माओवादी जनयुद्धको अवधि ०५२ साल फागुन १ गतेदेखि ०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता हुनु अघिसम्म देशमा हजारौं नागरिकको मृत्यु भयो । कयौं घाइते र अपांगता भए । तर सोही समयअवधिमा राज्य र गैरराज्यपक्षबाट सयौंको संख्यामा नागरिक बेपत्ता भए । जसमध्ये केही नागरिक लामोसमयपछि सम्पर्कमा पनि आए तर हालसम्म पनि केही नागरिक बेपत्ताकै सूचीमा छन् । उनीहरुका परिवार अहिले पीडामा बाँचिरहेका छन् । न बाँचेर आउँछन्, न मरेको खबर नै छ । सामाजिक काजकिरिया पनि गर्न पाइएको छैन । यस्तो अवस्थामा कसरी बाँच्ने ?
सरकारले भदौ १४ गते बेपत्ता नागरिकको विरुद्धमा अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा पीडित परिवार भने आँखामा टिलपिल टिलपिल आँसु देखाउँदै भावुक अवस्थामा देखिन्थे । यसै सन्दर्भमा नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले बनेपामा पीडित परिवारसँग अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको थियो । जसमा जिल्लाका विभिन्न पालिकाबाट पीडित परिवारहरुको उपस्थिती रहेको थियो । उनीहरुको एउटै माग थियो, ‘सरकारले यसरी बेपत्ताको सूचीमा कहिलेसम्म राख्ने ? अब कि मरेको घोषणा गर्नुपर्यो, कि वास्तविकता बताउनु पर्यो ।’
जिल्लामा यो अवधिमा २१ जना नागरिक बेपत्ता भएको सूचीमा छन् । जसमध्ये अन्तक्र्रिया कार्यक्रममा ९ जनाका परिवार उपस्थित थिए । कोही राज्यपक्षबाट त कोही विद्रोही पक्षबाट बेपत्ता पारिएका नागरिकका परिवार मध्ये, गोपीकृष्ण बडालका भाइ रघुनाथ बडाल ०५९ साल बैशाखदेखि बेपत्ता हुनुहुन्छ । तत्कालिन समयमा सेनाका तर्फबाट बेपत्ता पारिएको बताउँदै उहाँ भन्नुहुन्छ, ‘आउँछ भन्ने थोरै आशा छ तर सरकारले वास्तविकता बताउनु पर्यो । हामी अन्योलमा भयौं ।’ यस्तै कृष्णप्रसाद ढकालका छोरा ०६० साल कात्तिक २६ गते बेपत्ता हुनुभयो । तत्कालिन समयमा सेनाका तर्फबाट ब्यारेकमा लगेर बेपत्ता पारिएको उहाँले बताउनुभयो । सत्यतथ्य जे भएको हो सो जानकारी सरकारले दिए आफूहरुलाई सामाजिक कार्य पनि गर्ने वातावरण मिल्थ्यो भन्ने उहाँको माग छ । धुलिखेल नगरपालिका ७ की दुर्गा श्रेष्ठका श्रीमान ०६१ सालमा बेपत्ता हुनुभयो । आफ्नो सदस्य अझै पनि जिउँदै हुनुहुन्छ जस्तो झिनो आशा त छ तर अवस्था के छ अन्योल भयो । ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाको पहलमा केही सहयोग त पाइएको छ तर परिवारको सदस्यको अवस्था के छ भन्ने पत्तो नहुँदा पीडामा रहेका छौं ।’ उहाँले भन्नुभयो ।
उहाँहरु जस्ता सबैले उस्तै प्रकारको गुनासो गर्नुभयो । सधैं दिवस मनाउने मात्रै भन्दा पनि जे हो जानकारी दिने काम सरकारले गर्नै पर्नेमा उहाँहरुको जोड थियो । नेपाल रेडक्रस सोसाइटी र आइसीआरसीले दिएको तथ्यांकअनुसार देशभर अझै १ हजार ३२३ जना नागरिक बेपत्ताको सूचीमा छन् । उनीहरुको अवस्थाका बारेमा राज्यले परिवारलाई जानकारी दिनुपर्नेमा अझैसम्म केही जानकारी छैन । यसरी नागरिकलाई कहिलेसम्म अन्योल बनाउने ? अब बेपत्ताको अवस्था सार्वजनिक गर्नु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *