मच्छेश्वर सापकोटा
भगवानले दिएको प्रतिभालाई उमेरले छेक्तो रहेनछ । शब्दकलाका पारखी, शब्दसारथि, भाषासेवी, ग्रन्थसम्पादक, लेखक तथा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्री ६४ वर्षको उमेरमा गायक र सङ्गीतकारका रूपमा देखापर्नुभएको छ । उहाँले आफूले लेखेको गानमा आफैँले सङ्गीत भरेर गाउनुभएको छ र अरूलाई पनि गाउन लगाउनुभएको छ । उहाँलाई उहाँका छोरा सफ्टवेयर इन्जिनियर रोशन मञ्जुश्रीले साथ दिएका छन् । उनले ‘अक्षरधाम’ युट्युब च्यानलमा हरि मञ्जुश्रीका गीतहरू राखेका छन् ।
हरि मञ्जुश्रीका एक दर्जनभन्दा बढी गानहरू सार्वजनिक भइसकेका छन् । उनका गानहरू सन्देशमूलक छन् । जाति, वर्ण, गुण, काम र धर्मका नाउँमा भेद गर्नु हुँदैन, विवाद गर्नु हुँदैन भन्ने वैदिक सन्देश उनका गानहरूले दिएका छन् । उनका गीतमा पाइने सन्देशहरू वेदका सन्देशहरू हुन् । उनका गानहरू वेदान्त दर्शनमा आधारित भएकाले तिनलाई आध्यात्मिक गान भनिएको छ ।
गीत–सङ्गीतको क्षेत्रमा लागेर म रेडियो नेपालमा पसेको ५० वर्ष भयो । त्यसभन्दा अघि १०–१५ वर्षसम्म मैले अरू साधना गरिसकेको थिएँ । अझै पनि म सङ्गीत सिक्तैछु । किनभने मैले जानिसकेको छैन । हरि मञ्जुश्रीले शब्दयात्रा प्रकाशन सुरु गर्नुभएको अहिले १३ वर्ष भयो । उहाँलाई अग्रजहरूले ‘कुरा मात्रै ठूला गरेर हुँदैन, काम गरेर देखाउनुुपर्छ’ भनेर सिकाउनुभएको रहेछ । त्यसैले उहाँले काम गरेर देखाउनुभयो । शब्दयात्रा प्रकाशन यस कुराको प्रमाण हो । उहाँको गानाका बारेमा कुरा गर्दा यसको उचाइको बयान गरेर साध्य नै छैन । मैले नातिकाजी, शिवशङ्कर, उस्ताद गोविन्दलाल नेपाली, उस्ताद भैरवबहादुर थापा, एलपी जोशी, कुमार बस्नेत जस्ता धेरैजनाको सङ्गत गरेँ । म साधना गरिरहेको छु । मेरो उमेर धेरै माथि पुगिसक्यो, तैपनि साधना गर्दैछु । म सङ्गीत सिक्तैछु भन्ठान्छु । हरि मञ्जुश्रीले त एक वर्षभित्रै एक दर्जनभन्दा बढी राम्रा–राम्रा गाना ल्याउनुभयो ।
म उहाँलाई भन्ने गर्थें तपाईंको भविष्य धेरै राम्रो छ भनेर । गायन क्षेत्रमा तपाईं लाग्नुस् भनेर म बारम्बार भनिरहन्थेँ । अहिले उहाँलाई साइत जुरेछ र गाना ल्याउनुभयो । एक वर्षको अन्तरालमै भटाभटी एक दर्जन गीत आफैँले लेखेर, आफैँले सङ्गीत भरेर, मलाई सुपरिवेक्षक बनाएर स्वराङ्कन गराइसक्नुभयो । उहाँ आफूले गरेको कामका बारेमा भन्न हिचकिचाउनुहुन्छ । मेरा गीतमा मेरो पनि मेरो स्वर छ भनेर उहाँले भन्नुभएको छैन । उहाँ कुरा नगरी काम गरेर देखाउनुहुन्छ । त्यसैले मेरो शब्द, मेरो सङ्गीत र मेरो स्वर हो भनेर उहाँले भन्नुभएन ।
अहिले पाश्चात्य सङ्गीतले पेलमपेल गरिरहेको बेलामा, अङ्ग्रेजी गीतले झ्याली पिटेको बेलामा आध्यात्मिक गीत रचना गरेर, आफैँले सङ्गीत भरेर आफैँले स्वराङ्कन पनि गर्नु लर्तरो कुरो होइन । मलाई रेडियो नेपालमा जाँदा रचना आफ्नै, सङ्गीत आफ्नै, स्वर पनि आफ्नै भएकाले तपाईं धेरै भाग्यमानी हुनुहुँदो रहेछ भन्थे । त्यो सुनेर मलाई चाहिँ म के गर्छु र जस्तो लाग्थ्यो । अहिले हरि मञ्जुश्रीको सङ्गीतयात्राले मलाई दङ्गै पारिदिएको छ ।
हरि मञ्जुश्रीले विभिन्न क्षेत्रमा गरेको काम देख्ता म छक्क पर्छु । शब्दयात्रा प्रकाशन खोलेको छोटो अवधिमा उहाँले गरेको काम देखेपछि सबैतिर आफ्नो दृष्टि पुग्दैन भनेर भगवानले हरि मञ्जुश्रीलाई दूत बनाएर पठाएको रहेछ भन्ठानेको छु । शब्दयात्रा प्रकाशन भनेको भगवानको दूतावास हो र हरि मञ्जुश्री चाहिँ भगवानको दूत हुनुहुन्छ जस्तो लाग्छ । यसो भन्दा अतिशयोक्ति होला जस्तो मलाई लाग्दैन । चौँसट्ठी वर्षको उमेरमा पहिलोपटक स्वराङ्कन गर्नुभएको उहाँको गाना सुन्दा हामी सबैजना छक्क पर्छौं । अहिले त उहाँको स्वर र सङ्गीत यति राम्रो छ भने बेलैदेखि उहाँले यस्तो काम गरेको भए नेपाली गीत–सङ्गीतको उचाइ कति माथि पुग्थ्यो होला भन्ने लागेको छ ।
उहाँका गानाहरू धेरै उचाइका छन् । उहाँको सङ्गीत त्यस्तै राम्रो छ । रचना त झनै उच्च स्तरको छ । यसमा हामी सबै नेपालीले गर्व गर्नुपर्छ । उहाँको कर्मक्षेत्र काभ्रेपलाञ्चोक जिल्ला भएकाले यस जिल्लाले त झन् बढी गर्व गर्नुपर्छ । म उहाँको र शब्दयात्रा प्रकाशनको जय होस् भन्दै उहाँका अबका गीतहरू पनि यस्तै उच्च कोटिका बनुन् भन्ने कामना गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *