काभ्रे जिल्लाको मण्डनदेउपुर–१० चण्डेनीमण्डनस्थित ज्वानेटारको तीन सय रोपनी खेतमा यतिबेला सिंचाईमा चरम समस्या देखिएको छ ।
गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाले वर्षौंदेखि सिंचाई हुँदै आएको कुलोको बाँध पूर्णरुपमा क्षति गरेपछि यहाँका खेतीयोग्य जमिनमा सिंचाई समस्या भएको हो । खेतभन्दा दुई किलोमिटरमाथिबाट ल्याइएको पानीको मुहानमा बाढीले कटान मात्र गरेको छैन, स्थानीयहरुका धान खेत नै बगाएको छ । केही दिनअघि स्थानीय किसानहरु कुलो मर्मत र बाँध निर्माणका लागि जुटेका थिए । कुलो अस्थायीरुपमा जेनतेन मर्मत गरिए पनि बाँध निर्माणमा भने निकै समस्या परेको स्थानीय कृषक गणेशप्रसाद नेपालले बताएका छन् ।
उनका अनुसार दुई किलोमिटरको कूलोको अधिकांश भागमा पहिरो गएको छ । ती पहिरोहरु किसानहरुले जनश्रमदान गरेर हटाइए पनि बाँधमा भने निकै खर्च लाग्ने भएको छ । बाँधमा पनि अस्थायीरुपमा ढुंगाले पर्खाल त बनाइएको छ तर त्यो भरपर्दो छैन । बनाइनसक्दै भत्किएपछि किसान थप समस्यामा परेका हुन् ।
यसभेगमा सयौं वर्षदेखिको कूलो यो पटकको बाढीले नराम्ररी क्षति गरेको छ । यहाँका किसानले मौसमी र बेमौसमी तरकारीका साथै धान, मकै, आलु, गहुँ, तोरीलगायतका खाद्यबाली लगाउँदै आएका थिए । तर सिंचाई कूलो नै बगाएपछि अब यहाँ खेती गर्न नसकिने अवस्था आएको किसानहरुले बताए । अहिलेकै सिजनमा लगाइएको धानबाली पनि प्रभावित भएको र उत्पादन घट्ने भएकाले किसान चिन्तित भएका हुन् । यहाँ दीगोरुपमा बाँध बनाउनका लागि किसानहरुको स्रोतसाधनले मात्र नपुग्ने भएको छ । यसका लागि वडा, नगरपालिका तथा जिल्ला सिंचाई कार्यालयकै भर पर्नुपर्ने अवस्था आएको किसानहरु बताउँछन् ।
तर यतिबेला समग्र नगरपालिका र काभ्रे जिल्ला नै बाढीपहिरोले नराम्ररी प्रभावित भएकाले कतैबाट पनि किसानले सहयोग पाएका छैनन् । पहिलो प्राथमिकता नागरिकको जीउधनको रक्षा भएकाले स्थानीय तहहरु यतिबेला पीडितहरुलाई राहत र उद्धारमै खटिएका छन् । त्यसैले उनीहरुले कृषि लगायत अन्य क्षेत्रमा विनियोजन गरेको बजेट कटौती गर्दै धमाधम बाढीपहिरो प्रभावितको उद्धारका लागि खर्च गरिरहेका छन् । यसले सोचेजसरी काम गर्न नसकेको मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइवाले बताए । यो वर्ष कृषिमा विगत जसरी सहयोग गर्न नसकिने भए पनि जे जति स्रोतले भ्याउँछ त्यो भने नरोकिने उनले प्रष्ट पारे ।
मण्डनदेउपुर नगरपालिकामा पछिल्लो बाढीपहिरोमा ७ जनाले ज्यान गुमाए भने वडानम्बर ९, १०, ११ र १२ नराम्ररी क्षतिग्रस्त भएका छन् । यहाँका पाँचसय घरहरु आंशिक तथा पूर्ण क्षति भएका छन् भने सयौं रोपनी खेतीयोग्य जमिन बगाएको छ । यस्तै पशुधनको पनि लाखौंको क्षति भएको छ । सबैतिर एकै पटक धेरै क्षति भएकाले यहाँको सिंचाई कूलो मर्मतका लागि आउनुपर्ने जति सहयोग नआएको हो । सरकारले २५ लाख जति विनियोजन गर्ने हो भने यहाँको कूलो र बाँधको समस्या समाधान हुने किसानहरुको भनाइ छ । यसतर्फ सम्बन्धित निकायले ध्यान दिनु जरुरी देखिन्छ ।
