ज्ञानमणि नेपाल कालोटोपी
बनेपा । हरेकजसो कृषि उत्पादनको सम्भावना रहेको नेपालमा हुनुपर्ने जति र गर्नुपर्ने जति खेती नभएकै कारण आज सबैजसो कृषि उत्पादनहरुमा परनिर्भरता वढेको मात्र छैन, त्यस्ता उत्पादनहरुको खरिदका लागि बर्षेनी अर्बौं रुपैयाँ विदेश पठाउनु पर्ने बाध्यता पनि छ । यो एकातिर हाम्रो सम्भावनाको दुरुपयोग हो भने अर्कातिर कृषिप्रधान देशको उपहास मात्र होइन , राष्ट्रिय सम्पतिको बदमासी पनि हो । सम्भावना भएजति सबैको उत्पादन गर्ने हो भने थोरै वस्तुहरुको मात्र आयात गर्नु र धेरै वस्तुको निर्यात गर्न सक्ने सम्भावनालाई नकार्न सकिंदैन । यद्यपी केहि वस्तुहरुको निर्यात भएपनि त्यो सम्भावनाको २ प्रतिशत पनि छैन । बाँकी कृषिउपजहरु कागजमै मात्र सिमीत छन् । यो ज्यादै दुःखद कुरा हो ।
सम्भावना भएका मध्ये नेपालमा जीराखेती पनि एक हो । तर यसलाई अहिलेसम्म न सरकारले प्राथमिकतामा राख्यो न यसतर्फ सम्बन्धित कृषकहरु नै लाग्न सके । जसको परिणाम स्वरुप आज बर्षेनी दुई अर्बभन्दा धेरै मूल्यको जीरा भारत लगायतका अन्य तेस्रो मुलुकबाट नेपाल ल्याउनु परिरहेको छ । आर्थिकवर्ष ०६८ ÷०६९ मा ६ हजार ३३ मेट्रिक टन जीरा आयात गरिएको थियो । जुन तत्कालिन मूल्य अनुशार ५८ करोड ३९ लाख बराबरको थियो । गएको आर्थिकवर्ष ०७२ ÷०७३ मा ६ अर्ब ९५ करोड ९५ लाख रुपैयाँ बराबरको चिया–कफि र मसलाजन्य वस्तुको आयात भएको थियो । जसमध्ये डेढ अर्बको जीरा मात्रै आयात भएको देखिन्छ । अहिले नेपाली बजारमा प्रतिकेजी जीराको ७ सय रुपैयाँभन्दा धेरै पर्छ । र यसको आयात चार वर्ष यता दोब्बरले वृद्धि भएको तथ्याङ्क देखाउँछ ।
हरेकजसो भान्सामा जीरा अनिवार्य झैं छ । कुनै न कुनै तरिकाले हामी यसको प्रयोग दैनिकरुपमा गरिरहेका हुन्छौं । मानौं यो दाल–चामलभन्दा कम महत्वको छैन । तर पनि नेपालमा यसको व्यवसायीक खेती गर्नतिर कसैले पनि खासै चासो राखेको देखिँदैन । राष्ट्रिय मसलाबाली विकास कार्यक्रमले अनुसन्धान गरेअनुशार नेपालमा जीरा खेतीको राम्रो सम्भावना छ ।


नुवाकोट, सिन्धुपाल्चोक, नवलपरासी, काभे्र, मकवानपुर, दोलखा, सल्यान, रुकुम , मोरङ, कैलाली , कास्की र पाल्पा लगायतका जिल्लाहरुमा यसको राम्रो उत्पादन गर्न सकिन्छ । यसमध्ये नुवाकोट, सल्यान, रुकुम र दोलखामा प्रतिरोपनी १० केजीसम्म जीरा फलेको पाइएको छ । यो न्यूनतम उत्पादन हो । त्यस्तै दाङ, नवलपरासी, मकवानपुर, मोरङ, कास्की , पाल्पा र सिन्धुपाल्चोकमा प्रतिरोपनी १५ केजीसम्म जीराको उत्पादन भएको अनुसन्धानबाट देखिएको छ ।
यसैगरि काभ्रे र नुवाकोटकै केहि भेगमा भने यसको प्रतिरोपनी १५ केजीभन्दा धेरै उत्पादन भएको देखिन्छ । यसमा व्यवसायीकता अपनाउन सक्ने हो भने प्रतिहेक्टर ६ सय केजीसम्म जीरा फलाउन सकिने अनुसन्धान बताउँछ । यति धेरै सम्भावना भएर पनि जीराखेतीलाई व्यवसायीकरुपमा गर्न सकिएको छैन । यद्यपी केहि कृषकहरुले भने आफ्नो घरायशी प्रयोगका लागि मात्र भएपनि करेसाबारी र घरको वरिपरि यसको खेती गर्ने गरिएको पाइन्छ ।
जीरा खेतीको विश्व इतिहास केलाउने हो भने यसको उत्पति इजिप्टको मिश्रमा भएको पाइन्छ । त्यहाँबाट शुरु भएको जीराखेतीले विश्वका प्रमुख व्यापारिक राष्ट्रहरु इरान, इराक, साउदीअरब, चीन, भारत, इन्डोनेशिया लगायतमा आफ्नो स्थान बलियो बनाएको छ । यी देशहरुमा यसको उत्पादन ठूलो मात्रामा हुने गरेको छ । यो अलि सुख्खा ठाउँ र उष्ण तथा समउष्ण हावापानी भएका भेगहरुमा उत्पादन गर्न सकिने मसलेबाली हो । तर धनियाँ जस्तो सहजै यसको खेती गर्न भने अलि कठिन नै छ । १ सय ग्राम जीराको दानामा पानीको मात्रा १२ प्रतिशत रहने गरेको छ । त्यस्तै प्रोटिन १८.७ प्रतिशत, चिल्लो पद्धार्थ १५ प्रतिशत, कार्बोहाइड्रेट ३६.६ प्रतिशत, क्याल्सियम १.०८ प्रतिशत, फस्फोरस ०.४९ प्रतिशत , खनिज ५.८ प्रतिशत, रेशा ५.८ प्रतिशत र अन्य ४.५३ प्रतिशत पाइन्छ ।
नेपालमा जीराको खेती जात र ठाउँअनुशार फरकफरक तरिकाले गर्न सकिने अध्ययनले देखाएको छ । नेपालका लागि सिफारिस गरिएका जीराको जात मध्ये आरजेड–१९, आरजेड–२०९ , जिसी –१, जिसी–२ लगायत मुख्य छन् । यसले खेती गरिएको करिब ४ महिनामा उत्पादन दिइसक्छ । जीरा एकवर्षिय बाली हो । नेपालको माटो अनुशार प्रतिरोपनी १ केजी विउ लगाएर खेती गर्ने हो भने यसले राम्रो उत्पादन दिने विज्ञहरु बताउँछन् ।
विउ रोपिसकेपछि माटोको चिस्यानको अवस्था हेरेर नउम्रेसम्म नियमित पानी हालिरहनु पर्छ । २ हप्ता जति समयमा जीरा उम्रिसक्छ । यसको खेती गरिएको जग्गामा नियमितरुपमा गोडमेल गर्नुपर्छ र करिब १ हप्तामा सिंचाई गर्नु आवश्यक छ । यो खेतीमा किराको प्रकोप अरु बाली भन्दा धेरै लाग्ने सम्भावना हुन्छ । खराने रोग, बोट ओइल्याउने रोग लगायतले कृषकहरुलाई समस्या दिने गरेको छ । यसरी सुरक्षा दिएर खेतीगर्ने हो भने नेपालमा जीरा खेतीको राम्रो सम्भावना रहेको बताइन्छ ।
जीराको उपयोग मानव जीवनको लागि धेरै नै छ । यसलाई घरेलु औषधीय वस्तुको रुपमा पनि प्रयोग गर्न सकिन्छ । मसलाका लागि त यो राजा नै हो । यसको पातहरुको अचारका लागि प्रयोग गरिने त छँदै छ यसका अतिरिक्त रुघाखोकी, घाँटी दुखेको र आन्द्रा सुन्निएको अवस्थामा पनि जीराको प्रयोग गर्न सकिन्छ । यति धेरै महत्वको जीराखेतीका लागि अहिले सम्म खासै उल्लेख्य रुपमा सक्रियता अपनाइएको भने पाइएको छैन । यसको जिम्मा लिएको राष्ट्रिय मसलाबाली विकास कार्यक्रमले पछिल्ला केहि वर्ष यता देशका केहि जिल्लाहरुमा परिक्षणको रुपमा जीरा खेती गरिरहेको छ । तर यो नेपालको सम्भाव्यताका आधारमा ज्यादै न्यून उत्पादन हो ।
अहिले नेपालमा वार्षिक यति नै उत्पादन हुन्छ भन्न नसकिए पनि जीराखेती तर्फ कृषकलाई अभिप्रेरित गराउने हो भने आगामी दिनहरुमा यसले नेपाली कृषकहरुको आयस्रोत मात्र बढाउँदैन जीरा खरिदकै लागि बाहिर पठाउने अर्बौं रुपैंयाँको स्वदेशमै वचत पनि गर्छ । नेपालको सम्भाव्यताको सदुपयोग पनि हुन्छ । सरकारले कृषिमा नयाँ प्रविधी र प्रयोगलाई प्राथमिकतामा राख्ने नारा अघि सारेको छ । यो नाराअनुशार काम गर्ने हो भने नेपालमा जीराखेतीबाट सोचे भन्दा धेरै फाइदा लिन सकिने अवस्था छ । यसका लागि सरकारले कृषकहरुलाई यतातिर अभिप्रेरित गराउन पहल भने गर्नै पर्छ । तर देशको अस्थिर राजनितीको असर नेपालको कृषिक्षेत्रमा पनि परिरहेकाले कृषिका सम्भावनाहरुको सदूपयोग गर्न नेपालले अझै धेरै समय कुर्नै पर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *