ज्ञानमणि नेपाल कालोटोपी
पुस १५ गते नेपालमा प्रथम च्याउ दिवस मनाइएको छ । गत पुस ११ गते सरकारले गरेको निर्णय अनुसार हरेक वर्ष पुस १५ गते मनाइन थालिएको हो । नेपालमा ३५ हजार किसान च्याउ खेतीमा संलग्न छन् । उनीहरुलाई प्रोत्साहन र थप किसानलाई यस खेतीमा संलग्न गराउने अभिप्रायका लागि यो दिवस मनाउन थालिएको हो । यसै सन्दर्भमा हामीले यहाँ आज नेपालमा च्याउ खेतीका सम्भावनाबारे विशेष सामाग्री प्रस्तुत गरेका छौं ।

हाम्रो समाजमा कुनै उदाहरण दिनुपर्यो भने वा केहीसँग तुलना गर्नुपर्दा च्याउसरी उम्रिएका वा च्याउ खाओस् न स्वाद पाओस् जस्ता शब्दहरू प्रयोग गरेर विषय र प्रसंग जोड्ने चलन हिजोआज पनि छ । तर, अहिले च्याउ उखानमा मात्र सीमित रहेन । यसले एउटा व्यवसायिकता पनि शुरू गरिसकेको छ । च्याउ त्यतिकै पनि उम्रन्छ। यसको खेतीका लागि त्यति धेरै खर्च गर्नुपर्दैन भन्नेहरू पनि छन् । तर, त्यस्ता आफैं उम्रिएका जंगली च्याउको सेवनले धेरैको ज्यान लिएका घटनाहरू दैनिकरूपमा सुनिएका छन् । तैपनि मानिसले जंगली च्याउप्रति थोरै पनि सजगता अपनाएको पाइँदैन ।

नेपालमा च्याउखेतीका धेरै सम्भावनाहरू छन् । त्यसैले पछिल्ला दिनहरूमा यसको व्यवसायिक खेती गर्नतिर कृषकहरूको आकर्षण बढेको पाइन्छ। एक अध्ययनअनुसार नेपालमा करिब १ हजार प्रजातिका च्याउ पाइन्छन् । तर, ती सबै खानयोग्य हुँदैनन् । १ सय १० प्रजातिका खानयोग्य च्याउहरूले मानव जीवनमा धेरै लाभ पुर्याएका छन् । बाँकी च्याउ विषालु र अखाद्य भएको भए पनि कुन खानयोग्य र कुन अयोग्य भनेर छुट्याउन नसक्दा यसको सेवनले नेपालमा मात्रै वार्षिक ३ दर्जनभन्दा धेरै मानिसले ज्यान गुमाउने गरेका छन् । च्याउका फाइदाहरू धेरै सुनिए पनि सबै च्याउ खानयोग्य छैनन् भन्ने कुराको यथार्थ बुझ्न नसक्दा यो धेरै नेपालीको काल बनिरहेको छ ।

प्रायःजसो वर्षायाममा जंगल र पहाड अनि कुहिएका काठमा उम्रिने च्याउ एक प्रकारको ढुसिकै प्रजाति हो । कतिपयले यसलाई वनस्पती भन्छन् । तर, पनि खासमा यो लेउ र ढुसीकै वर्गमा पर्छ । नेपालमा पाइनेमध्ये १ सय १० जातका च्याउ खानयोग्य, १३ प्रजातिका औषधीय गुणले भरिएका, ४५ जातका च्याउ पूर्णरूपमा विषाक्त रहेको पाइएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का अनुसार नेपालमा ३ सय प्रजाति च्याउ पाइन्छन् र त्यसमध्ये ३० प्रजाति विषालु छन् । जंगलमा पाइने सयौंथरि च्याउमध्ये १० प्रजाति मात्र खानयोग्य छन् । अरू जात भने अनुसन्धानकै क्रममा रहेका छन् । खानयोग्य च्याउ अन्य खाद्यवस्तु जस्तै पौष्टिक तत्त्वले भरिएको हुन्छ । यसको व्यवसायिक खेतीबाट नेपालमा पनि कृषकले धेरै मात्रामा रोजगारी पाउने सम्भावनामा भने अब शंका रहेन ।

च्याउखेतीका सम्भावना र फाइदाहरू केलाउँदै जाने हो भने, कतिपय च्याउले क्यान्सर जस्तो भयानक रोगको रोकथाम पनि गर्न सक्ने विशेषज्ञहरूले बताएका छन् । यसरी क्यान्सरको समेत औषधीको काम गर्ने च्याउलाई जापानी भाषामा सिताके च्याउ भनिन्छ । नेपालीमा यसको नाम मृगे च्याउ हो । यो च्याउको डेढ दशकदेखि नेपालमा व्यवसायिक खेती शुरू गरिएको छ । अन्य सामान्य च्याउ उमार्न जस्तो सिताके च्याउ सजिलो छैन । उत्तिस वा कटुसको काठका गिँडहरूमा प्वाल पारेर त्यसभित्र च्याउका बीउ रोप्दै मैनले टाल्नुपर्छ । अनि ती काठका गिँडहरूलाई नियमितरूपमा पानीमा डुबाएपछि ६ महिनामा बल्ल च्याउ उम्रन्छ । एकपटक उम्रिएपछि यसबाट ५ वर्षसम्म निरन्तर उत्पादन लिन सकिन्छ। नेपाली बजारमा यो प्रतिकेजी एक हजार रुपियाँसम्ममा बिक्री हुने गरेको छ ।

एक अध्ययन अनुसार नेपालमा करिब १ हजार प्रजातिका च्याउ पाइन्छन् । तर, ती सबै खानयोग्य हुँदैनन् । १ सय १० प्रजातिका खानयोग्य च्याउहरूले मानव जीवनमा धेरै लाभ पुर्याएका छन् ।
पछिल्ला वर्षहरूमा नेपालमा च्याउखेतीतर्फ लाग्नेहरूको संख्या बढ्दै गएको छ । सामान्यरूपमा परालमा उमारिने च्याउहरूको बजारमा पहुँच धेरै छ । यसको खेती थोरै लगानीमै गर्न सकिन्छ । २० हजारभन्दा धेरै कृषक अहिले यसमा प्रत्यक्ष संलग्न रहेको पाइएको छ। नेपालमा उत्पादन हुने गरेका विभिन्न २१ प्रजातिका च्याउले विश्व बजारमा पनि आफ्नो हिस्सा जोगाएको छ ।

विश्वमा च्याउको कुरा गर्ने हो भने १ लाख ४० हजार प्रजातिका च्याउ रहेको अनुमान गरिन्छ। यद्यपि १४ हजार प्रजाति मात्र पुष्टि भएका छन् । पुष्टि भएकामध्ये ५० प्रतिशत जति खानयोग्य वर्गमा पर्छन् । यसो भए पनि हालसम्म ३ सय प्रजातिको मात्रै व्यवसायिक खेती गरि प्रयोगमा आएका छन् । १० प्रतिशत च्याउ अत्यन्तै घातक छन्, जसको सेवनले केही घन्टामै मानिसको मृत्यु हुन्छ । अमेरिकामा मात्रै प्रति १ लाखमा ५ जना विषालु च्याउ खाएकै कारण मर्ने गरेको अध्ययनले देखाएको छ ।

विश्वमा करिब चार हजार जनाले प्रत्येक वर्ष विषालु च्याउकै कारण ज्यान गुमाउने गरेको देखिएको छ । नेपालमा पछिल्ला केही वर्षयता विशेषगरि वर्षायाममा जंगलतिर भेटिएका च्याउ खाएकै कारण वर्षेनी ३ दर्जन जतिको ज्यान गएको र सयौंको संख्यामा घाइते हुने गरेको तथ्य आएको छ । जंगलतिर घाँस, सोतर गर्न जाने र त्यहाँ भेटिएका च्याउ घर ल्याएर खाँदा परिवार नै सखाप हुने गरेका दुःखद घटना सार्वजनिक भए पनि यसको शृंखला नरोकिनु पक्कै पनि विडम्बना हो ।

कतिपय च्याउ क्यान्सर जस्तो रोगको उपचार हुने औषधीय गुणले भरिपूर्ण हुन्छन् । तर, सबै च्याउ मानिसका लागि हितकर हुँदैनन् । विषालु च्याउ पनि हुन्छ भन्ने कुराको चेतना नआएसम्म जंगली च्याउ खाएर ज्यान जाने गरेका घटनामा कमी आउँदैन । च्याउलाई विशेषगरि तरकारीका रूपमा प्रयोग गरिन्छ । यसका साथै औषधि र कतै–कतै सुकुटीका रूपमा पनि प्रयोग गरिन्छ । यसलाई पहिचान गरि कुन राम्रो र कुन नराम्रो भनेर छुट्याउन सक्ने हो भने यसबाट हुने क्षति रोक्न सकिन्छ । च्याउखेतीका वास्तविकताहरू सर्वसाधारणमा बुझाउन कृषि विज्ञहरूले आगामी दिनमा रचनात्मक भूमिका निर्वाह गर्नु जरुरी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *