सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडानम्बर ९ मा छ ज्यामिरे गाउँ । यहाँ रहेको क्यौलेठाना आधारभूत विद्यालयमा अहिले १०८ जना विद्यार्थी छन् ।

विसं. २०३३ सालमा स्थापना भएको यो विद्यालयमा अध्ययनरत विद्यार्थीहरु सबैजसो प्रतिभावान छन् । कोही वक्तृत्वकला, कोही अध्ययन तथा कोही सीप सिक्न र सिकाउन निपूर्ण छन् । यहाँ बेलाबेलामा विभिन्न सीप सिकाउने तालिम पनि दिइन्छ । यसैक्रममा शनिबार यहाँका विद्यार्थीहरुलाई स्थानीय सामाग्री (निगालो) बाट डोका निर्माण कार्य सम्पन्न भएको छ ।

शिक्षक र विद्यार्थीहरुको संयुक्त प्रयासमा निगालोबाट डोका निर्माणको सीप सिकाइएको हो । विद्यालयमा गठित शिक्षक अभिभावक संघका सदस्य आइसिहं तामाङको प्रतिनिधित्वमा स्थानीयस्तरमा प्राप्त सामाग्रीबाट बन्ने सामाग्रीहरु मध्ये डोका निर्माण गरिएको हो ।

यही अवसरमा मकैको खोस्टाबाट चकटी बनाउने सीपसमेत सिकाइएको सदस्य तामाङले बताउनु भयो। निगालोको राम्रो उत्पादन हुने यस भेगमा यस्तो सीप सिक्न सके यसले व्यवहारिक जीवनमा निकै सहयोग पुग्ने भएकाले डोका बुन्ने सीप सिकाइएको विद्यालयका प्रधानाध्यापक भरतकुमार मल्लले बताउनुभयो । यस प्रकारको सीप सिक्न विद्यार्थीहरुले निकै रुची देखाएका उहाँको भनाइ छ ।

प्रत्येक शुक्रबार बुक फ्री फ्राइडे कार्यक्रम सञ्चालन गरेको र सोही कार्यक्रम अनुसार यस हप्ता व्यवहारिक सीप अन्तर्गत डोको, चकटी निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । विद्यार्थीलाई किताबी ज्ञान मात्र नभएर व्यवहारिक ज्ञान पनि उत्तिकै महत्त्वपूर्ण हुने भएकाले यो वर्षदेखि बुक फ्री फ्राइडे अन्तर्गत व्यवहारिक ज्ञानलाई पनि जोडिएको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *