पनौती । पनौती नगरपालिका–५, काभ्रेमा रहेकाे सुब्बागाउँ कृषि सहकारी संस्था लि.को ९ औँ वार्षिक साधारण सभा शनिबार संस्थाका अध्यक्ष रामचन्द्र न्यौपानेको अध्यक्षतामा भव्य र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका सञ्चालक समिति सदस्य सुमन नेपाल, विशिष्ट अतिथि केन्द्रीय कृषि सहकारी संघका वरिष्ठ कार्यक्रम अधिकृत राजेन्द्र प्रसाई, अतिथि तथा स्रोत व्यक्तिका रूपमा राष्ट्रिय सहकारी बैंक लिमिटेड, बनेपा शाखाका प्रमुख उपेन्द्र दाहाल, जिल्ला सहकारी संघ काभ्रेका सञ्चालक समिति सदस्य पूर्णसागर रञ्जित लगायतको उपस्थिती रहेको थियो। साथै निर्वाचन समितिका संयोजक रमिला कुमारी हुमागाई, सहकारीका शेयर सदस्य, कर्मचारी तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
साधारण सभामा बैंकका शाखा प्रमुख उपेन्द्र दाहालले “सहकारीमा सदस्यको भूमिका” विषयमा तथा जिल्ला सहकारी संघका सञ्चालक समिति सदस्य पूर्णसागर रञ्जितले “सहकारी सदस्यहरूका लागि बीमाको महत्व” विषयमा प्रस्तुति राख्नुभएको थियो । जसले सदस्यहरूलाई सचेत र जानकारीमूलक सन्देश दिएको थियो।
सभामा संस्थाका अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन पेश गरियो। ती प्रतिवेदनहरूमाथि विस्तृत छलफल गरी आवश्यक सुझावसहित सर्वसम्मतरूपमा पारित गरियो। यसै क्रममा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समीक्षा गर्नुका साथै आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित कार्यक्रम तथा बजेटलाई पनि छलफलपछि अनुमोदन गरिएको थियो।
साधारण सभाले सहकारीको सुशासन, पारदर्शिता र वित्तीय अनुशासनलाई थप सुदृढ बनाउने उद्देश्यले विनियम २०८२ तथा आर्थिक प्रशासनिक नियमावली, सम्पत्ति शुद्धीकरण निवारण, ऋण लगानी–असुली, बचतसम्बन्धी, तथा कर्मचारी सेवा–सुविधा एवं शर्तसम्बन्धी आन्तरिक कार्यविधि २०८२ सर्वसम्मतरूपमा पारित गरेको छ।
सभामा सहकारीको गतिविधिमा सक्रिय, अनुशासित तथा उदाहरणीय योगदान पुर्याउने शेयर सदस्यहरूलाई सम्मान गरिएको थियो । जस अन्तर्गत उत्कृष्ट ऋणी रामबहादुर भुजेल, उत्कृष्ट कारोबारी शेयर सदस्य नविन श्रेष्ठ, उत्कृष्ट ज्येष्ठ नागरिक शेयर सदस्य शेरबहादुर श्रेष्ठ, उत्कृष्ट नियमित बचतकर्ता यज्ञबहादुर श्रेष्ठ तथा उत्कृष्ट बाल सदस्य रिया श्रेष्ठलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो। त्यस्तै ऋण असुली समितिका सदस्य द्वारिका पोखरेल र पेमा लामासहित संस्थाको कार्यसमितिका सदस्यहरूलाई समेत सम्मान गरिएको थियो।
त्यसैगरी सहकारी ऐन २०७४ बमोजिम सम्पन्न सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचनमा सबै पदमा आवश्यक पदसंख्या बराबर नै उम्मेदवारी परेकाले सम्पूर्ण पदाधिकारीहरू चार वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन्।
निर्विरोध निर्वाचित सञ्चालक समिति
अध्यक्ष – रामचन्द्र न्यौपाने
उपाध्यक्ष – दिपेश न्यौपाने
सचिव – सरिता थापा के.सी.
कोषाध्यक्ष – सबिता हुमागाई
सदस्य – श्यामकृष्ण श्रेष्ठ
सदस्य – विनोद के.सी.
सदस्य – अप्सरा के.सी.
सदस्य – सबिना थापा
सदस्य – नविन श्रेष्ठ
निर्विरोध निर्वाचित लेखा सुपरिवेक्षण समिति
संयोजक – नवराज खनाल
सदस्य – राम शोभा थापा
सदस्य – पुजा श्रेष्ठ
साधारण सभाले नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई बधाई दिँदै सहकारीको सिद्धान्तअनुसार सुशासन, संस्थागत सुदृढीकरण तथा सदस्य केन्द्रित सेवामार्फत सहकारीलाई अझ सक्षम बनाउँदै लैजाने विश्वास व्यक्त गरेको छ।
