपरिषद्को कार्यालयसमेतलाई विपक्षी बनाई सर्वोच्च अदालतमा उत्प्रेषण निवेदन दायर गरेको थियो । क्याम्पसका अनुसार सर्वोच्च अदालतले २०८३ साल साउन २८ गते उक्त रिटमा फैसला गरेको हो ।

क्याम्पसले जारी गरेको वक्तव्यमा सर्वोच्च अदालतको फैसलाले मुलुकभरका सामुदायिक क्याम्पसलाई प्रत्यक्ष प्रभाव पार्ने जनाइएको छ । फैसलाको पूर्ण पाठ अध्ययन गरेपछि यस विषयमा क्याम्पसको आधिकारिक धारणा सार्वजनिक गरिने पनि क्याम्पसले जनाएको छ ।
काभ्रे बहुमुखी क्याम्पसका अनुसार उक्त रिट केवल आफ्नो क्याम्पसको हितका लागि मात्र नभई नेपालभर रहेका गैरनाफामूलक सामुदायिक क्याम्पसहरूको हितका लागि दायर गरिएको थियो । रिटमा सामुदायिक क्याम्पसहरूले निजी कलेजहरूले जस्तै जग्गा भाडामा लिएर सञ्चालन गर्नुपर्ने अवस्था सिर्जना भए भविष्यमा गैरनाफामूलक सामुदायिक क्याम्पसका रूपमा सञ्चालन हुन कठिन हुने प्रश्न उठाइएको थियो ।

क्याम्पसले सामुदायिक क्याम्पसले भोग गरिरहेका जग्गाहरू हक हस्तान्तरण गर्न नपाउने शर्तमा क्याम्पसको नाममा दर्ता गरिनुपर्ने धारणा राख्दै आएको क्याम्पस प्रमुख के.जी. बैदारले बताउनुभयाे । तर विभिन्न समयमा बनेका सरकारले सामुदायिक क्याम्पसहरूले जग्गा लिजमा लिएर सरकारलाई भाडा बुझाउनुपर्ने तथा सामुदायिक क्याम्पसलाई ‘व्यावसायिक संस्था’ का रूपमा दर्ता गर्नुपर्ने दृष्टिकोण राखेको क्याम्पसको भनाइ छ । यही दुई सैद्धान्तिक दृष्टिकोणबीचको द्वन्द्वको निरूपणका लागि काभ्रे बहुमुखी क्याम्पसले सर्वोच्च अदालतमा रिट दायर गरेको वक्तव्यमा उल्लेख छ ।

क्याम्पसका अनुसार सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्दा सामुदायिक क्याम्पसहरू निजी क्याम्पससरह नाफा कमाएर भाडा तिर्नुपर्ने अवस्थामा पुग्ने वा सामुदायिक क्याम्पसलाई पनि निजी क्याम्पसजस्तै बनाउने परिस्थिति सिर्जना हुने देखिएको छ । यस्तो अवस्था सामुदायिक क्याम्पसको मर्म तथा ‘सस्तो र सुलभ शिक्षा’ भन्ने राष्ट्रिय अवधारणाका लागि समेत प्रतिकूल हुने क्याम्पसको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *