काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-३ बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-३ घर भएका ३२ वर्षीय अमृत तामाङ, काठमाडौँ महानगरपालिका-२४ बस्ने ४२ वर्षीय बिशाल बज्राचार्य र काठमाडौँ महानगरपालिका-४ बस्ने लमजुङ दोर्दी गाउँपालिका-६ घर भएका ४९ वर्षीय पुड्के तामाङ रहेका छन् ।
पक्राउ मध्ये अमृतले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जनाबाट ७ लाख ५० हजार रूपैयाँ, बिशालले अमेरिका पठाइदिन्छु भन्दै १ जनाबाट ४ लाख ४७ हजार ५ सय रूपैयाँ र पुड्केले अल्बानिया पठाइदिन्छु भन्दै १ जनाबाट ३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा पक्राउ गरिएकाे हाे ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अमृतलाई काठमाडौँ महानगरपालिका-११ बाट सोमबार तथा बिशाल र पुड्केलाई काठमाडौँ महानगरपालिका-१२ बाट मंगलबार पक्राउ गरेको हो ।
