कुन्तावेँसी । मण्डनदेउपुर नगरपालिकाका नगर सभाका सदस्यज्यूहरु, मण्डनदेउपुर नगरपालिकाको नगर सभाको गरिमामय १७औं अधिवेशनको पहिलो बैठकमा हार्दिक स्वागत गर्दछु ।
नेपाली जनताले विभिन्न कालखण्डमा गरेका ऐतिहासिक जनआन्दोलन, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको स्थापनार्थ गरेको त्याग र बलिदानलाई स्मरण गर्दै सो क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात अमर शहिदहरूप्रति सम्मान र भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
मण्डनदेउपुर नगरपालिकाको नगरसभाको यस गरिमामय अधिवेशनमा मण्डनदेउपुर नगरपालिकाको प्रमुखको हैसियतले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा गौरव महशुस गरेको छु । सम्वत् २०७९ साल वैशाख ३० गते सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचनबाट समेत पुनः नगर प्रमुखको पदमा निर्वाचित भई कार्यभार सम्हालेको तिन वर्ष पुरा भएको छ । यस अवधिमा नगरपालिकाको विकास र सुशासन कायम गर्ने दिशामा निकै दुरगामी र महत्वपूर्ण प्रभाव पर्ने कार्यहरुको थालनी गरिएको छ । यस कार्यमा नगरवासी तथा सरोकारवाला निकायहरु, विभिन्न राजनितिकदल लगायतबाट प्राप्त भएको सुझाव, सहयोग, सहकार्य र समन्वयको लागि म मण्डनदेउपुर नगरपालिकाको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
मण्डनदेउपुर नगरपालिकाले स्थानीय सरकारको हैसियतबाट विभिन्न संरचनागत, नीतिगत, कानूनी, प्रशासनिक तथा व्यवस्थापकीय कार्य सम्पादन गरेको छ । मूलतः यस अवधिमा विगत वर्षहरुदेखि नै सञ्चालित आवश्यक कार्यक्रमहरुको निरन्तरता र शीघ्रताका साथ सम्पन्न गर्ने कुरालाई जोड दिदै थुप्रै नवीन, सिर्जनात्मक, समाजवाद उन्मुख र सुशासनका लागि अपरिहार्य मानिने योजना तथा कार्यक्रमको शुरुवात गरिएको छ । नगर सभा, नगर कार्यपालिका, विषयगत समिति, शाखा र वडास्तरबाट सम्पादन गर्नुपर्ने काम कारवाहीलाई प्रभावकारी तथा स्मार्ट कार्यसम्पादन गर्न प्राथमिकता दिईएको छ ।
नगरसभा र नगर कार्यपालिका अन्तर्गतका विषयगत समितिहरुको भूमिकालाई थप प्रभावकारी बनाउँदै लगिएको छ । आवश्यक विषयमा कानुन तर्जुमा, योजना तथा परियोजनाको निर्माण, सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग गर्दै पारदर्शी शासन सञ्चालन गर्ने दिशामा अग्रसर भएका छौं ।
सूचना र प्रविधिको उच्चतम् प्रयोग गरी सेवा प्रवाहलाई सहज बनाउन नगरक्षेत्र भित्रका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्थाहरु र सामुदायिक विद्यायहरुमा दिईदै आएको निःशुल्क ईन्टरनेट सुविधालाई निरन्तरता दिदै थप प्रभावकारी बनाईने छ ।
शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक विकास, भौतिक पूर्वाधार विकास, खानेपानी तथा सरसफाई, विपद व्यवस्थापन, न्याय निरुपणजस्ता विषयका कार्यक्रमलाई सञ्चालन गर्ने कार्यको निरन्तरतालाई प्राथमिकतामा राखेका छौं ।
स्थानीय सरकार जनताको घरदैलोको सरकार हो । यो सरकार संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा लोकतन्त्रको अभ्यासको हिसाबले शासन प्रणालीको आधारस्तम्भ हो । त्यसैले स्थानीय सरकार जनताप्रति जिम्मेवार, भ्रष्टाचारमुक्त, सीमित साधनस्रोतको अधिकतम उपयोगमा दक्ष र मितव्ययी भयो भने मात्रै सड्डीय लोकतान्त्रिक गणतन्त्र सफल हुनेछ भन्ने कुरामा नगरपालिका सचेत छ ।
मण्डनदेउपुर नगरवासीको विकास, समृद्धि, जनअपेक्षा र हाम्रा प्रतिबद्धताहरूलाई आर्थिक रूपान्तरणको माध्यमबाट सफल बनाई नागरिकको आधारभूत आवश्यकता परिपूर्ति गर्नु स्थानीय सरकारको प्रमुख दायित्व हो । नागरिकको दैनिक जीवनयापनलाई सहज बनाउन तथा रुपान्तरण गर्न आर्थिक तथा सामाजिक विकासका योजनाहरूमा लगानी गरी नगरवासीको समृद्धि परिलक्षित हुने कार्यक्रमतर्फ नीति तथा कार्यक्रम केन्द्रित गरिएको छ ।
आदरणीय नगरसभाका सदस्यज्यूहरू,
मण्डनदेउपुर नगरपालिकाको “समृद्ध देउपुर र मण्डनः कृषि उद्यम र पर्यटन“ भन्ने नाराको मर्मलाई आत्मसात गर्दै समुन्नत, समृद्ध र सबल नगरपालिका एवम् सुखी नगरबासी बनाउने आकांक्षा पुर्ति गर्न गत आ.व.हरुको नीति तथा कार्यक्रमको निरन्तरता दिदै आ.व. २०८२/८३ को नीति तथा कार्यक्रम यो सम्मानित सभा समक्ष प्रस्तुत गर्दछु ।
क) पूर्वाधार विकास
१. उत्थानशिल भौतिक संरचनाको निर्माण र त्यसको दिगो संचालनको लागि आयोजनाको सम्भाव्यता तथा वातावरणीय प्रभावको मुल्यांकन गरेर मात्र विकास निर्माणका कार्य अघि बढाईने नीति लिईने छ । नगरक्षेत्रभित्र सम्भाव्यता अध्ययन, वातावरणीय प्रभावको विश्लेषण तथा प्राविधिक मुल्याङ्कन विना स्थानीय पूर्वाधार निर्माण गरिने छैन् ।
२. नगरक्षेत्रभित्र निर्माण भएका सडकहरुले चर्चेको निजी स्वामित्वमा रहेको जग्गाको रेखाङ्कन गराई लगत कट्टा गर्ने कार्यको थालनी यसै आ.व. बाट गरिनेछ ।
३. संघीय तथा वागमती प्रदेश सरकार सँगको लागत साझेदारीमा नगरपालिकाले प्राथमिकता निर्धारण गरेको सडक खण्डहरुको स्तरोन्नती तथा कालोपत्रे गर्ने कार्यलाई निरन्तरता दिईनेछ ।
४. नगरपालिकाको केन्द्रबाट वडा केन्द्र जोड्ने प्रत्येक वडाका मुख्य–मुख्य सडकहरूलाई बाह्रै महिना यातायातका साधन सञ्चालन योग्य बनाइनेछ ।
५. यस नगर क्षेत्रभित्र संचालनमा रहेका सार्वजनिक यातायात संचालन हुने मुख्य सडकहरुलाई बाह्रै महिना संचालन योग्य बनाईने र सो कार्य वडा कार्यालय मार्फत निजी क्षेत्रबाट गराई उक्त कार्यको भुक्तानी सडक मर्मत सम्भारकोष बाट तत्काल दिने व्यवस्था मिलाईनेछ ।
६. यस नगरपालिकाका संचालनमा रहेका वडा कार्यालय भवनहरुको मर्मत सम्भार, निर्माणाधिन वडा कार्यालयहरुको निर्माण सम्पन्न तथा निर्माण गर्न वाँकी वडा कार्यालयहरुको जग्गा प्राप्ति तथा निर्माण कार्य सुरु गरिनेछ ।
७. नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा नगर क्षेत्र भित्रका मुख्य शहरी केन्द्रमा सडक बत्तीको व्यवस्थापनको कार्य थालनी गरिनेछ ।
ख) आर्थिक विकास
अ) कृषि तथा पशुपालन
८. किसानले उत्पादन गरेका कृषि उपजको उचित मूल्य प्रदान गर्न संघ र प्रदेश सरकारसँगको साझेदारीमा नगरक्षेत्रभित्र गोदामघर, शीत भण्डार (कोल्ड स्टोर), कृषि उपज सङकलन तथा विक्री केन्द्र वा हाटबजारको व्यवस्था का लागि दातृ निकायसंग समन्वय गरिनेछ । साथै यसका लागि स्थानीय व्यवसायी, व्यावसायिक कृषि फर्म, सहकारी र अन्य संघसंस्थाहरूसँग समेत साझेदारी गरिनेछ ।
९. कृषि उत्पादन बृद्धिका लागि लागत साझेदारीमा कृषि चुन वितरण तथा तरकारी, अन्नबाली र फलफूलको बिउ बेर्नाको नर्सरी निर्माण गरी वितरणको व्यवस्था गर्ने नीतिलाई निरन्तरता दिइनेछ । पकेट क्षेत्रमा आधारित स्थानीय बिउ र बेर्ना उत्पादन र वितरणलाई प्राथमिकता दिईने छ ।
१०. जमिनको अवस्था हावापानी माटो तथा उत्पादनको सम्भावना भएको स्थानको पहिचान गरी प्रतिस्पर्धाका आधारमा एक वडा एक उत्पादन कार्यक्रम संचालन गरिने छ ।
११. किसानले उत्पादन गर्ने फसल तथा पशुजन्य उत्पादनमा हुने क्षतिलाई न्यूनीकरण गर्न बाली बीमा र पशुपन्छी बीमालाई विस्तार गरिने छ । कृषि उत्पादन तथा पशुपन्छी उत्पादनमा संलग्न किसान तथा उद्यमीहरूलाई कृषि बीमाका लागि आवश्यक प्रिमियम रकममा पचास प्रतिशत अनुदान उपलब्ध गराइनेछ ।
१२. दूग्ध उत्पादक किसानहरुलाई प्रोत्साहन गर्न नगरपालिका र वडा कार्यालयहरुले गर्ने सबै कार्यक्रममा चिया, कफि, कोक फ्यान्टा जस्ता तयारी पेय पदार्थको सट्टामा स्थानीय कृषकबाट उत्पादित दुध तथा मोहीको प्रयोगलाई अनिवार्य गरिने छ ।
१३. विश्व खाद्य तथा कृषि संगठन संगको सहकार्यमा राम्रो उत्पादन, राम्रो पोषण, राम्रो वातावरण र राम्रो जीवन प्रवद्र्धन गर्न नमुना कृषि ग्राम कार्यक्रम तथा होमस्टे संचालनलाई निरन्तरता दिईने छ ।
१४. वागमती प्रदेश सरकार तथा जिल्ला कृषि विकास कार्यालय काभ्रेको सहयोगमा माटो परीक्षण ल्याब र कृषि बाली रोग परीक्षण ल्याब स्थापना गरिनेछ । सबै वडाहरूमा कृषि प्राविधिकको कार्यतालिका वनाई सेवा उपलब्ध गराइनेछ ।
१५. कृषि क्षेत्रमा भौगोलिक अवस्था तथा जलस्रोतको उपलब्धता अनुसार सतह सिंचाई, थोपा सिँचाई, लिफ्ट सिंचाईका लागि उपकरणमा ५० प्रतिशत सम्म अनुदानको व्यवस्था गरिनेछ ।
१६. स्थानीय कृषिकको आवश्यकताको आधारमा, वातावरण–मैत्री, आधुनिक प्रविधिमैत्री कृषि व्यवसाय प्रवद्र्धन गरि कृषकको आय आर्जन बृद्धिका पक्षमा जोड दिईने छ ।
१७. रासायनिक मलप्रतिको परनिर्भरता घटाउँदै जैविक मल उत्पादनतर्फ किसानहरूलाई आकर्षित गराउने, हानिकारक विषादीको प्रयोगलाई न्यूनिकरण गर्दै जैविक किटनाशक विषादी प्रयोगलाई प्रोत्साहन गरिनेछ ।
१८. बुद्धचित्तको व्यवसायिकरुपमा प्रर्वद्धन गरिनेछ ।
आ) उद्यम विकास
१९. नगरमा निर्माणाधीन औद्योगिक ग्रामलाई निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याईनेछ । उक्त स्थानमा संचालन हुने घरेलु तथा साना उद्योगहरूलाई प्रोत्साहन स्वरूप पहिलो वर्ष शत प्रतिशत, दोस्रो वर्ष पचास प्रतिशत र तेस्रो वर्ष २५ प्रतिशत कर छुटको व्यवस्था गरिनेछ ।
२०. स्नातक वा सोभन्दा माथि उतीर्ण गरेका, व्यावसायिक योजना पेश गर्ने युवाहरूलाई छनौट गरी योजना प्रस्तावनाका आधारमा संघ, प्रदेश सरकार एवम् वित्तीय संस्थाको सहकार्यमा सहुलियतपूर्ण ऋणको व्यवस्थाका लागि सहजीकरण तथा परीक्षणको रुपमा सहुलियत पूर्ण ऋणको व्यवस्था गरिनेछ ।
२१. नगरपालिका अन्तर्गतका लघु, साना तथा मझौला उद्योग÷व्यवसायलाई प्रवर्धन गर्नका लागि उद्यमशीलता सम्बन्धी अभिमुखीकरण, प्राविधिक सिप विकास तालीम तथा मौजुदा उद्यमीहरूको स्तरोन्नतिका लागि क्षमता अभिवृद्विका साथै नवीन प्रविधि हस्तान्तरण गरिनेछ ।
२२. सिप सँग जोडिन चाहने यस नगरका युवालाई प्राविधिक तथा व्यवसायिक शिक्षा सम्बन्धी तालिम दिई रोजगारीको बजारमा जाने अवसर मिलाइनेछ ।
इ) पर्यटन विकास
२३. नगर क्षेत्रको पर्यटन विकासका लागि पर्यटन विकास गुरुयोजना निर्माण गरी कार्यान्वयन गरिनेछ ।
२४. मुख्य पर्यटकीय स्थलहरूमा मनोरञ्जन सहितका सेवाहरू दिने इको पार्क, फन पार्क, पदमार्ग, जिपल्याण्ड, साइक्लिङ रुट, भाषिक तथा सांस्कृतिक सङ्ग्रहालय र स्थानीय भेषभुषा प्रर्दशनका लागि नाच घरको स्थापना गर्ने कार्य अगाडी वढाईनेछ ।
२५. नगरकोट, ठुलीचौर, थामीडाँडा, बुद्धथुम्का जस्ता प्रमुख पर्यटकीय गन्तव्यहरूमा पर्यटन पूर्वाधारको विकास गरिनेछ । साथै वडा नं. ३ स्थित खसे गुरुङगाउँमा स्थापित नमुना होमस्टेलाई ँब्इ को फोर बेटर कार्यक्रमसँगको साझेदारीमा व्यवस्थित गर्दै लगिनेछ र अन्य स्थानहरुमा समेत होमस्टे कार्यक्रम विस्तार गरिनेछ ।
२६. यस नगर क्षेत्रभित्र साहसिक खेल गन्तव्यको विकास गर्न सम्भाव्यता अध्ययन गरिने छ । नगरपालिकाको पर्यटकीय सम्भव्यतालाई उजागर गर्न तथा पर्यटन प्रवर्धन गर्न मुख्य मुख्य पर्यटकीय स्थानहरूको विद्युतीय एवम् सञ्चार माध्यमबाट प्रचार–प्रसार गरिनेछ ।
२७. कृषि पर्यटनलाई प्रवद्र्धन गर्न कार्यक्रम संचालन गरिने छ ।
ग) खानेपानी तथा सरसफाई
अ) खानेपानी
२८. यस नगरमा बसोबास गर्ने नागरिकको खानेपानी र सरसफाई आधारभूत आवश्यकता हुन् । उक्त आवश्यकता पुरा गर्न हरेक घर परिवारमा एक घर एक धारा अवधारण अनुसार स्वच्छ पिउने पानीको व्यवस्था गरिनेछ । साथै करिव १ अर्वको लागतमा निर्माणधिन मण्डनदेउपुर वृहत सुख्खा खानेपानी आयोजना सम्पन्न गरी ५५०० घरधुरी स्वच्छ खानेपानीको आपुर्ति गरिनेछ तथा करिव ३८ करोडको लागतमा निर्माणाधिन नगरकोट नाल्दुम बृहत खानेपानी आयोजना समेत सम्पन्न गरिनेछ ।
२९. नगरभित्रको जलस्रोतहरुको नक्साङ्कन गर्ने कार्यलाई प्राविधिकको संयोजकत्वमा समिति गठन गरी अभिलेखिकरण गरिनेछ । स्रोतहरूको संरक्षणको लागि क्रमशः दीर्घकालीन गुरुयोजना बनाई लागू गरिनेछ ।
३०. नगरकोट क्षेत्रको खानेपानी व्यवस्थापन लागि आवश्यक परेमा जग्गा व्यवस्थापन गर्न र सो खानेपानी योजनाका जग्गा खरिदका लागि उपभोक्ताबाट अग्रिम रुपममा रकम संकलन गराईनेछ ।
आ) आधारभूत स्वास्थ्य सेवा
३१. गत आर्थिक वर्षमा संचालन गरिएका स्वास्थ्य सेवाका कार्यक्रमहरुलाई थप व्यवस्थित गरि निरन्तरता दिईने छ ।
३२. पालिका भित्र संचालित हरेक स्वास्थ्य संस्थामा ईलेक्ट्रोनिक हेल्थ म्यानेजमेन्ट ईन्फरमेसन सिस्टम लागु गरिनेछ ।
३३. नगर अस्पतालमा जनशक्ती व्यवस्थापन सहित स्वास्थ्य विमा कार्यक्रम लागु गरिने छ ।
३४. हरेक एक घण्टाको पैदल दुरिमा स्वास्थ्य सेवा उपलब्ध गराउन थप खोप केन्द्र भवन निर्माण र संचालन गरिनेछ ।
३५. स्वस्थ पालिका कार्यक्रमका लागि तथ्याँक सकलन र पालिका भित्रका वासिन्दाको स्वास्थ्य प्रोफाईल तयार पारिने छ ।
३६. स्वास्थ्य संस्थाको भौतिक प्रशासनिक सुधार तथा जनशक्ती व्यवस्थापन गरि न्युनतम सेवा मापदण्ड लाई सुधार गरि पुर्ण रुपमा लागु गरिनेछ ।
३७. मौजुदा ५ शैयाको नगर अस्पताललाई विस्तार गरी १५ सैयाको अस्पतालमा स्तरोन्नति कार्य आगामी आ.व सम्ममा सम्पन्न गरिने छ । मौजुदा अस्पतालबाट एक्सरे सेवा, ल्याव परिक्षण सेवा र वर्थिङ सेन्टर २४ सै घण्टा प्रदान गरिनेछ ।
३८. सुत्केरी महिला तथा बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखी अतिरिक्त पोषण उपलब्ध गराउन विभिन्न संघ सस्था सँग समन्वय र सहकार्य गर्ने कार्यलाई निरन्तरता दिईनेछ ।
३९. महिला स्वास्थ्य स्वयम सेविकालाई दिईदै आएको प्रोत्साहन भत्तालाई निरन्तरता दिईने छ ।
४०. नसर्ने रोग पहिचान तथा उपचारका लागि वडा स्तरमा संचालित कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
इ) युवा तथा खेलकुद विकास
४१. बालबालिका तथा युवाहरूको शारीरिक र मानसिक विकासका लागि खेलकुदका गतिविधिहरू सञ्चालन गर्न नगरमा नगरस्तरीय खेलकुद प्रतियोगिताहरू सञ्चालन गरिनेछन् । यस नगर अन्तर्गतका विद्यालय तथा क्लबहरू बीच खेलकुद प्रतियोगिता सञ्चालन गर्ने, नगर बाहिर हुने खेलकुद प्रतियोगितामा नगरको प्रतिनिधित्व
हुने गरी प्रतियोगिताहरूमा सहभागी हुने व्यवस्था मिलाइने तथा क्लवहरूलाई खेलकुद सामग्री उपलब्ध गराइनेछ ।
४२. नगरपालिकामा युवा सहभागिता वृद्वि गर्न युवा तथा खेलकुद परिषद् गठन गरी कार्यक्रम संचालन गरिनेछ ।
४३. नगरपालिका भित्रका युवालाई आयमूलक, व्यावसायिक र सिपमूलक तालिम प्रदान गरिनेछ ।
४४. युवाहरूलाई लक्षित गरी सरकारी सेवा प्रवेशका लागि सेवा प्रवेश तयारी (लोक सेवा तथा शिक्षकसेवा आयोग तयारी) कक्षाहरू सञ्चालन गर्न नीजि क्षेत्रलाई अनुमती प्रदान गर्ने तथा बार्षिक रुपमा कम्तीमा एउटा तयारी कक्षा नगरपालिकाको आन्तरिक स्रोतबाट संचालन गर्न नीति लिईने छ ।
४५. नगरपालिकामा खेलकुद विकासका लागि मेयर कप खेलकुद प्रतियोगिता सञ्चालन गरिनेछ ।
४६. नगरपालिका स्तरीय खेलकुद विकास समिति, महिला परिषद्, दलित उत्थान परिषद् तथा आदिवासी जनजाति उत्थान परिषद् गठन गरिनेछ ।
४७. नगर स्तरीय खेलकुद मैदान निर्माण तथा कवर्ड हल निर्माण कार्य सम्पन्न गरिनेछ ।
ई) शिक्षातर्फ
४८. यस नगरक्षेत्र भित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको सामान्यत शैक्षिक शत्र सुरु हुन भन्दा अगाडी बर्षमा एक पटक मात्र सरुवा गर्ने नीति लिईनेछ ।
४९. सबै सामुदायिक विद्यालयहरुमा वालमैत्री उद्यान निर्माण गरी क्रमश हरित विद्यालय निर्माण अभियान संचालन गरिने छ ।
५०. विद्यार्थी कम भएका माध्यमिक विद्यालयहरुलाई नजिकका विद्यालयमा माध्यामिक तहको कक्षा समायोजन गरी भौगोलिक अवस्था, विद्यालयको दुरी र भौतिक पुर्वाधारको अवस्था अध्ययन गरी छनोट भएका मा.वि.मा ९–१२ को कक्षा संचालन गर्ने नीति लिईने छ । डेडीथुम्का मा.वि., महादेवस्थानमा नमुनाको रुपमा शैक्षिक सत्र २०८३ बाट प्राविधिक शिक्षाको सुरुवात गरिनेछ ।
५१. यस नगरक्षेत्र भित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयमा तहगत स्थायी शिक्षकहरुवीच खुल्ला प्रतिस्पर्धा गराई प्रधानाध्यापक छनौट गरी स्थानीय शिक्षक सेवा आयोगले सामान्यतया ५ बर्षको लागि नियुक्तिको सिफारिस गर्ने व्यवस्था मिलाईने छ । यसरी नियुक्त भएका प्रधानाध्यापकले ५ बर्षको विद्यालय सुधार कार्ययोजना वनाई नगरपालिकाबाट अनुमोदन गराउनुपर्ने नीति अवलम्बन गरिने छ ।
५२. शिक्षकको कार्यसम्पादनलाई वृत्तिविकास र सरुवा बढुवा प्रयोजनसँग आबद्ध गरी नतिजामा आधारित स्वचालित प्रणालीको विकास गरिने छ ।
५३. दीर्घकालीन शिक्षा विकास गुरुयोजना निर्माण गरी साधारण र प्राविधिक शिक्षामा नयाँ कार्यक्रमहरू सञ्चालन गर्न विद्यालयहरुलाई अभिप्रेरित गरिनेछ ।
५४. यस नगरक्षेत्र भित्र रहेका युवाहरुलाई सिप, क्षमता, दक्षता सहित रोजगारीको वजारमा पठाउन मण्डनदेउपुर नगर प्राविधिक तालीम केन्द्र स्थापना गरी संचालनमा ल्याईनेछ ।
५५. विभिन्न विश्वविद्यालयहरूसँग समन्वय र सहकार्य गरी नगरक्षेत्रभित्र रहेका युवाहरुलाई प्राविधिक विषयमा उच्च शिक्षा अध्ययनको अवसर सिर्जना गर्न समन्वयात्मक भूमिका निर्वाह गरिनेछ ।
५६. अभिभावक विहीन बालबालिकाहरूको माध्यमिक शिक्षासम्मको निशुल्क अध्ययनको लागि आर्थिक सुविधा सहितको अवसरको सुनिश्चतता गरिनेछ ।
५७. विद्यालयहरूमा लैङ्गिक तथा अपाङगमैत्री भौतिक संरचनाहरू निर्माण तथा आवश्यकताको आधारमा छात्राहरूका लागि सेनेटरी प्याड र महिनावारी बेडरेस्टको व्यवस्था गरिनेछ ।
५८. सामुदायिक विद्यालयमा अध्ययन गरी एस.ई.ई. उतिर्ण गरेका दलित, महिला, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति पिछडिएको वर्ग, अति विपन्न र जेहेन्दार छात्रछात्रालाई अध्ययनपछि नगरपालिकामा कम्तीमा ३ वर्षसम्म सम्बन्धित क्षेत्रमा अनिवार्य सेवा गर्ने गरी कृषिमा १ जना, स्वास्थ्यमा १ जना र इन्जिनियरिङ्गमा–१ जनालाई भौचरमा आधारित छात्रवृत्ति प्रदान गर्ने व्यवस्था मिलाईनेछ ।
५९. अपाङगता भएका बालवालिकालाई शिक्षा उपलब्ध गराउन विशेष व्यवस्था मिलाईने छ ।
६०. आधारभूत तहका सबै सामुदायिक विद्यालयहरुमा स्थानीय पाठ्यक्रम र छनोट भएका आधारभुत विद्यालयमा मातृभाषा शिक्षा लागू गरिनेछ ।
६१. यस नगर क्षेत्रभित्र बसोवास गर्ने विद्यार्थीका लागि डेडीथुम्का पब्लिक क्याम्पसमा उच्च शिक्षाको स्नातक तह अध्ययनका लागि मण्डनदेउपुर नगर छात्रवृत्ति उपलब्ध गरिनेछ ।
६२. सामुदायिक विद्यालयहरूमा अङ्ग्रेजी र बहुभाषिक माध्यमबाट शिक्षा प्रदान गर्ने नीति अनुरूप अङ्ग्रेजी, बहुभाषिक र स्थानीय पाठ्यपुस्तक उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइनेछ ।
६३. सामुदायिक विद्यालयको सिकाइ उपलब्धि अभिवृद्धिका लागि विद्यालय शिक्षक र प्र.अ.लाई शैक्षिक सत्रको सुरूवातमा सामूहिक रूपमा नगरपालिकाबाट कार्यसम्पादन सम्झौता गराईने नीति अवलम्वन गरिने छ ।
६४. समाजमा रहेका अनुभवी व्यक्ति तथा जेष्ठ नागरिकबाट सामुदायिक विद्यालयमा अतिरिक्त कक्षा (नैतिक शिक्षा, जीवनोपयोगी शिक्षा, स्थानीय तथा रैथाने प्रविधि) सञ्चालन गर्ने नीति लिईने लिईने छ ।
६५. सामुदायिक विद्यालयहरूका शिक्षकका लागि सेवा प्रवेश, सेवाकालीन र पुनर्ताजगी तालीमका लागि काठमाण्डौ विश्वविद्यालय शिक्षा संकायको डिन कार्यालय सँग समन्वय गरी कार्यसम्पादन गरिनेछ ।
६६. विद्यालयमा नयाँ जनशक्ति भित्र्याउने उद्देश्यले आगामी आर्थिक वर्षमा पनि २० वर्ष स्थायी सेवा अवधि पूरा गरी ५० वर्ष उमेर नाघेको र अनिवार्य अवकाश हुन ५ वर्षसम्म बाँकी रहेका शिक्षकले अवकाश लिन चाहेमा शिक्षकलाई नगद र प्रशंसापत्रसहित सम्मान गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
६७. नतिजाका आधारमा उत्कृष्ट विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक र विषय शिक्षकलाई वार्षिक रूपमा नगरपालिकाबाट सम्मान गरिनेछ ।
उ) महिला वालबालिका तथा जेष्ठ नागरिक शाखा
६८. किशोरीहरुको समुह गठन गरी विभिन्न किशोर किशोरीसँग सम्बन्धित चेतनामुलक कार्यक्रम संचालन गरिनेछ । लैङ्गिक असमानता न्यूनीकरण र वाल संरक्षण लागि एकीकृत कोषको स्थापनाको बनाई कृयाशिल गरिनेछ ।
६९. मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट प्रभावितहरुको संरक्षण र पुनस्र्थापनाका लागि जोड दिइनेछ ।
७०. बालबालिका तथा किशोर÷किशोरी माथि हुने दुव्र्यवहार, हिंसा र भेदभावको अन्त्यका लागि स्थानीय तह, समुदाय, विद्यालय, निजी क्षेत्र सञ्चार जगत र बालअधिकारका क्षेत्रमा क्रियाशिल संस्थाहरु तथा नेपाल प्रहरीसंग सहकार्य गरी अभिमुखीकरण गरिनेछ ।
७१. हिंसा, दुव्र्यवहार, भेदभावमा परेका, मानसिक स्वास्थ्य समस्या भएका, अशक्त, परिवार विहिन विपन्न ज्येष्ठ नागरिकहरुको संरक्षण सम्वद्र्धनका लागि दिवा सेवा केन्द्र संचालनका साथै तिर्थ धाम गराउने व्यवस्था गराईने छ ।
७२. आधारभूत शिक्षा, स्वास्थ्य सेवा, आयआर्जन र स्थानीय तहले दिने अन्य सेवा सुविधाहरुमा यौनिक अल्पसंख्यकहरुको पहुँच सुनिश्चित गर्ने व्यवस्था मिलाईनेछ ।
७३. नेपाल सरकारको राष्ट्रिय नीति अनुसार वि.स.२०८७ साल सम्म बालमैत्री स्थानीय तह घोषणा गरी सक्ने लक्ष्य रहेको हुँदा यसै आ.ब.मा यस नगरपालिकाका कम्तिमा ३ वटा वडाहरु बाल मैत्री वडा घोषणा गर्ने नीति लिईने छ ।
७४. आधारभूत शिक्षा, स्वास्थ्य सेवा, आयआर्जन र राज्यले दिने अन्य सेवा सुविधाहरुमा अपाङ्गता भएका नागरिकहरुको पहुँच सुनिश्चित गर्ने व्यवस्था मिलाईनेछ ।
७५. सुखी र खुशी घर समृद्ध समाज निर्माण अभियान संचालनको लागि सासु बुहारी कार्यक्रम संचालन गरिने छ ।
७६. महिला जनप्रतिनिधिको क्षमता अभिवृद्धि गर्न नेतृत्व विकास गराईनेछ ।
७७. गृहणी महिला र एकल महिलालाई प्राथमिकता दिदै स्वरोजगार बनाउन सिपमुलक कार्यक्रम संचालन गरिनेछ ।
७८. सामाजिक विकृति, विसंगती, विभेद तथा घरेलु हिंसा न्युनिकरणको लागि लागु पर्दाथ दुव्र्यसन, जाँड रक्सी र जुवा तास नियन्त्रणको लागि अभियान संचालन गरिनेछ । यस्ता विकृति विसंगती शुन्य पार्ने टोललाई पुरस्कृत गर्ने नीति अवलम्बन गरिनेछ ।
७९. समाजमा पछाडी पारिएका वर्ग दलित, लोपोउन्मुख, सिमान्तकृत जनजातिको लागि विशेष किसिमको कायक्रम संचालन गरी पहुँचमा अभिवृद्धि गरिनेछ ।
८०. ऐतिहासिक साँस्कृतिक सम्पदाको संरक्षण सम्वद्र्धन गरी साँस्कृतिक जगेर्ना गर्न नगरस्तरीय कार्यदल गठन गरी अभिलेखीकरण गरिनेछ ।
८१. आमाबाबु बिहिन बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणको व्यवस्था गर्ने नीति अबलम्वन गरिनेछ ।
ऊ) वातावरण तथा विपद व्यवस्थापन
८२. स्थानीय विपद् तथा जलवायु उत्थानशीलता सम्बन्धी सूचना तथा तथ्याङ्क सङ्कलन गरी विपदबाट जनधनको क्षति न्यूनीकरण गर्न आवश्यक पूर्व तयारी गरिनेछ ।
८३. विपदबाट हुने आर्थिक तथा भौतिक क्षतिलाई सम्बोधन गर्न कृषि, घरेलु तथा साना उद्योगलाई सहुलियत दरमा बीमा गर्ने व्यवस्था गरिनेछ ।
८४. नगरपालिकाभित्र उत्सर्जन हुने फोहोर व्यवस्थापनका लागि वडागत सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछन् ।
८५. वातावरणमैत्री वडा घोषणा गरी क्रमशः वातारणमैत्री नगर घोषणाको कार्यक्रम सञ्चालन गरिनेछ ।
८६. विपद व्यवस्थापन कोषलाई निरन्तरता दिई विपद रोकथाम, प्रतिकार्य, पुनर्लाभ र पुनस्थापना कार्य गरिनेछ ।
८७. सामुदायिक वन तथा अन्य वन क्षेत्रमा आगलागी नियन्त्रणका लागि अग्नि रेखा निर्माण तथा बर्षातको पानी पुनर्भरणका लागि एक सामुदायिक वन ५ पोखरी निर्माण कार्यको थालनी गरिने छ ।
८८. संघ तथा वागमती प्रदेश सरकारसंगको साझेदारीमा ईन्द्रावती नदी, चाखोला र ढाँडखोला लगायतका नदी कटान क्षेत्रहरुमा तटवन्ध निर्माण गरी खेती योग्य जमिन, आवास तथा उद्योग संरक्षण कार्यक्रम संचालन गरिने छ ।
८९. २०८१ असोज १०–१२ गते भएको वर्षातबाट क्षति भएका आवासहरु पुनर्निमाणका लागि संघीय र प्रदेश सरकारसंगको झादेदारीमा आवास निर्माण कार्य सम्पन्न गरिनेछ ।
घ) सुशासन तथा सेवा प्रवाह
अ) सेवा प्रवाह लक्षित वर्ग
९०. सामाजिक सुरक्षा भत्तालाई बैंकिङ प्रणालीमा व्यवस्थित गर्दै लाभग्रीहरुको लगत अद्यावधिक तथा नविकरण बायोमेट्रिक प्रणाली मार्फत गरिनेछ । सो भत्ता वितरणका लागि सम्बन्धि वडा कार्यालयबाट सेवा प्रवाह गर्न बैंकसँग समन्वय गर्ने प्रक्रिया अगाडी बढाईनेछ ।
९१. व्यक्तिगत घटना दर्ता प्रणालीलाई प्रविधिमैत्री र सरल बनाउनका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको समन्वयमा सञ्चालित अनलाइन प्रणालीलाई निरन्तरता दिइनेछ ।
९२. यस नगरको भौतिक पूर्वाधार विकासलाई व्यवस्थित र दीर्घकालीन वनाउन स्थानीय नीति तथा योजना आयोग मार्फत तर्जुमा गरिएको आवधिक योजनालाई कार्यान्वयनमा ल्याईनेछ ।
९३. नगरपालिकामा रहेका अस्थायी र करार कर्मचारीको सुरक्षाका लागि सामाजिक सुरक्षा कोषमा आवद्ध हुने व्यवस्थालाई अगाडी बढाईने छ ।
९४. यस नगर क्षेत्रभित्र सम्भाव्यता अध्ययन गरी कम्तिमा एउटा एकीकृत बस्ती विकास योजना तर्जुमा गरी लागू गरिनेछ ।
९५. यस नगरपालिकाले वर्गीकरण गरेको जग्गाको आधारमा कृषियोग्य जमिन भनी तोकिएको क्षेत्रमा आवास निर्माणमा रोक लगाईने छ ।
९६. समुदायमा आधारित साझेदारीको आधारमा प्रत्येक वडामा रहेका सामुदायिक भवन, पार्क, चौतारी, पाटीपौवा, मठ–मन्दिर, गुम्बाहरूको आवश्यक मर्मत सम्भार गरी स्थानीय समूहहरूको बैठक तथा जेष्ठ नागरिक मिलन केन्द्रको रूपमा प्रयोग गर्ने गरी आवश्यक व्यवस्था मिलाईनेछ
९७. नगरपालिकाभित्र निर्माण हुने संरचनाहरू सार्वजनिक सडक, स्वास्थ्य भवन, विद्यालय एवम सामुदायिक भवन तथा शौचालय आदिलाई अपाङ्गमैत्री बनाउने कार्यको थालनी गरिनेछ ।
९८. अपाङ्गता भएका व्यक्तिहरूको सबै प्रकारका अधिकारको प्रत्याभूत गर्दै समष्टिगत विकासका लागि सहभागितामूलक नीति र अपाङ्गमैत्री भौतिक पूर्वाधार विकासमा जोड दिइनेछ । अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक पुनःस्थापना कार्यक्रम तथा तालिम सञ्चालन गरिनेछ ।
९९. नगरपालिकाको सेवा प्रवाहलाई व्यवस्थित गर्न नागरिकको गुनासो सुन्न कल सेन्टरको स्थापना गरी संचालन गरिनेछ ।
१००. आर्थिक कारोवार गरी मुनाफा आर्जन गर्ने वित्तीय सस्था बैंक सहकारी तथा नीजि सस्थासंग साझेदारीमा कार्यक्रम गर्न सकिनेछ । तर त्यस्ता संस्थालाई अनुदान उपलब्ध नगराउने नीति दिईनेछ ।
आ) क्षमता विकास र नवप्रवर्तन
१०१. स्थानीय सेवा आयोग गठन गरी नगरपालिकाको सेवा प्रवाहलाई व्यवस्थित र नागरिक मैत्री बनाउन दरबन्दी संरचनालाई छरितो बनाईनेछ ।
१०२. नगरपालिका भित्रका जनप्रतिनिधि, सरकारी कर्मचारी, शिक्षक, विद्यार्थीले अनिवार्य रूपमा नेपालमा बनेको कपडाको पोशाक लगाउनुपर्ने व्यवस्था गरिनेछ
१०३. विभिन्न गैरसरकारी संस्था, सहकारी, निजी तथा अन्य संघ संस्थाको वार्षिक कार्यक्रमहरू अनिवार्य रूपमा नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश गराउने व्यवस्था मिलाईने छ ।
ङ) राजस्व परिचालन
१०४. नगरपालिकाको वर्तमान राजस्व प्रणालीलाई पारदर्शी बनाउन राजस्व सुधार कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याइनेछ ।
१०५. वस्तु तथा सेवा उत्पादन, विक्री वितरण गर्ने नगरक्षेत्र भित्र संचालन हुने सबै प्रकारका व्यवसायहरुलाई करको दायरामा अनिवार्य सामावेश हुनुपर्ने व्यवस्थालाई व्यवस्थित गर्न आ.व. २०८१÷८२ को पहिलो ६ महिनाभित्र दर्ता हुन आउने व्यवसायीलाई व्यवसाय दर्तामा लाग्ने वार्षिक शुल्कमा जरिवाना छुट दिने व्यवस्था मिलाईनेछ ।
१०६. नगरपालिकाभित्र सञ्चालनमा रहेका उद्योग, व्यवसाय र होटलहरूलाई अनिवार्य रूपमा दर्तारसूचीकृत गराई करको दायरामा ल्याउने कार्यलाई निरन्तरता दिइनेछ ।
१०७. कृषि क्षेत्रको उत्थान र प्रवर्धनका लागि आगामी आ.व. देखि कृषिसम्बन्धी फर्म, उद्योग, व्यवसायिक संस्थाको दर्ता वा नवीकरण शुल्कमा ५०% छुट दिने व्यवस्था गरिनेछ ।
१०८. सार्वजनिक जग्गाको लगत सङकलन तथा राजस्व वृद्धि अभियान सञ्चालन गरिनेछ ।
१०९. नगरपालिका क्षेत्रभित्र बसोवास गर्ने गरिवीको रेखामुनी रहेका नागरिकलाई मध्यनजर गरी नगरपालिकाले लगाउदै आएको सम्पति कर मध्ये रु १० लाख रुपैया सम्मको सम्पतिकरमा शतप्रतिशत कर छुट दिने व्यवस्थालाई निरन्तरता दिईनेछ ।
११०. नगरक्षेत्रभित्र रहेका सामुदायिक वन उपभोक्ता समितिहरुको क्षमता अभिवृद्धि गरी सामुदायिक वन उपभोक्ताहरुले उठाएको राजश्व रकमको १० प्रतिशत रकम नगरपालिकाको सञ्चित कोषमा दाखिला गर्ने व्यवस्था मिलाईने छ ।
च) न्यायिक समिति
१११. सबै नगरबासीहरुलाई सर्वसुलभ, निष्पक्ष, छिटो, छरितो, पहुँच योग्य र प्रभावकारी न्याय सेवा प्रदान गर्ने नीति अवलम्बन गरिनेछ ।
११२. मेलमिलाप तथा बहुसरोकारवाला द्वन्द्व रुपान्तरणका क्षेत्रमा कार्यरत व्यक्ति तथा संघ संस्थाहरुलाई तालिम लगायतका कार्यहरुमा सहभागिता गराईने नीति अवलम्बन गरी वडा र नगर मेलमिलाप केन्द्र सञ्चालन कार्यविधि, न्यायिक समिति र मेलमिलापकर्ताहरुको सेवा शर्त तथा सुविधा सम्बन्धी नियमावली अद्यावधिक गरी लागू गरिनेछ ।
११३. सकारात्मक सोच र तनाव व्यवस्थापनका कार्यक्रहरु सञ्चालन गर्दै सचेतना अभिवृद्धि गरिनेछ ।
११४. न्यायिक समिति, मेलमिलापको प्रक्रिया र सकारात्मक सोचको बारेमा विद्यालयस्तरमा समेत तालीम प्रदान गर्ने तथा बाल अधिकार लगायत सामाजिक ऐन कानूनका बारेमा जानकार बनाउँदै समुन्नत समाजको निर्माण गरिनेछ ।
११५. अन्य न्यायिक समितितमा भएको असल अभ्यास आदन प्रदान कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
राष्ट्रिय रोजगार कार्यक्रम
११६. श्रमको सम्मान मण्डनको अभियान कार्यक्रम संचालन गरी रोगारीका अवसरहरु सिर्जना गरिनेछ ।
११७. सुरक्षित आप्रवासन कार्यक्रम सामी अन्तरगत बैदेशिक रोगारीलाई सुरक्षित र मर्यादित बनाउन वित्तीय साक्षर, समुदायस्तरमा अभिमुखीकरण कार्यक्रम र मनोसामाजिक परामर्श सेवालाई निरन्तरता दिईने छ ।
११८. बैदेशिक रोजगारीममा जाने नागरिकलाई तालिम दिने व्यवस्थालाई निरन्तरता दिईनेछ ।
आदरणीय नगरसभाका सदस्यज्यूहरू,
मण्डनदेउपुर नगरपालिकालाई जनअपेक्षा अनुरुपको सशक्त र प्रभावकारी स्थानीय सरकारको रुपमा विकास गर्न आवश्यक सहयोग गर्ने नेपाल सरकार, बागमती प्रदेश सरकार, नगरसभाका सदस्यज्यूहरू, विज्ञ सल्लाहकार समूह, स्थानीय नीति तथा योजना आयोग, स्थानीय शिक्षक सेवा आयोग, निजी क्षेत्र, नागरिक समाज, विभिन्न संघ–संस्था, सुरक्षाकर्मी, पत्रकार, नगरवासी, बुद्धिजिवी र कर्मचारी वर्गमा हार्दिक धन्यवाद ज्ञापन गर्दै यो नीति तथा कार्यक्रम सफल कार्यान्वयनमा सबैको पूर्ण सहयोग प्राप्त हुने आशा र विश्वास व्यक्त गर्दछु ।
“समृद्ध देउपुर र मण्डनः कृषि उद्यम र पर्यटन”
धन्यवाद !
टोक बहादुर तामाङ नगर प्रमुख
मण्डनदेउपुर नगरपालिका
मण्डनदेउपुर नगरपालिकाका नगर उपप्रमुख विष्णुमणि नेपालबाट प्रस्तुत चालु आ.व. २०८२/०८३ कार्यक्रम तथा बजेट

आदरणीय सभाका अध्यक्ष ज्यू तथा नगरसभाका सदस्यज्यूहरु,
नगरसभाको १७औं अधिवेशनको प्रथम बैठकमा म गत आर्थिक वर्ष २०८०/०८१ र चालु आ.व. २०८१/०८२ मा विनियोजित बजेट र प्रगतिको संक्षिप्त समिक्षा प्रस्तुत गर्दछु ।
आ.व. २०८०/०८१ को यथार्थ आय तथा व्ययको विवरण
यस नगरपालिकाको गत आर्थिक वर्ष २०८०/०८१ मा अ.ल्या. मार्फत ६ करोड ३२ लाख ३२ हजार ३८३ रुपैंया २५ पैसा, आन्तरिक राजस्व बाट ८ करोड ८८ लाख ५२ हजार ४१८ रुपैंया ७९ पैसा, संघीय सरकार सशर्त अनुदान चालु खर्च तर्फ २४ करोड ४ लाख ६० हजार ९५२ रुपैंया ५६ पैसा, संघीय सरकार सशर्त अनुदान पुँजीगत खर्च तर्फ ३८ लाख ८२ हजार ३०७ रुपैंया, संघीय सरकार विशेष अनुदान पुँजीगत खर्च तर्फ ६ लाख ९० हजार ८६८ रुपैंया, संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान १० करोड ९ लाख ५ हजार रुपैया, संङ्घीय समपूरक अनुदान ५१ लाख ७६ हजार ६६४ रुपैंया, प्रदेश सर्शत अनुदान चालु खर्च तर्फ १ करोड ५१ लाख ७१ हजार ३०६ रुपैंया, प्रदेश सर्शत अनुदान पुँजीगत खर्च तर्फ ४० लाख ४० हजार १४४ रुपैंया, प्रदेश समानीकरण अनुदान १ करोड ९ लाख ६ हजार रुपैया, प्रदेश समपूरक अनुदान २ करोड ३७ लाख ३५ हजार ४२५ रुपैया, राजस्व बाँडफाँडबाट प्राप्त मूल्य अभिवृद्धि कर र अन्तःशुल्क बाट ७ करोड ९० लाख १९ हजार १७० रुपैया ०४ पैसा, राजस्व बाँडफाँडबाट प्राप्त हुने सवारी साधन कर २ करोड १० लाख ९४ हजार ६८६ रुपैंया ३२ पैसा, घर जग्गा रजिष्ट्रेसन बाट २ करोड ५० लाख ३८ हजार १८२ रुपैया ८६ पैसा र बाँडफाँडबाट प्राप्त वन रोयल्टी बाट २ हजार २९ रुपैया ९६ पैसा गरी कुल ६८ करोड २२ लाख ७ हजार ५३७ रुपैया ७८ पैसा आय रहेको र कुल खर्च ६० करोड ४३ लाख ९६ हजार ४८३ रुपैया १८ पैसा रहेको थियो ।
चालु आ.व. २०८१/०८२ को संशोधित अनुमान
यस नगरपालिकाको चालु आर्थिक वर्ष २०८१/०८२ मा अ.ल्या. मार्फत ८ करोड ३६ लाख ५ हजार १७६ रुपैंया ७७ पैसा, आन्तरिक राजस्व बाट ९ करोड ८८ लाख ८४ हजार १०४ रुपैंया १० पैसा, संघीय सरकार सशर्त अनुदान चालु खर्च तर्फ २५ करोड ६१ लाख १६ हजार रुपैंया, संघीय सरकार सशर्त अनुदान पुँजीगत खर्च तर्फ ७ करोड ५२ लाख ८ हजार रुपैया, संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान १० करोड १८ हजार ४०० रुपैया, संघीय समपूरक अनुदान १ करोड ५० लाख रुपैया, संङ्घीय विशेष अनुदान २ करोड ४५ लाख रुपैया, प्रदेश सर्शत अनुदान चालु खर्च तर्फ २ करोड ४८ लाख ९१ हजार रुपैया, प्रदेश सर्शत अनुदान पुँजीगत खर्च तर्फ १ करोड २६ लाख ६० हजार रुपैया, प्रदेश समानीकरण अनुदान १ करोड ७ लाख ६४ हजार रुपैया, प्रदेश समपूरक अनुदान ३ करोड रुपैया, बाँडफाँडबाट प्राप्त मूल्य अभिवृद्धि कर र अन्तःशुल्क अन्तर्गत ८ करोड १८ लाख ६४ हजार ८६० रुपैंया ८० पैसा, राजस्व बाँडफाँडबाट प्राप्त हुने सवारी साधन कर १ करोड ९८ लाख ८४ हजार ४८४ रुपैया ५९ पैसा, घर जग्गा रजिष्ट्रेसन बाट ३ करोड ५४ लाख २५ हजार २३३ रुपैया ८२ पैसा प्राप्त हुँदा संशोधित अनुमान गरी कुल ८६ करोड ८८ लाख २१ हजार २६० रुपैया ०८ पैसा आय हुने संशोधित अनुमान रहेको र खर्च ६६.९ प्रतिशत हुने अनुमान गरिएको छ ।
आदरणीय सभाका अध्यक्ष ज्यू तथा नगरसभाका सदस्यज्यूहरु,
अब म नगरपालिकाको सोच, लक्ष्य, उद्देश्य, नीति तथा कार्यक्रम कार्यान्वयनका लागि आर्थिक वर्ष २०८२/०८३ को आय, व्यय, बजेट विनियोजन र स्रोतको व्यवस्थाको योजना प्रस्तुत गर्दछु ।
आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न १ अर्ब १० करोड ७५ लाख ४५ हजार ५५९ रुपैंया विनियोजन गरेको छु । कुल विनियोजित बजेटमध्ये पूँजीगततर्फ रू. ५० करोड २२ लाख ५० हजार रुपैंया (४५.३४ प्रतिशत) र चालुतर्फ रू. ६० करोड ५२ लाख ९५ हजार ५५९ (५४.६६ प्रतिशत) रहेको छ ।
आदरणीय नगर सभाका अध्यक्ष तथा नगर सभा सदस्यज्यूहरु,
आ.व. २०८२/०८३ को लागि अनुमानित आम्दानी, चालु तथा पूँजीगत खर्चबाट विनियोजित खर्च, कार्यक्रम तथा योजनाहरूलाई अनुसूचीमा राखी सोही बमोजिम स्विकृत गर्न प्रस्ताव गरेको छु ।
१. नगरपालिकाको दैनिक प्रशासनिक कामकाज तथा प्रभावकारी सेवा प्रवाहको लागि आवश्यक पर्ने प्रशासनिक खर्चको लागि २१ करोड १५ लाख १ हजार ५५९ रुपैंया विनियोजन गरेको छु ।
२. नगरपालिका अन्तरगत प्रत्येक वडाहरूमा अर्थिक, सामाजिक, पूर्वाधार विकास तथा सेवा प्रवाह सम्बन्धि कार्यक्रम सञ्चालनका लागि ६ करोड रुपैया विनियोजन गरेको छु । विनियोजित बजेट रकमबाट मण्डनदेउपुर नगरपालिकाको पहिलो आवधिक योजनाले परिलक्षित गरेको पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, वन, वातावरण तथा विपद् व्यवस्थापन र सुशासन तथा संस्थागत विकासका क्षेत्रमा योगदान पुर्याउने गरी कार्यक्रम छनौट गरिएको छ ।
३. विपद् व्यवस्थापन कोष व्यवस्थापन, राहत वितरण र विपद्बाट क्षतिग्रस्त नीजि आवास तथा संरचनाहरुको पुनर्निर्माणको लागि २ करोड रुपैंया व्यवस्था गरेको छु ।
४. चालु आ.व.को संशोधित अनुमान बमोजिम नगरपालिकाबाट चालु आ.व.मा सञ्चालित योजना तथा कार्यक्रमहरुको भुक्तानी सम्पन्न नहुने देखिएकोले चालु आ.व. मा सञ्चालित योजना तथा कार्यक्रमको भुक्तानी दायित्वको लागि ७ करोड ८७ लाख रुपैंया विनियोजन गरेको छु ।
५. चालु आ.व. का लागि विनियोजन भई स्विकृत भएका विभिन्न योजना तथा कार्यक्रमहरु पर्याप्त स्रोत सुनिश्चितता हुन नसकी कार्यान्वयन हुन नसकेकोले त्यस्ता योजना तथा कार्यक्रमहरुको आगामी आ.व. मा कार्यान्वयन गर्ने व्यवस्था मिलाएको छु । उल्लिखित योजना तथा कार्यक्रमहरुको कार्यान्वयनका लागि ७ करोड ७४ लाख रुपैया विनियोजन गरेको छु ।
६. नगरपालिका क्षेत्रका मूख्य, सहायक र भित्री सडकहरु वषैभरि सञ्चालन गर्न त्यस्ता सडकहरुको नियमित मर्मत सम्भार कार्यका लागि ९४ लाख रुपैया विनियोजन गरेको छु ।
७. संघीय सरकार र बागमती प्रदेश सरकारसँग समपुरक अनुदान साझेदारिमा सञ्चालन गरिने सडक पूर्वाधार योजनाका लागि ८ करोड ९५ लाख ५० हजार रुपैया विनियोजन गरेको छु ।
८. संघीय सरकारसँग साझेदारिमा निर्माणाधिन १५ शैय्याको नगर आधारभुत अस्पतालको निर्माण कार्य आगामी दुई वर्ष भित्र सम्पन्न गर्न आवश्यक व्यवस्था मिलाएको छु । नगर आधारभुत अस्पताल निर्माणका लागि आगामी आ.व.को लागि ९ करोड ५६ लाख रुपैंया विनियोजन गरेको छु ।
९. संघीय सरकारबाट प्राप्त सशर्त अनुदान, बागमती प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान तथा विशेष अनुदानका योजना तथा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाएको छु ।
१०. नगरपालिकाको कृषि विकास, पशुपन्छी विकास, रोजगारी सिर्जना लगायतका आर्थिक विकासका प्रमुख आधारको विकास र व्यवस्थापनका लागि १ करोड ६५ लाख रुपैया विनियोजन गरेको छु ।
११. रुपैंया विनियोजन गरेको छु । नगरपालिकाको शिक्षा, स्वास्थ्य, खानेपानी, महिला बालबालिका तथा जेष्ठ नागरिक तथा लक्षित वर्ग लगायतको सामाजिक विकासका प्रमुख पक्षहरुको विकास र व्यवस्थापनका लागि ५ करोड ३५ लाख रुपैंया विनियोजन गरेको छु ।
१२. नगरपालिकाको भौतिक पूर्वाधार विकासका लागि ५ करोड २० लाख रुपैया विनियोजन गरेको छु ।
१३. नगरपालिकाबाट सुशासनयुक्त सेवा प्रवाह र संस्थागत क्षमता विकास कार्यका लागि १ करोड ३७ लाख ५० हजार रुपैंया विनियोजन गरेको छु ।
आदरणीय सभाका अध्यक्ष ज्यू तथा नगरसभाका सदस्यज्यूहरु,
अब म माथि प्रस्तावित योजना तथा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक स्रोतको व्यवस्थापनको योजना प्रस्तुत गर्दछु ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये संघीय समानीकरण अनुदानबाट १० करोड ६० लाख रुपैंया, प्रदेश समानीकरण अनुदानबाट १ करोड ६ लाख ९३ हजार रुपैंया, संघीय सर्शत अनुदानबाट ३९ करोड ८४ लाख, प्रदेश सशर्त अनुदानबाट ३ करोड ८३ लाख ४४ हजार रुपैंया, संघीय समपूरक अनुदानबाट ९१ लाख रुपैंया, प्रदेश समपूरकबाट २ करोड ६६ लाख रुपैंया, प्रदेश विशेष अनुदानबाट ६५ लाख रुपैया, आन्तरिक राजश्व संकलन अनुमान २८ करोड ९० लाख ९३ हजार ७८२ रुपैंया ५० पैसा, जिल्ला राजश्च बाँडफाँड अन्तर्गत घर जग्गा रजिष्ट्रेशन शुल्क रू. ३ करोड रुपैंया, संघीय विभाज्य कोषबाट राजश्व बाँडफाँड अन्तर्गत प्राप्त हुने रू. ८ करोड ६७९ लाख ४४ हजार ६२७ रुपैया, प्रदेश राजश्व बाँडफाँड हुने सवारी साधन कर बापतको ३ करोड ६० लाख ७० हजार १४९ रुपैया ५० पैसा तथा आर्थिक वर्ष २०८१/०८२ बाट हुन जाने नगद मौज्दात रू. ७ करोड रुपैंया रहेको छ ।
आदरणीय नगर सभाका अध्यक्ष तथा नगर सभाका सदस्यज्यूहरु,
१. नगरपालिकाको आ.व. २०८२÷०८३ को अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको निमित्त स्थानीय कर, शुल्क, दस्तुर र महशुल सङ्कलन गर्ने, छुट दिने तथा आय सङ्कलनको प्रशासनिक व्यवस्था गर्न नेपालको संविधानको धारा २२८ को उपधारा (२) बमोजिम मण्डनदेउपुर नगरपालिकाको नगर सभासमक्ष मण्डनदेउपुर नगरपालिकाको आर्थिक विद्येयक, २०८२ र सो को अनुसूचीहरू स्वीकृतिका लागि पेस गरेको छु ।
२. मण्डनदेउपुर नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न नेपालको संविधानको धारा २२९ को उप–धारा (२) बमोजिम मण्डनदेउपुर नगरपालिकाको नगरसभा समक्ष विनियोजन विद्येयक, २०८२ र सोको अनुसूचीहरु स्वीकृतिका लागि पेस गरेको छु ।
३. आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेटको अभिन्न अङ्गको रूपमा रहेको आय व्यय, राजस्व तथा अनुदान प्राप्तिको अनुमान, कार्यक्षेत्रगत व्यय अनुमान, वार्षिक विकास कार्यक्रम, सशर्त अनुदानको कार्यक्रम, वार्षिक कार्यक्रम कार्यान्वयन गर्न व्यवस्था गरेको छु ।
४. यो कार्यक्रम र बजेट तर्जुमा गर्दा सहयोग गर्ने नगर प्रमुखज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, वडा अध्यक्षज्यूहरु, कार्यपालिका सदस्यज्यूहरु, नगर सभाका सदस्यज्यूहरू, स्थानीय नीति तथा योजना, नगरपालिकाका सम्पूर्ण कर्मचारीहरू तथा सरोकारवाला सबैप्रति आभार प्रकट गर्दै सफल कार्यान्वयनमा सबैको पूर्ण सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दछु ।
विष्णुमणि नेपाल
नगर उप–प्रमुख
मितिः २०८२ असार १० गते मङ्गलबार ।
