काभ्रे । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको समाज सेवा प्रभागले विश्व बन्धुत्व दिवस र राजयोगिनी दादी प्रकाशमणीको १८औं स्मृति दिवसको अवसरमा बृहत् रक्तदान महाअभियान २०८२ सुरु गरेको छ ।
यो अभियानअन्तर्गत नेपालका प्रमुख सहरहरुमध्ये काभ्रे जिल्लाको बनेपा र पनौतीमा रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् । बनेपामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दीपक गौतमको प्रमुख आतिथ्यता रहेको थियो भने पनौतीमा पनौती वडा नं. ७ का अध्यक्ष सविन ताम्राकारको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । बनेपा र पनौतीबाट कुल १५७ पिन्ट रगत संकलन भएको छ ।
ब्रह्मकुमारीले नेपाल, भारतसहित एसियाका विभिन्न देशहरूमा चार दिनसम्म यो रक्तदान कार्यक्रम सञ्चालन गर्नेछ । यसबाट १ लाख पिन्ट रगत संकलन गर्ने लक्ष्य राखिएको छ, जसलाई गिनिज बुक अफ वल्र्ड रेडक्रसमा समावेश गर्ने योजना पनि छ ।
रक्तदान कार्यक्रममा विभिन्न पेसा, व्यवसाय र सामाजिक क्षेत्रका व्यक्तिहरूको सक्रिय सहभागिता थियो । ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले नियमित रूपमा समाजसेवा, जनचेतना र मानव कल्याणका लागि यस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको छ । रक्तदानका साथै योग तथा आत्मपरिवर्तनसम्बन्धी विविध कार्यक्रमहरू पनि संस्थाले सञ्चालन गर्दै आएको छ । यस अभियानले समाजमा मानव कल्याण र विश्व बन्धुत्वको सन्देश फैलाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
