ज्ञानमणि नेपाल कालोटोपी

हरेक दिनपछि रात आउँछ र यो प्रकृतिको नियमित प्रक्रिया पनि हो । मानिसहरु दिनको उज्यालोमा मात्र भविष्य देख्छन् तर कालो अँध्यारोलाई बेवास्ता गर्छन् । यहाँ बुझ्नुपर्ने कुरा के छ भने दिनको उज्यालोमा त सबैले देख्छन् नै, रातको अध्यारोमा पनि त केही उज्यालो लुकेको हुन्छ नि । तर यसलाई देख्ने क्षमता धेरै कमको मात्र हुन्छ । भन्न खोजेको कुरा के हो भने मानिसको जीवनमा पनि दुःख र सुख आइरहेका हुन्छन् । सुखमा त सबै रमाउँछन् , तर के हामी दुःखमा रमाउन सक्छौं त ? हो यसमै छ जीवनको यथार्थता । मानिस सुखको भोग गर्न मात्र जन्मिएको होइन नि, दुःखको अनुभव गर्न सक्ने मान्छे हो भविष्यमा सफल हुने पनि ।

मानिसले खासै ध्यान दिएका हुँदैनन्, जरुरतभन्दा धेरै कुराकानी, जरुरतभन्दा धेरै लगाव, जरुरतभन्दा धेरै आशा जरुरतभन्दा धेरै विश्वासले अन्त्यमा मानिसलाई पीडा मात्र दिन्छ । तर चाहिने जति भने आवश्यक नै हुन्छ । आशा गर्न छोड्नु हुँदैन, किनकी जिन्दगी नै आशैआशामा बाँचेको हुन्छ । सफलताको रहर नहुने को होला र ? तर असफलताको पीडालाई अँगाल्न सक्ने साहस केवल थोरै व्यक्तिमा मात्र हुन्छ । त्यो साहसले मात्रै हरेक सपनालाई विपनामा बदल्न सक्छ ।

मानिसको जीवनमा यात्रा गर्दा सँगै भेटिने मान्छे सधैं सँगै हुँदैनन् । मिलन जहाँ हुन्छ नि, त्यहाँ विछोड पनि सँगै आएको हुन्छ । कहिलेकाहिँ संगतले मुटुमै बसेका मान्छेहरु पनि कालान्तरमा आँखाको कसिंगर जस्तै हुन्छन् । कहिले त ऊ संसारकै सबैभन्दा ठूलो र आवश्यक मान्छे जस्तो लाग्थ्यो नि तर केही स्वार्थ पूरा भएन भने त्यहि मानिस हो लुगामा लागेको धुलो जस्तो हुने, जसलाई मानिसहरु टक्टक्याएर उडाइदिन्छन् ।

मानिसको जीवन विश्वासमा अडिएको हुन्छ । जहाँ विश्वास छ, त्यहाँ बाटाहरु अवश्य खुल्छन् । तर आफ्नो क्षमतामै पनि मान्छेहरु शंका गर्छन् र विश्वास टुटाउँछन् । हामीले निरन्तर मिहेनत र प्रयास गरिरहनु पर्छ, सफलताको यात्रा आफूभित्रै रहेको हुन्छ । सम्बन्ध विगार्ने भनेको शंकाले हो जसको कुनै उपचार छैन । विश्वास जस्तो महंगो केही हुँदैन र शब्द जस्तो तिखो वाण पनि संसारमा कुनै वैज्ञानिकले निर्माण गरेका छैनन् होला शायद ।

संसारमा धेरै मानिसहरु आआफ्नै सम्बन्ध र संस्कारमा हुर्किरहेका हुन्छन् । यहि शिलशिलामा गाँसिएका कुनै कुनै सम्बन्धहरु यति प्यारा हुन्छन्, ती वरपीपल जस्तै लाग्छन् । नजिक राख्न पनि नमिल्ने, टाढा राख्न त मनै नलाग्ने । यहि दोधार र समस्याका बीच पनि मानिसले जीवन काटिरहेको हुन्छ । कोहीसँगको सम्बन्ध टुटेपछि हाँस्नेहरु धेरै भेटिन्छन् । कोही सफल भएपछि ताली बजाउनेहरुलाई दिउँसै वत्ती बालेर पनि खोज्न सकिँदैन । त्यसैले हामीले संघर्ष गर्न सक्नुपर्छ, जसले ताली होइन, इतिहास बदल्ने लक्ष्य राखोस् ।

मान्छेको स्वभाव पनि अचम्मको हुन्छ । तपाईंले जीवनमा उसलाई हजारौं गुन लगाउनु भएको छ भने पनि उसले तुरुन्तै विर्सिन्छ तर कहिलेकाहिँ झुक्किएर एक बैगुन मात्रै लगाउनुभयो भने पनि त्यसलाई मनमा विझाउने बनाएर राखिरहन्छ । तर हामीले यो विर्सनु हुँदैन कि चाहे सिंहभन्दा तेज गतिमा दौडियोस्, हात्तीभन्दा बलियो भएको घमण्ड राखोस्, अथवा कुबेर किन्ने धन नै किन नहोस्, मान्छे समयको अघिल्तिर सधैं सामान्य नै हो । समय आएपछि उसले सबै कुरा छोडेर जानु पर्छ, त्यो तपाईंले सधैं सिंगारपटार गरेर राखेको र सुन्दर मानिएको शरीर नै किन नहोस् ।

मानिसको अनुहारले राम्रो र नराम्रो भनेर तुलना गर्न सकिँदैन र गर्नु पनि हुँदैन । यहाँ यो बुझ्नु पर्छ कि मान्छे नराम्रो कोही हुँदैन । नराम्रो त उसको दुश्मनी हो, इगो नराम्रो हो । वैमनश्य नराम्रो हो, अरुका नभएका कमजोरी खोतल्नु र आफ्ना कमजोरी स्विकार गर्न नसक्नु नराम्रो हो । त्यसैले राम्रो र नराम्रो व्यवहारमा हुन्छ, बाहिरी बनावट र देखावटमा होइन । हामीले हरेक क्षण जीवनमा धेरै कुराहरु गुमाइरहेका हुन्छौं । गुमाएका कुराहरु वीरलै फर्किन्छन् । सबैभन्दा ठूलो कुरा त मानिसले आफूलाई नै गुमाउनु ठूलो नोक्सानी हो । त्यसैले आफ्नो पहिचान र मूल्यलाई आफैंले चिनेर अघि बढ्न सकियो भने जीवनको यात्रा निकै सरल र सहज छ नत्र कठिन मात्र होइन, महाकठिन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *