बनेपा । गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनसँगै घुसपैठ पनि भएको पाइएको छ । खासमा जेनजीहरुले तोडफोड र आगजनी गर्ने मनसायले आन्दोलन नगरेको र उनीहरुको नाममा केही अराजक तत्वहरुले फाइदा निकालेको दलहरुको ठहर छ । निजी र सरकारी भवनमा छानीछानी आक्रमण भएको जिल्लाका राजनीतिक दलहरुले निष्कर्ष निकालेका छन् । विशेषगरि नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरुका निजी घरहरुमा आगजनी र तोडफोड गरिएका छन् । उनीहरुसँग पुरानो केही दुष्मनी साट्न खोज्नेहरुले यसरी घटना गराएको बुझिएको छ ।
आन्दोलनका नाममा अराजक तत्वहरुले उदण्ड मच्चाएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य शिव हुमागाईंले बताउनुभयो । उहाँले आफ्नो घर तोडफोड गर्न आएका मध्ये यो त शिव अंकलको घर पो रहेछ, भन्दै फर्किएका पनि पाइएको बताउनुभयो । तोडफोडमा संलग्नहरु आफूहरुले चिनेको र उनीहरु विरुद्ध कानुनी कारबाहीका लागि जाने तयारीमा रहेको हुमागाईंले बताउनुभयो । घर जलाए पनि कांग्रेसको मन र विचार नजलेको उहाँको दाबी थियो ।
उता पनौतीका प्रमुख रामशरण भण्डारीको घरमा पनि तोडफोड र लुटपाट गरिएको छ । आफ्नो घरमा अरुको जस्तो आगलागी हुन भने नपाएको तर क्षति करिब ३० लाखभन्दा बढीको भएको उहाँले बताउनुभयो । प्रमुख भण्डारीकी श्रीमती चम्पा भण्डारीले आफूले दुःख गरेर तरकारी बेचेर जोगाएको करिब २ लाख नगद र ४ तोला जति सुन लुटिएको बताउनुभयो । आन्दोलनकारी भनिएकाहरुको पहिचान भइसकेको र कानुनी बाटो अपनाउने तयारी भइरहेको उहाँको भनाइ छ ।

यस्तै उपप्रमुख गीता बञ्जाराको घर पनि तोडफोड र आगजनी गरिएको छ । त्यतिबेला मकैबारीमा लुकेर ज्यान जोगाएको बताउँदै उहाँले योजना बनाएर आन्दोलनकारी एकपछि अर्को व्यक्तिको घरमा तोडफोड गर्न पुगेको बताउनुभयो । उहाँले आफूले कुनै पनि भ्रष्टाचारजन्य काम नगरेको र केही प्रमाण पाए देखाउन चुनौती पनि दिनुभयो । यसको ढिलो चाँडो कानुनी बाटोमै जाने तयारीमा आफू रहेको बञ्जारा बताउनुहुन्छ ।
पनौतीका पूर्वमेयर भीम न्यौपानेका तीन वटा घरहरु आन्दोलनकारीले निशाना बनाए । ०७२ को भूकम्पमा समेत नभत्किएका पुराना घरहरु आन्दोलनकारीले क्षणभरमै ध्वस्त बनाइदिएको उहाँले गुनासो गर्नुभयो । आफ्नो ६७ वर्षको उमेरमा यस्तो आतंक मच्चाउने आन्दोलन र लुटपाट अहिलेसम्म नदेखेको बताउँदै न्यौपानेले घर जलेको भन्दा पनि आफ्ना महत्वपूर्ण इतिहासहरु खरानी भएकोमा चिन्ता व्यक्त गर्नुभयो । यस्ता आतंककारीहरुलाई पहिचान गरि कारबाही गर्नुपर्नेमा उहाँको जोड थियो ।
त्यस्तै पनौती वडा नं. २ को वडा अध्यक्ष पुरुषोत्तम अधिकारीले रातको समयमा केही व्यक्तिसहित स्थानीयहरु गरी करिब ५० भन्दा बढीको जत्थाले भाला, हम्मर, रड, घरेलु औजार जस्ता हातहतियार प्रयोग गरी घरको झ्यालढोका, दराज, वासिङ्ग मेसिन, डाइनिङ्ग टेबुल लगायतका सामानहरुको तोडफोड गरी क्षति पु¥याएको कुरा बाहिरिएको छ । निरन्तर अक्सिजन दिइरहनुपर्ने आमाको अक्सिजन सिलिण्डर समेत तोडफोड गरी वृद्ध भत्ताबाट आएको करिब डेढ लाख रकम लुटेर लगेका थिए । वडा अध्यक्ष अधिकारीका अनुसार हामी अब केही दिनमा किटानी जाहेरी पेश गर्नेछौं र पक्राउ गरेर आक्रमणकारीहरुलाई सजायँ एवं भरणपोषण गराउनुपर्ने माग राखेका छन् ।
धुलिखेलका प्रमुख अशोक व्याञ्जुको घरमा पनि आन्दोलनकारीले आगजनी गरेका छन् । उनीहरुले राजनीतिक प्रतिशोध साँधेर आगजनी गरेको बताउँदै प्रमुख व्याञ्जुले अपराधमा संलग्नको पहिचान गरि कारबाही गर्न सरकारसँग माग गर्नुभयो ।

जेनजी आन्दोलनमा काभ्रे क्षति विवरण
तीन नागरिकको मृत्यु ः
१) तेमाल ७ का ४२ वर्षीय दिलनारायण तामाङ । २) भुम्लु ४ का २७ वर्षीय सरोज खत्री । ३) चौरीदेउराली गाउँपालिका ६ घर भई हाल चितवन कालिका नगरपालिकामा अस्थायी बसोबास र काठमाडौँ महानगरपालिका गौशाला ८ मा बस्ने १९ बर्षिया निकिता गौतम । घाइते यकिन छैन ।
क्षति तथा आगजनी
सरकारी संरचना
१) कारागार कार्यालय, काभ्रे । २) बनेपा नगरपालिका (पूर्ण क्षति) । ३) इलाका प्रहरी कार्यालय, बनेपा (पूर्ण क्षति) । ४) ट्राफिक प्रहरी कार्यालय बनेपा (पूर्ण क्षति) । ५) प्रहरी चौकी पाँचखाल (पूर्ण क्षति) । ६) प्रहरी चौकी, पनौती, काभ्रे (आंशिक) । ७) प्रहरी चौकी हिँगुवापाटी (पूर्ण क्षति) । ८) प्रहरी विटहरु (बनेपा, धुलिखेल, पाँचखाल, पनौती, कुशादेवी लगायतका विभिन्न स्थानमा) । ९) पनौती नगरपालिका (तोडफोड, आंशिक क्षति )
पार्टी कार्यालय
१) नेकपा एमाले, बनेपा । २) नेपाली काँग्रेस, बनेपा
सवारीसाधन
९ वटा (साना), १ (ठूलो) र ११ स्कुटर÷ मोटरसाइकल गरि २१ वटामा आगजनी
विद्यालय
१) युलेन्स स्कुल, बनेपा ३
निजी संरचना
१) पूर्वमन्त्री गोकुल बास्कोटा (भक्तपुरको घर, पूर्ण क्षति)
२) पूर्व सांसद शिवप्रसाद हुमागाईँ (पनौतीस्थित घरमा तोडफोड, सवारीसाधनमा आगजनी)
३) अशोक ब्याञ्जु, धुलिखेल नगरपालिका प्रमुख (घर पूर्ण रुपमा क्षति)
४) रामशरण भण्डारी, पनौती नगरपालिका प्रमुख (घरमा तोडफोड र लुटपाट)
५) गीता बञ्जारा, पनौती नगरपालिका, उपप्रमुख (घर पूर्ण रुपमा क्षति)
६) भीम न्यौपाने, पूर्वनगर प्रमुख, पनौती नगरपालिका (३ घर र गोठहरु पूर्णरुपमा क्षति)
७) पुरुषोत्तम अधिकारी, वडा अध्यक्ष, पनौती नगरपालिका, वडा नम्बर २, (लुटपाट र घर तोडफोड)
८) क्याप्टेन रामेश्वर थापा (पूर्ण क्षति ३ वटा घर) १ हेलिकप्टरमा आगजनी
स्थानीयद्वारा प्रतिकार
१) पनौती १ र्याले घर भएका पुष्कर सापकोटा (पनौती २ कुशादेवी चालिसेमा स्थानीयहरुले कुटपिट गरेको ।)
बम तथा हातहतियार बरामद
१) बनेपा ९ नयाँबस्तीमा सकेट बम, २०८२ भदौ २५ गते साँझ फेला । २६ गते बिहान निस्क्रिय ।
२) पनौती १ र्यालेबाट नेपाली सेना र सशस्त्र प्रहरीद्धारा हतियार बरामद । ब्यक्ति फरार २०८२ भाद्र २६ गते दिउँसो गस्तीका क्रममा । उक्त हतियार आन्दोलनका क्रममा प्रयोग गर्ने आशंका ।
३) बनेपा ९ लायकुबाट मण्डनदेउपुर ७ घर भएका सन्तोष श्रेष्ठ कटुवा पेस्तोलसहित ३६ राउण्ड गोलीसमेत पक्राउ । २०८२ भाद्र २८ गते शनिबार
४) बनेपा ९ बाट हातहतियारको गोली राउण्डसहित २०८२ भाद्र २८ र २९ गते ७३०राउण्ड गोली फेला परेको थियो । गोली भदौ २४ गते ई.प्र.का.बनेपामा आगजानी गरी लिई गएको बयान दिएका छन् ।
बनेपा नगरपालिका ९ का अछुत खड्का, सिजन सुवाल, सुबास गौतम, बारा बनौली सखुवा ८ का महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका ६ का सुशान्त लो, तेमाल गाउँपालिका २ का तिमोथी तामाङ, रामेछाप उमाकुण्ड गाउँपालिका ४ का प्रविन कार्की पक्राउ ।
पक्राउ
१) केही आन्दोलनकारी पक्राउ
२) भकुण्डे र मंगलटार बाट धेरै कैदीबन्दी पक्राउ तथा उनीहरुबाट लुटिएको सामान पनि बरामद ।
८ हजार ८१६ कैदीबन्दी अझै फरार
काठमाडौं । जेनजीको प्रदर्शनका कारण गत भदौ २३ र २४ गते नेपालका २७ कारागारबाट कैदीबन्दी भागेका थिए । यस्तै, नौ वटा बालसुधार गृहबाट पनि कैदीबन्दी भागेका पाइएको छ । कारागार व्यवस्थापन विभागका अनुसार ती कारागारबाट कुल २९ हजार २१२ मध्ये १३ हजार ५९१ कैदीबन्दी भागेका थिए । एक हजार ४२२ मध्ये ९६४ जना बालसुधार गृहबाट भागेका थिए । ८ हजार ८१६ कैदीबन्दी अझै फरार रहेका र खोजी जारी रहेको विभागले जनाएको छ । अहिलेसम्म कारागारबाट भागेका मध्ये ५ हजार ४९५ र बालसुधार गृहबाट भागेका मध्ये २४४ कैदीबन्दी फिर्ता आएका छन् ।
झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, नक्खु, जगन्नाथदेवल, डिल्लीबजार, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, कपिलवस्तु, तुलसीपुर, नौबस्ता, रुकुमपूर्व, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतली, डडेलधुरा र कञ्चनुपुरबाट कैदीबन्दी भागेका हुन् ।
यस्तै, मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयन्डु, नौबस्ता र डोटी बालसुधार गृहबाट पनि कैदीबन्दी भागेका थिए । नेपाल प्रहरीको हिरासतमा रहेका कैदीबन्दी फरार रहेका र उनीहरूको पनि खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
७४ जनाको ज्यान गयो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आन्दोलनका क्रममा हालसम्म ६१ जना सर्वसाधारण, १० जना कैदीबन्दी र ३ जना प्रहरी गरी ७४ जनाको ज्यान गएको जनाएको छ । मन्त्रालयका अनुसार जेनजी आन्दोलनमा घाइते भएका १५३ जनाको अहिले देशभरका २९ अस्पतालमा उपचार भइरहेको छ ।
जसमध्ये २८ जना ट्रमा सेन्टरमा, १७ जना त्रिवि शिक्षण अस्पतालमा, १४ जना काठमाडौँ मेडिकल कलेजमा, १२ जना नेपाल पुलिस अस्पतालमा र ८ जना चितवन मेडिकल कलेजमा उपचाररत छन् । त्यसैगरी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६, नोबल मेडिकल कलेजमा ६ र गण्डकी मेडिकल कलेजमा ७ जनाको उपचार भइरहेको छ ।
सात शवको पहिचान भएन
जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले काठमाडौँको चुच्चेपाटीको भाटभटेनीमा आगो लगाएपछि जलेको अवस्थामा फेलापरेका शवको पहिचान हुन सकेको छैन । भाटभटेनीमा आगो लागेपछि सरसफाइ गर्ने क्रममा फेला परेका सात कङ्कालसहितको शव पहिचान हुन नसकेको हो । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले ती शव पहिचान गर्नै नसकिएको जानकारी दिनुभयो । मृतक परिवारका सदस्य सम्पर्कमा आएमा डिएनए परीक्षण गरेर शव हस्तान्तरण गर्न धेरै समय नलाग्ने प्रहरी वरिष्ठ उपरीक्षक खनालले बताउनुभयो ।
काठमाडौँ परिसरका प्रमुख विश्व अधिकारीले काठमाडौँ कोटेश्वरको भाटभटेनीमा बुधबार भेटिएको एक जनाको भने पहिचान भएको बताउनुभयो । “त्यहाँ रामेछाप जिल्ला खाँडादेवी–६ का विकास रसाइलीको कङ्काल फेलापरेको छ । अस्थायी ठेगाना ललितपुर च्यासलमा रहेछ । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ । त्यसपछि मात्रै परिवारलाई शव हस्तान्तरण गरिने छ,” बुधबार मात्रै रसाइलीको शव फेलापरेको उहाँले बताउनुभयो ।
समाजमा उच्छृङ्खल गतिविधि भए खबर गर्न गृह मन्त्रालयको आग्रह
गृह मन्त्रालयले चाडपर्व वा अन्य उत्सवमा केही उच्छृङ्खल गतिविधि भएको पाइए खबर गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । यसका लागि मन्त्रालयले मोबाइल नम्बर उपलब्ध गराएको छ । शुक्रबार एक सूचना जारी गर्दै मन्त्रालयले सो आग्रह गरेको हो । यसका लागि ९८५१३६०६०३ मा फोन, एसएमएस, ह्वाट्सएप वा भाइबरमार्फत सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको हो ।
मन्त्रालयद्वारा जारी सूचनाअनुसार समाजमा देखिने वा देखिन सक्ने उच्छृङ्खल गतिविधिहरू र अन्य समस्याहरूको सहजीकरणका लागि सहायता कक्ष स्थापना गरिएको छ । सहायक प्रवक्ता तथा सूचना अधिकारी रवीन्द्र आचार्यले कुनै पनि सूचना, गुनासो, सल्लाह वा सुझाव भएमा सो नम्बरमा सम्पर्क गर्न सकिने जनाएका हुन् ।
