काभ्रेको पाँचखालमा निर्माण हुने भनिएको असफाल्ट प्लान्टले राजनीतिक रुप लिन थालेसँगै निर्माण अन्योलमा परेको छ । शुरुमा स्थानीयवासीहरुले विरोध गरेपछि पछिल्लो हप्ता सबैजसो राजनीतिक पार्टीहरुले विज्ञप्ति जारी गरि आआफ्ना धारणा सार्वजनिक गरेका छन् । धेरैजसोले निर्माण वातावरणमैत्री नभएको भन्दै विरोध गरेका छन् ।
पाँचखाल नगरपालिकाकी उपमेयर सूर्यमाया दनुवारले फेसबुकमा स्टाटस लेख्दै पाँचखालवासीको समर्थन र आसपाल्ट व्याचिङ प्लाण्टको असर र प्रभावबारे आम पाँचखालवासी नागरिकको धारणाप्रति उच्च सम्मान रहेको उल्लेख गरेकी छिन् । यससँगै अब अन्य विषयमा पनि सकारात्मक र रचनात्मक तबरले लागौं भन्दै उपमेयर दनुवारले दलित, विपन्न, भूमिहीन र अब्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने, जग्गा बर्गिकरण गरि जग्गाको कारोबार खुलाउने, स्वास्थ्य बीमा प्रथम बिन्दु सेवा प्रदान गर्ने र फोहोर मैलाको दीर्घकालिन व्यवस्थापनलगायतका विषयमा पनि आवाज उठाउन सबैलाई आब्हान गरेकी छिन् ।
मापदण्ड विपरीत, बल मिच्याईद्वारा जनस्वास्थ्य र वातावरण प्रतिकुल, पुरातत्व सम्पदा र मानववस्ती नै पूर्णजोखिममा पार्दै स्थापित गर्न खोजिएको अलकत्रा प्लान्टको विपक्षमा जुट्न भन्दै सबैजसो दलहरुले विरोध गरेका छन् । यतिबेला पाँचखाल नगरपालिकामा नेपाली काँग्रेसको नेतृत्व छ । यही पार्टीका पाँचखाल नगर सभापति संजय तामाङले पनि घुमाउरो शैलीमा विरोध गर्दै सबै प्रक्रिया पुर्याएर नागरिकको स्वास्थ्यलाई ध्यान दिँदै निर्माण कार्य अघि बढाउन अनुरोधसहितको विज्ञप्ति जारी गरेका छन् ।
यसैगरि नेकपा एमालेले पनि आफू विकास विरोधी नभएको तर स्थानीयको चाहाना विपरित बलमिच्याइँ गरि निर्माण थालिएको योजना अस्वीकार्य रहेको उल्लेख गरेको छ । यस्तै माओवादी केन्द्रले पाँचखाललाई कृषि शहरको रुपमा विकास गर्नुपर्नेमा यो विपरित आसफल्ट प्लान्ट निर्माण हुन लागेको भन्दै विरोध गरेको छ । रास्वपाले पनि वातावरण प्रभाव मूल्यांकन नगरि र स्थानीयवासीसँग समन्वय नगरि योजनाका लागि सामान झार्नु गलत भएको जनाएको छ ।
एकीकृत समाजवादी, नेकपा (बहुमत), बगाले थापा कल्याण परिषद्लगायतले आयोजना निर्माणको विरोध गरेका छन् । यति मात्रै होइन, साउनको दोस्रो हप्ता स्थानीयवासीहरुले निर्माण रोक्नुपर्ने मागसहितको ध्यानाकर्षणपत्र जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमा बुझाइसकेका छन् । उता निर्माणपक्षले भने विरोध गर्नुपर्ने कुनै कारण नभएको दाबी गर्दै आयोजना पूर्णरुपमा वातावरणमैत्री रहेको जनाएको छ ।
यसरी दुवै पक्षका आआफ्नै दाबी र अडानले आयोजना अन्योल भएको छ । यसमा निर्माणपक्षले पनि स्थानीयको विरोध हुँदाहुँदै जबर्जस्ती गर्नु हुँदैन । जसमा नगरपालिकाले पनि समन्वय गर्नैपर्छ । बस्तीलाई नै असर गर्ने हो भने अन्यत्रै ठाउँमा सारेर भए पनि उद्योग संचालनको अनुमति दिनु उचित देखिन्छ । यस्ता उद्योगले रोजगारीको ढोका केहीहदसम्म भएपनि खुल्नेछ । यसले स्वास्थ्यमा समस्या पार्छ भने अराजकता नफैलाई समस्या समाधानतर्फ अग्रसर गराउनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *