बाढीपहिरोले जिल्लामा जनधनको ठूलो क्षति पुर्याएपछि स्थानीय तहलाई खोज, उद्धार तथा राहत व्यवस्थापन गर्न डेढ महिना लागेको छ । गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले काभ्रेपलाञ्चोकका विभिन्न स्थानीय तहमा जनधनमा क्षति पुर्याउँदा कतिपय घरबारविहीन बनेका छन् । बढी क्षति पुगेका जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित पनौती नगरपालिका तथा बेथानचोक र रोशी गाउँपालिकामा खोज, उद्धार तथा राहत व्यवस्थापनपछि पुनर्बास एवं आवास निर्माणका लागि यकीन तथ्याङ्क सङ्कलन कार्यमा स्थानीय तह लागेका छन् । यी स्थानीय तह जिल्लाका १३ स्थानीय तहमध्ये अतिप्रभावित क्षेत्रमा पर्दछन् ।
कृषि, पशु, शिक्षा, सडक, सञ्चार तथा विद्युतका क्षेत्रमा क्षति पुर्याउँदा स्थानीय नागरिक कष्टकर जीवन बिताउन बाध्य छन् । तर घटनाको डेढ महिना बितिसक्दा पनि जिल्लामा मानवीय क्षतिबाहेक अन्य विविध क्षतिबारे पूर्ण विवरण सङ्कलन हुन सकेको छैन । स्थानीय तहले पनि यस समयमा आफ्नो क्षेत्रमा भएका क्षतिको पूर्ण विवरण सार्वजनिक गर्न सकिरहेका छैनन् ।
बाढीपहिरोबाट अतिप्रभावित पनौती नगरमा खोज, उद्धारसँगै सबै वडा जोड्ने सडकको ट्रयाक खोलिएको छ भने क्षतिग्रस्त खानेपानी आयोजनाको दीर्घकालीन समाधानका लागि योजनाको लागत अनुमान गर्ने कार्य अघि बढाइएको छ । पनौतीका नगरप्रमुख रामशरण भण्डारीले अब क्षतिग्रस्त विद्यालयमा कक्षा सञ्चालन गर्न अस्थायी सिकाइ केन्द्र निर्माण, सिँचाइका योजनाको मर्मत, क्षति भएका स्वास्थ्य संस्थालाई नियमित सञ्चालनका लागि काम सुरु गरिने जानकारी दिनुभयो । उहाँका अनुसार पूर्णक्षति भएका पाँच सय परिवारलाई तीन चरणमा राहत वितरण गरिएको छ । पनौतीमा १८ जनाको बाढीपहिरोबाट मृत्यु भएको थियो ।
उता रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले खोज, उद्धारको काम सकिएसँगै प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा वितरण तथा बाढीपहिरोबाट पूर्णरूपमा घर क्षति भई समस्यामा परेका एक सय १० परिवारमध्ये पाँच जनासम्मको परिवारका लागि १५ हजार र पाँचभन्दा बढी सदस्य भएका परिवारलाई २० हजारका दरले राहत रकम उपलब्ध गराइएको जानकारी दिनुभयो । उहाँका अनुसार बाढीपहिरोमा मृत्यु भएका १२ जनाको परिवारलाई सरकारले उपलब्ध गराएको दुई लाख तथा गाउँपालिकाले किरिया खर्चबापत ५० हजार थप गरी नगद राहत हस्तान्तरण गर्ने कामसमेत हालै सम्पन्न गरिएको छ । उहाँका अनुसार प्रारम्भिक तथ्याङ्क अनुसार बाढीपहिरोबाट गाउँपालिकाभित्र रहेका करिब तीन सय ५० घर पूर्णरूपमा क्षति भएको पाइएको छ ।
बाढीपहिरोमा परी १२ जनाको मृत्यु भएको बेथानचोक गाउँपालिकामा हाल पीडित परिवारलाई राहतसँगै अवरुद्ध सडक खोलिएको छ भने बिजुली, इन्टरनेट सेवा, टेलिफोन सेवा सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताउनुभयो । बाढीपहिरोबाट घरजमिनसमेत बगेका परिवारको तथ्याङ्क सङ्कलन भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार बेथानचोकमा चार हजार चार सय प्रभावित परिवारमध्ये पाँच सय ५० घर पूर्णक्षति भएको प्रारम्भिक तथ्याङ्कबाट पाइएको छ ।
यस्तै नमोबुद्धका नगरप्रमुख कुन्साङ लामाले पनि बाढीपहिरोबाट प्रभावित तथा पूर्ण क्षति भएका परिवारको तथ्याङ्क सङ्कलन तथा अद्यावधिक गर्ने काम भइरहेको बताउनुभयो । यकिन तथ्याङ्क सार्वजनिक गरी सरकारको राहत रकम प्रदान गरिने उहाँले उल्लेख गर्नुभयो ।
काभ्रेपलाञ्चोकमा बाढीपहिरोबाट ७८ जनाको निधन भएको थियो भने छ जना अझै बेपत्ता छन् । उक्त बाढीपहिरोबाट ७५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । यसरी पालिकाहरुले तथ्यांक संकलन भइरहेको बताए पनि ढिलो हुँदा प्रभावित भने झन पीडामा छन् । सरकारले दिने सहयोग र शुरु हुनुपर्ने पुनर्निमाणका काम हुन पाएका छैनन् भने पीडितले जाडो महिनामा थप समस्या झेल्नु पर्ने देखिएको छ । यसर्थ प्रभावितहरुको तथ्यांक छिटो सार्वजनिक गरेर पुनर्निर्माणमा स्थानीय तहहरु लागिपर्नु पर्ने देखिन्छ ।
